सुचना, समाचार र मनोरन्जन

तस्वीरले फर्काएको हरिमायाको खुसी

  •  
  •  
  •  
  •  

प्रेम थापा 
पोखरा / 

एउटा तस्वीरले हजारौँ शब्दभन्दा पनि धेरै भाव प्रकट गरेको हुन्छ । पत्रकारितामा शब्द भन्दा पनि तस्वीर धेरै महत्वपुर्ण छ ।केही समय अगाडिको कुरा हो यो । अवसर थियो होली पर्वको । होली पर्व कै अवसरमा पोखराको लेकसाइड एरियामा विभिन्न संस्थाहरुले होली विषेश कार्यक्रमहरुको आयोजना गरेका थिए । त्यही कार्यक्रमलाई मध्येनजर गर्दै म फोटोको लागि लेकसाइडतर्फ लागे । होलीको फोटोहरु खिच्दै जाँदा मैले अनुहारमा अनेकौँ भावहरु लुकाएर पोखराको होली पर्वलाई नियाल्दै गरेकी वृद्ध आमाको फोटो खिच्न भ्याए, त्यो फोटो हेर्दा लाग्थ्यो आमाले केही भन्न खोजिरहेकी छिन् र उनको मनमा निकै कुराहरु लुकेर बसेका छन् । एक दिन मेरो साथीले ती आमालाई फोटो देखाइदिइएको रहेछ । आमाले फोटो खिच्ने को भन्दै सोध्नुभयो । उनमा जान्ने चाहना बढ्यो ।

 

त्यसपछि मलाई साथीले आमाले भेट्न चाहेको खबर सुनायो । भेट्न त भेट्ने तर आमाको घर कता भन्ने पनि थाहा थिएन । खोज्दा खोज्दै पछि मात्र हामीलाई जानकारी मिल्यो आमा लेकसाइड डिहीकोपाटनमा बस्ने रहेछिन् । म मेरा केही साथीहरुसँगै आमा भएको ठाउँमा पुग्यौं । पुगिसकेपछि मैले भने, “आमा यो तपाईको फोटो मैले खिचेको हुँ ।” जवाफमा “सोधेर खिचेको भए हुने नि त”भन्ने आयो । मैले आमाको फोटो फ्रेम बनाएर उपहार दिए । आफ्नै फोटो उपहारमा पाएपछि आमा निकै खुशी भइन् र भनिन् , “फोटो खिच्ने भनेको भए त कपाल मिलाएर पछ्यौरा अलि राम्रो ओड्थेँ नि ।” म र मेरा साथीहरु खतखती हास्यौं । आमासँग कुरा गर्दै गयौं । उनले आफुले भोगेका किस्साहरु सुनाउन थालिन् ।

नाम हरीमाया अधिकारी
जन्म घर लम्जुङ्गको करापुटार ।
कर्म घर लेकसाइडको डिहीकोपाटन ।
उमेर ठ्याक्कै उमेर भने सकिनन् ।
कान अलि कम सुन्ने भएपनि उनको विषयमा धेरै जान्ने मौका भने मिल्यो भन्नुपर्छ । कति वर्षमा बिहे भयो भन्ने ठ्याक्कै मिति याद नभएपनि १५ वर्षको उमेरमा उनको पोखरामा बिहे भयो । त्यो जमानामा अहिले जस्तो मन परेपछि मात्र बिहे गर्ने चलन थिएन । बुबाआमाले भनेपछि बिहे गर्नुपर्ने । उनी भर्खर बिहे गरेर पोखरामा आउँदा पोखरामा झाडी मात्र थियो रे । “मान्छे खासै नबस्ने, यहाँ हिँड्दै हिँड्दैन थे ।” उनले भनिन् – “यहाँ त झाडी मात्र थियो, अहिले पो रोड बन्यो र । त्यो बेलामा त हामीले झाडी फाँडेर बाटो बनाइएको हो ।” उनका अनुसार त्यो बेला लेकसाइड एरियामा ठूला- ठूला ढुङ्गाहरु थिए, जसलाई फोरेर सम्म बाटो बनाइएको हो । लेकसाइड यसरी विकास होला भन्ने उनले सोचेकी थिइनन् । विकास भएको र गाडीहरु गुडेको देख्दा उनलाई आजभोलि औधी खुसी लाग्छ । त्यो जमानाको लेकसाइड र अहिलेको लेकसाइड देख्दा आकाश पातालको फरक पाउँछिन् अधिकारी ।

यो त भयो लेकसाइडका कुराहरु । त्यसपछि उनले भन्न थालिन् आफ्नै कथा व्यथा । बिहे गरेर पोखरा आएपछि पहिलेको जमानामा के को सुख हुनु ? उनले पनि धेरै दुख भोगिन् । ससुरा उनको बिहे हुँदा बितिसकेका थिए । उनले त्यो जमानामा हरेक बुहारीले भोग्नुपर्ने हरेक पीडाहरु भोगिन् । ६ जना छोरा छोरी उनले जन्माइन् । दुखपुर्वक छोराछोरीहरुलाई हुर्काइन् । उनको सासुले आँखा देख्दैनथिन्, त्यसैले ६ जना छोराछोरी सहित सासुलाई पनि स्याहार उनले गर्नुपथ्र्यो । “छोरोछोरी संगै सासुलाई समेत मैले नै ध्यान राख्नुपर्ने, कम्ती दुख थिएन त्यो बेलामा ।” उनले भनिन् – “१६ वर्षसम्म मैले सासुको स्याहार गरेको छु, कति दुख पाएँ, त्यो बेलामा अहिले भन्नै सक्दिन ।” यति भन्दै उनी आँसु झार्न थालिन् । आफ्नो दुखलाई शब्दबाट व्यक्त गर्न नसके पनि उनको आँखा छछल्किएको त्यो आँसुमा पीडासँगै दुख झल्किन्थ्यो ।
आफ्नो आँशुलाई लुकाउनका लागि उनी आफ्नै जमानाको गीत गुनगुनाउन थालिन् ।

आफ्नो जमानामा जस्तो दुख पाए अहिलेका युवापुस्ताहरुले भोग्न नसक्ने उनको भनाई छ । “अहिलेका केटाकेटीले हामीले जस्तै दुख पाए भोग्न सक्दैनन् क्यारे ।” उनी भन्छिन् – “अहिलेकालाई त आनन्द छ, पढेका छन्, आफै कमाउँछन्, हामीले जस्तो सासु ससुराको खुट्टा मिचेर पनि बस्नु पर्दैन ।”

जीवनमा उनले धेरै दुख पाइन् । श्रीमानको निधन भइसकेको छ । आफ्नो छोरासंग उनी अहिले डिहीकोपाटनमा बस्छिन्, खुसी छिन् । सबैले उनको सेवा गर्छन् । जिन्दगीका पाइलाहरुमा यस्तो दिन आउला भन्ने सोचेकी पनि थिइनन् उनले । तर उनलाई अझै पनि यस्ता दिनहरु सुखका साथ बाँच्नु छ, हरेक दिनहरुलाई सुर्यको बिहानीले उज्यालो छरे जस्तै ।

कमेन्ट्स
Loading...