काठमाडौं :
हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले गायनमा उनलाई साथ दिएकी छन् ।
गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । सरोज ओलीले भिडियोलाई निर्देशन गरेका छन् ।
हरिवंशका अनुसार उनले यो गीतले निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् ।
‘एक वर्षअघि म सरोज भाईको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रसंङ निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फु¥यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो । ’
गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको आचार्य बताउँछन् । ‘बिहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने ।
श्यामश्वेत रसाईलीले एरेन्ज गरेको गीतको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् ।