सन्तोष बस्याल, पोखरा /
पछिल्लो समय देशको अर्थतन्त्रको अवस्था कमजोर छ । व्यवसायीहरु बैंकले कर्जा बढायो भन्दै सडकमा आन्दोलित देखिन्छन् । एउटा ब्याजदरमा कर्जा उपलब्ध गराउने एक वर्षमै आधा भन्दा बढी ब्याजदर बढाउने गुनासो सुन्ने गरिन्छ । यस्तैमा हामीले खास कुरा के हो ? के साच्चै बैंकले व्यवसायीलाई समस्यामा पारेका हुन् ? बैंकको पछिल्लो अवस्था कस्तो छ ? लगायतका विषयमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरत ढकालसँगको अन्तरवार्ता:
.पछिल्लो समय बैंकहरुको अवस्था कस्तो छ ?
नेपालको सन्दर्भमा मेरो अनुभवमा इतिहासमा नै पहिलो पटक बैंकिङ र व्यवसाय क्षेत्र कठिन अवस्थामा छन् । खासगरी पछिल्लो समय बैंक प्रति बढी लांक्षना लगाइएको अवस्था पनि हो । बैंकहरुले व्यवसायीहरुलाई धोका दियो, राम्रो व्यवहार गरेन, बैंकको ब्याजदर बढायो भन्ने थुप्रै गुनासाहरु छन् । तथापी म आफु पनि व्यवसायी भएकाले नेपालका व्यवसायहरु कसरी संचालन भएका छन् राम्रो सँग जानकारी छ । अहिले बैंकहरुलाई चारै तिरबाट आक्रमण भएको छ । बैंकहरु कसरी संचालन हुन्छन् ? बैंकलाई कसरी नियमन गरिन्छ ? भन्ने कुराको बुझाइ छैन । हिजोको दिनमा व्यवसायीहरुले जुन प्रयोजनका लागि ऋण लिनुभयो त्यो प्रयोजनमा प्रयोग गरिएन । एउटा उद्देश्यका लागि बैंकबाट लिएको पैसा घरजग्गामा लगानी गरियो । कोभिड पछि अर्थतन्त्रमा आएको समस्याले सप्लाई बन्द हुँदै गयो जसअनुसार घरजग्गाको मुल्य घट्दै गयो । अहिले धेरै पैसा घरजग्गामा नै गएर फसेको छ । त्यसैले समस्या परेको हो ।
.एउटा ब्याजदरमा सम्झौता भएको ऋणको ब्याजदर बैंकले एक्कासी बढाएर आफु मोटाउने र व्यवसायीलाई मर्कामा पार्ने काम गर्यो सम्मका गुनासो सुनिन्छ नि ?
नेपालको अर्थतन्त्र रेमिटेन्स र आयातमुखी छ । कोभिडका समयमा रेमिटेन्स घट्छ भन्ने सोचिएको थियो घटेन । त्यो बेलामा विभिन्न कारणले आयत रोकियो । देश नाकाबन्दीमा पुग्याथ्यो । आयत घट्ने रेमिटेन्स बढ्ने भयो । त्यहिबेला नेपाल राष्ट्रबैंकले सहुलियत कर्जा नीति ल्याइदियो। समस्यामा परेका व्यवसायीहरुको समाधानका लागि सहुलियत कर्जा उपलब्ध गराउन थालियो । त्यो बेला अहिलेको जस्तो अवस्था सिर्जना हुन्छ भन्ने बैंकहरुलाई लागेको थिएन । व्यवसायीहरुले पनि बुझेनन् । सस्तोमा कर्जा पाएपछि आवश्यक भन्दा बढी कर्जा लिन थालियो र उद्देश्य विपरित लगानी भयो । पछिल्लो समय राष्ट्रबैंकले बनाएको नीति अनुसार नै बैंकले ब्याजदर बढाएको हो । केहि बैंकले नीति विपरित ब्याजदर बढाएपछि व्यवसायीहरुमा सबै बैंक यस्तै हुन भन्ने बुझाई पर्यो फलस्वरुप उनीहरु आन्दोलित भए । वास्तवमा सबै बैंकले ब्याजदर बढाएका थिएनन र बढाएका सिमित बैंकलाई राष्ट्रबैंकले कारबाहीको दायरामा पनि ल्याइसकेको छ । विगत १० वर्षदेखि बैंकहरुको लगानीमा प्रतिफल घट्दै गएको छ । लगानी भन्दा कमाई कम हुँदा अहिलेको अवस्था आएको हो ।
.बैंकिङ र व्यवसायिक क्षेत्रको नियमनमा चासो दिएको जस्तो पाउनुभएको छ ?
हेर्नुस्, मैले पहिले देखि नै भन्दै आएको थिए । बैंकिङ क्षेत्र मात्रै नभई व्यवसायिक क्षेत्रलाई समेत नियमन गर्न आवश्यक छ । घट्दो ब्याजदरमा बैंकबाट कर्जा लिएर व्यवसायीले दिने सेवा प्रवाह चाहिँ महङ्गो हुनु गलत हो । बैंकलाई मात्र दोष दिनुभन्दा पनि व्यवसायी साथीहरुले आफुले आफैलाई पनि हेर्न आवश्यक छ । सबै क्षेत्रमा नियमन गरियो भने अर्थतन्त्र सुधार हुन्छ ।
.बैंकले पहुँच भएकालाई कर्जा दिन्छ आम सर्वसाधारणलाई गाह्रो पर्छ भन्ने गुनासो सुनिन्छ नि, सत्यता कत्तिको छ ?
कुनै बेला तपाईले भनेजस्तै थियो होला । ऐनमा बैंकले पत्याएको व्यक्तिलाई कर्जा प्रवाह गर्ने भनेर उल्लेख गरिएको छ । बैंकले दिने कर्जा भनेको त जनताको निक्षेप हो । बैंकले कर्जा प्रवाह गर्दा यो कर्जा भोली फर्केर समयमा नै आउँछ भन्ने कुराको प्रमाण जबसम्म हुँदैन तबसम्म कर्जा दिँदैन । तर विगतका दिनमा ठुल्ठुला व्यवसायीहरु जसको धेरै आम्दानीका स्रोतहरु छन् । तुरुन्तै ब्याज दिन पनि सक्छन । जसको सम्पत्ति पनि राम्रो छ । त्यस्ता व्यक्तिहरुलाई बढी कर्जा दिने । साना कर्जाहरुमा बैंकले त्यति ध्यान नदिने भन्ने कुरा विगतमा भएता पनि अहिले त्यस्तो छैन । उद्देश्य सही भए कर्जा पाउन सकिन्छ ।
.के सेवाग्राही राम्रो उद्देश्य सहित कर्जाका लागि मुक्तिनाथ विकास बैंक गए कर्जा उपलब्ध हुन्छ त ?
हाम्रो काम नै त्यहि हो । त्यसैले त हामी मुक्तिनाथ विकास बैंक गाउँगाउँमा पुग्नुपर्छ भनेर लागिरहेका छौं । उद्देश्य सही भयो र समयमा नै कर्जा तिर्ने अवस्था देखियो भने उपलब्ध गराउँछौं । त्यसमा कुनै समस्या छैन । यति हो ढाट्नुचाहिँ भएन । हल्लाको पछाडि दौडिनुभन्दा सत्यतालाई बुझ्न आवश्यक छ ।
.व्यवसायीहरु जुन प्रकारको आन्दोलन गरिरहेका छन् उनीहरु सत्यता नबुझी हल्लाको पछाडि दौडिरहेका छन् भन्ने हो तपाईको भनाई ?
बैंकले नियम भन्दा बढी ब्याजदर लिएको भए बैंकले गलत काम गरेको हो । त्यस्ता एकाद छन् नभएका होइनन । तर सबैलाई एउटै नजरले हेर्नु त मिलेन नि । हामी राष्ट्रबैंकको नीति अनुसार चल्छौं । यदि राष्ट्रबैंकको नीतिमा नै स्पष्ट उल्लेख गरेर आएको छ भने हामी कसरी त्यसबाट बाहिर निस्कन मिल्छ । आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई नै तपाई कसरी डुब्नुभयो भनेर सोध्न सकिन्छ । बैंकबाट कर्जा लिँदा के भनेर लिनुभएको थियो ? त्यो पैसा कहाँ लगानी गर्नुभयो र किन गर्नुभयो भनेर व्यवसायीहरुलाई नै सोध्न आवश्यक छ । मलाई लाग्छ उहाँहरु सत्य कुरा बाहिर ल्याउनुहुन्न । उद्देश्य अनुसारको नै कर्जा लगेर लगानी भएको छ र व्यवसायी मर्कामा भएको भए सो विषयमा बैंकले हेर्नुपर्छ र हेरिरहेको पनि छ । यसमा राष्ट्र बैंकले समेत उदारता देखाएको छ । सहुलियत पूर्ण कार्यक्रम ल्याएको छ । एउटा उद्देश्यका लागि कर्जा लगेर लगानी अर्कोमा गर्ने अनि उक्त क्षेत्र धराशायी हुँदा कर्जा तिर्न नसक्दा दोष जति बैंकलाई थुपार्ने काम जायज छैन ।
.बैंकहरु खास कसरी चलिरहेका हुन्छन् त ?
बैंकहरु स्वतन्त्र रुपमा चल्न पाउँदैनन । नियमन गर्ने निकाय हुन्छ । नेपालको हकमा हाम्रो निकाय भनेकै नेपाल राष्ट्र बैंक हो । यस्तै संसारभरका बैंकहरुलाई समेत नियमन गर्ने निकाय छ । जसलाई वल्र्ड बैंक भनिन्छ । खासगरी बैंकले संसारलाई जोड्ने काम गर्छ । आयत र निर्यातमा बैंकको भूमिका महत्वपूर्ण छ । बैंकहरु कमजोर हुँदैनन । बैंकको नीति कमजोर छैन । यदि बैंकहरु कमजोर भए भने त्यसले अन्तर्राष्ट्रिय बजारमा नै असर गर्छ । अर्थतन्त्रमा हलचल ल्याउँछ । त्यसैले आफ्नो गल्तीलाई ढाकछोप गरी बैंकमाथी लांक्षना लगाउनु गलत हो। बुझेकाहरुले बैंकलाई गलत देखाका छैनन । ८ प्रतिशतमा लिएको कर्जा १८ प्रतिशत पुग्यो भनेर सडकमा उफ्रिनु स्टन्डमात्रै हो । मलाई विश्वास लाग्दैन । यदि त्यस्तो हुने हो भने राष्ट्र बैंकले तुरुन्तै कारबाही गर्छ । उस्तै परे बैंकको लाइसेन्स खारेज समेत गर्न सक्छ ।
