सुचना, समाचार र मनोरन्जन

मोफसलमै बसेर ट्रेन्डिङमा परेका निर्देशकको आरोह अवरोह

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

होम गुरुङ पोखरामा संघर्षशिल कलाकार हुन् । गोरखा जिल्ला गण्डकी गाउँपालिका ७ का स्थाई बासिन्दा गुरुङ पोखरा आएको १७ वर्ष भएको छ । यसघढीमा उनले थुप्रै आरोह अवरोह पार गरेका छन् ।

सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुने गुरुङलाई आफु गाउँमा मात्रै सिमित हुनुहुन्न भन्ने लाग्यो । फलस्वरुप २०६० सालमा एसएलसी दिएपछि उनी पोखरा फिरे । हुन त गोरखा उनको गाउँबाट काठमाडौंको दुरी कम थियो । गाउँका आफ्नै सहोदरहरु शहरमा सपना खोज्दै काठमाडौं जाने गर्थे । तर होम अलिक फरक स्वभावका थिए । उनी जीवनको सपना खोज्दै पोखरा आए ।

पोखरा आउँदा होम एक्लै आएका थिए । गाउँबाट भर्खरै शहर पसेको एक लक्का जवान केटो । शहरको विषयमा त्यति ज्ञान थिएन । फेरि पोखरामा आफ्ना भन्ने कोही थिएन । अलिक दिन भोकै सडकको पेटीमा उनले दिन गुजार्नु पर्यो । पछि होमलाई आफैले केही संघर्ष गर्नुपर्छ भन्ने लाग्यो । पेट पाल्न सार्वजनिक सवारी साधनमा खलासीको काम गर्न थाले । काम गरिसकेपछि केही आम्दानी हुन थाल्यो ।

खलासीको काम गरेर मात्र जीवन धान्न गाह्रो थियो । खान लाउन मात्र ठिक्क हुन्थ्यो । सपना सबै अधुरा हुन्थे । जसका लागि उनले थप अरु काममा हात हाल्न थाले । घर बनाउने देखि कुल्ली काम गर्न समेत उनी पछि परेनन् । गीतसंगीतमा उनको रुची आजको थिएन । काम गर्दा पनि उनी रेडियो साथमा बोकेर हिड्थे । तत्कालिन समयमा रेडियो नेपालबाट लोकदोहोरी गीतहरु खुब बज्थे । जसले उनलाई सो क्षेत्रमा खिच्यो भन्दा फरक नपर्ला ।

बिष्णु खत्रीकोसँगको सहकार्य : 

कसैको घरमा टेलिभिजनमा लोकदोहोरी बज्दा उनी झ्यालबाट चिहाएर हेर्ने गर्थे । कलाकारको अभिनय र नृत्यले उनलाई खिच्थ्यो । सोच्थे भविष्यमा म पनि यसरी नै म्युजिक भिडियोहरुमा नाच्ने पाए भने संसारले चिन्नेछन् । होम एउटा सपनाको खोजीमा हानिए ।

सपना थियो म्युजिक भिडियो निर्देशक बन्ने । उनले त्यसका लागि खुब मिहिनत गरे । तत्कालिन समयमा संगीतकार जय कुमार परियारले आदर्श कला केन्द्र महेन्द्रपुलमा स्थापना गरेका थिए । जुन अहिले पनि छ । परियारसँग होम ठोकिन पुगे । उनीसँगै नृत्य प्रशिक्षण लिन थाले । होम गुरुङलाई निर्देशक बनाउनमा परियारको ठूलो हात छ ।

लेकसाइडका होटलहरुमा कल्चर नृत्य प्रस्तुत गर्दै निर्देशन सम्म आएका होमले हालसम्म दुई सय भन्दा बढी गीतहरुमा निर्देशकको भूमिकाको रुपमा काम गरिसकेका छन् । हालै मात्र उनले निर्देशन गरेको चर्चित लोकदोहोरी गायक विष्णु खत्रीको सिर्जनामा रहेको ‘लाहुरे बाको आगनीमा’ तिहार गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युब टे«ण्डिङमा पर्न सफल भएको छ । लाखौं दर्शकले भिडियोलाई मन पराएका छन् । पाँच हजार भन्दा बढीले लाइक गरेका छन् ।

खत्री सँगै टिका पुन र मुना थापा मगरको स्वर रहेको गीतलाई बागलुङ विष्णु खत्रीकै गाउँमा छायाँकन गरिएको हो । होम भन्छन्,‘अहिलेसम्मकै निर्देशनमा २४ घण्टा सेटमा बसेर छायाँकन गरेको यो मेरो पहिलो गीत हो ।’ गीतका लागि आफूले सक्दो मिहिनत गरेको र आज त्यसैको प्रतिफल पाएको उनले बताए ।

पशुपति शर्मासँगको सहकार्य :

गीतमा होमले गाउँलेहरुलाई नै कलाकारको रुपमा अभिनय गराएका छन् । गाउँका टिपिकल विषयवस्तुलाई उनले भिडियोमा उतारेको देख्न सकिन्छ ।

यस्तै, पशुपति शर्माको सिर्जनामा तयार भएको ‘तिहार’ गीतमा समेत होम गुरुङकै निर्देशन छ । उक्त गीतलाई समेत लाखौ दर्शकले मन पराएका छन् ।

होमका अनुसार मोफसलमा बसेर पनि राम्रो काम गर्न सकिन्छ । इच्छा शक्ति र लगनशिलताले नै सफलता दिलाउनेमा उनी विश्वास गर्छन् । जीवन सिकाई र संघर्ष भएको उल्लेख गर्दै आगामी दिनमा पनि गीतसंगीतकै श्रीवृद्धिका लागि आफू लागिरहने उनले बताए ।

होम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश, हिमाली सांस्कृतिक परिवार, आदर्श कला केन्द्र संस्था सँगै जुनियर सिटीजन एकेडेमी, पोखरा रनर्स, बाल प्रभात, एक्स आर्मी स्कुल र मान्द्रो दोहोरी साँझमा समेत आबद्ध छन् । लकडाउनका बेला मात्रै उनले २० वटा गीतको म्युजिक भिडियो निर्देशन गरे ।

अहिले डिजिटल स्टार प्राली पोखराबाट बजारमा आउने गीतहरुको म्युजिक भिडियो निर्देशकका रुपमा समेत गुरुङले काम गरिरहेका छन् ।

कमेन्ट्स
Loading...