सुचना, समाचार र मनोरन्जन

आखिर, कोरोनाले के सिकायो त ?

  •  
  •  
  •  
  •  

ईश्वर पहारी
पोखरा / 

चीनको बुहान शहरबाट शुरू भई विश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले २८ फागुनमा ‘प्याण्डेमिक’ अर्थात् विश्वव्यापी महामारी घोषणा गरेको थियो । उक्त भाइरसले आज विश्वभरी ४० लाख भन्दा बढी मान्छेको ज्यान लिइसकेको छ । आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश भएका छन् । शक्तिशाली भनिएका देशहरुलाई पनि घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकाइदिएको छ । विश्वका सात अरब मानिस घरभित्रै थुनिएका छन् ।

विगत एक बर्षदेखी नेपालीहरुको जनजीवन कोरोनाको कारणले परिवर्तन भएको छ । यो महामारीसँग लडाई गर्नको लागि सरकारले मानिसहरुलाई सामाजिक दुुरी कायम गर्न आग्रह गरेको छ । यो बन्दाबन्दीबाट पुँजीवादी अर्थब्यवस्था संकटमा मात्र परेको छैन विश्वभरका मजदुर श्रमिक र गरिबको पेटमा समेत बन्दाबन्दी हुने अवस्थामा पुगेको छ । कोरोनाका कारण विश्वका मानिसहरु त्रासमा छन, चिन्तामा छन, तर पनि कोरोनाले जनमानिसमा केही पाठ पक्कै सिकाएको छ ।

पानीको झरिलाई नखेपी पक्कै पनि इन्द्रेणी देख्न सकिदैन । मानिसको जीवन हो, आखिर केही दुख कष्ट नसही सुख प्राप्त गर्न गाह्रो हुन्छ । भनिन्छ नि, ‘जीवन भनेको नै यात्रा हो, हरेक दिन हरेक कुरासँग जुझ्न सिक्न पर्छ ।’

रोग होस् या नहोस्, साबुन पानीले हात धुनपर्छ भन्ने जनमानिसमा ज्ञान पलाएको छ । हातबाट नै अनेक रोग सर्ने रहेछ, त्यसैले केही काम गरि सकेपछी होस् या बजार डुलेर आएपछि नै किन नहोस् सबैभन्दा पहिला हातखुट्टा धुनुपर्छ भन्ने कुरा बुझ्ने भएका छन् मानिसहरु ।

पैसा, पेशा, अनि काम भन्दापनि आफ्नो ज्यान महत्वलाई बुझिएको छ । बिरामी हुँदापनि तलब काटिने त्रासले कति कामदारहरु ज्यानको माया मारेर काममा उपस्थित हुनुपर्ने बाध्यता अब बिस्तारै हट्ने छ । संसार प्रगतितर्फ निकै उन्मुख भैरहेको बेला हामी त्यही प्रगतिको पछाडि यति दौडिरहेको छौं कि हामीलाई घरमा बस्ने थोरै फुर्सद पनि छैन । यो कोरोनाले यो अव्यवस्थित भागदौडलाई नियन्त्रण गरेको छ ।

गाउँघरमा जनचेतनाको अभाव या विभिन्न कारणले दिनप्रतिदिन रोगहरु लाग्ने र रोगीहरुको संख्या बढिरहेको अवस्था छ। कोरोनाले उनीहरुमा चेतनाको स्तर थोरै भएपनि बढेको आभाष हुुन्छ । घर आगन सफा राख्न, नियमित हात धुन, मास्क लगाउन, जे पायो त्यही चिज नखान, व्यक्तिको सम्पर्कमा झट्ट जानुपूर्व सोच्ने भएका छन् । जसले गर्दा सजिलोसँग लाग्ने विभिन्न रोगहरुमा कमी आएको छ ।

देशले पनि अब देशभित्रका शिक्षित र सिपयुक्त निश्कृय यूवा जनशक्तिको प्रयोग गरी अर्थतन्त्र उकास्न तिर केही पहल गर्नु पर्ने देखिन्छ । नेपाल एक कृषि प्रधान देश भएको हुनाले कृषिमा विकास नगरेसम्म देशको अर्थतन्त्र उकास्न मुस्किल छ । त्येसैले कृषि क्षेत्रमा उल्लेखनिय बजेट अनि श्रमको व्यवस्थापन गर्नेपर्छ भन्ने देखिन्छ ।

रोग लाग्नु भन्दा पहिलेनै सतर्क अपनाउनु बाहेक अन्य विकल्प नरहेको कुरा पनि जनमानिसले बुझ्ने भएका छन् । सानोतिनो बिमारी हुँदा वास्ता नगर्ने मानिसहरु पनि अब कोरोनाको कारणले डराएका छन् ।

बिनाकारण बाटोमा लखरलखर हिड्ने प्रवृति पनि बिस्तारै हटाउन पर्ने रैछ भन्ने कुराको ज्ञान पनि विकास भएको छ । काम नपरी कोहि पनि मानिस बाटोमा हिड्न हुने रहेन्छ साथै बाहिर निस्कदा मास्कको प्रगोग सङै किटाणु बाट मुक्त हुनको लागि सेनिटाइजरको प्रयोग तिर लाग्ने बानी पर्नेछ । यसले गर्दा बिरामी हुनेको संख्यामा गिरावट आउनेछ ।

अर्थतन्त्र खुलेपछि धेरै ठाउँमा पहिले जस्तो हुने छैनन् । हाम्रा धेरै आनीबानीहरु परिर्वतन भइसकेका छन् । अनि हाम्रो खल्तीको आयतनमा पनि केही परिर्वतन आउनसक्छ र हाम्रा वस्तु उपयोगमा पनि परिवर्तन हुने देखिन्छ । त्यसैले मानिसहरुको माग अनुसार व्यवसाय सुचारु गर्दा केही फाइदाजनक हुने पनि देखिन्छ ।

कामको शिलशिलामा आफ्नो परिवारबाट टाढा हुनुपरेकाहरुलाई परिवारको महत्व अनि माया चिन्ने मौका मिलेको छ । हजारौं संख्यामा युवा/युवतीहरु आफ्नो जन्मघर छोडेर काम खोज्दै अन्य शहरमा जानुुपर्दा आफ्नो परिवारसँग टाढिनुपर्ने अवस्था छ । कोरोनाको कारण भएको लकडाउनमा परिवारसँग बस्दा परिवारका बारेमा थप बुझ्ने अवसर प्राप्त भएको छ ।

सामाजिक दुरि कायम सँगै प्रविधिको प्रयोगमा विशेष ध्यान दिइएको अवस्था छ । राष्ट्र यस किसिमका परियोजनालाई प्राथमिक दिनुपर्ने पाठ पनि कोरोनाबाट पाउन सकिन्छ । प्रविधिको प्रयोगसँगै देशको आर्थिक समृद्धिमा फड्को मार्न सकिन्छ । ईन्टरनेटको माध्यमबाट हजारौं मानिसहरुले अहिले आफुलाई निखारेका छन । कलेज तथा अन्य शैक्षिक संस्थाहरुले पनि ईन्टरनेटको साहयताले अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् । हुँदाहुँदा परीक्षा पनि अनलाइन माध्यम गर्न थालिसकियो । अबका दिनहरुमा डिजीटल प्रणालीको विकासमा ध्यान पुर्याउन पर्ने विषयतर्फ महामारीका कारण केन्द्रित भएको जस्तो देखिन्छ । डिजीटल प्रविधिको प्रयोग गरेर सेवा लिनेको माग बढ्दै जाँदा सेवाप्रदायकको क्षमता बढाउनुको विकल्प हुँदैन र लकडाउनले यो क्षेत्रमा आवश्यक सुधार गर्ने अवसर हामी सबैलाई दिएको छ।

देशमा भएका दक्ष जनशक्तिहरुको प्रयोग गरि देश भित्रै औषधि मुलक सामाग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने कुरा पनि कोरोनाबाट सिक्न सकिन्छ । देशको ढुकुटीको लाखौं करोडौं पैसा खर्च गरेर मेडीकल सामाग्रीहरु अन्य मुलुकबाट आयत गर्नु भन्दा आफ्नै देशमा नै उत्पादन गर्नाले देश र जनताको लागि फाइदा हुने देखिन्छ। यसो गर्नाले जनशक्ति पनि बेरोजगार हुनबाट बच्ने छन भने राष्ट्र पनि आत्मनिर्भर हुनेछ र कुनै पनि देशसँग सहयोग माग्नुपर्ने अवस्था सिर्जना हुनेछैन ।

यसैगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने कामदारहरुलाई उत्साह थप्न ज्यानको सुरक्षाको अनुभुती दिलाउनु पर्ने कुरा पनि कोरोनाबाट प्राप्त गर्न सकिन्छ। अहिलेको अवस्थामा हेर्ने हो भने सबैभन्दा बढी खतरामा देखिएका स्वास्थकर्मीहरु हुन् । उनीहरु बिना कुनैपनि स्वास्थ क्षेत्र चल्न मुस्किल छ । त्यसैले स्वास्थ्यकर्मीको ज्यानको सुरक्षामा सरकार लागि पर्नुपर्ने हुन्छ ।

हरेक कुराको दुई पक्ष हुन्छन् । एउटा सकारात्मक, अर्को नकारात्मक । हामी नकारात्मक अवस्थामा नचाहेर पनि फसेका छौं । यो अवस्थाबाट बाहिर आउने कोशिष हामी गरिरहेका छौं । यो बेलामा आफूलाई सुरक्षित राख्नु एकदम जरुरी छ । डर र त्रासले व्यक्तिको मानसिकतामा नराम्रो असर पारेको छ । नकारात्मक कुराहरु भोग्नुपर्दा दुख त लाग्छ । तर सकारात्मक कुराहरु खोज्नुपर्छ, यो अस्तव्यस्त समयमा पनि हामी सकारात्मक कुराहरु अंगाल्न सक्नुपर्छ ।

अन्त्यमा मानिसहरु प्रकृति मोह भएका छन् । आफ्नो दैनिक कामकाज, अफिसको जिम्मेवार साथै अन्य कुराहरुबाट वाक्क भएका मानिसहरु अब प्रकृतिको सुन्दरतामा रमाउन पनि सिकेका छन् । हरियाली प्रकृतिको सुन्दरता सँगै चराचुरुङ्गीको चिरबिर आवाजमा आफुहरुलाई हराउन सक्ने भएका छन् । यतिबेला मानिसको जीवनमा काम मात्र नभई रमाइलो, साथिभाई, परिवारहरुको महत्व पनि बुझ्न पाएका छन् ।

कोरोना संक्रमणले विश्वमा पारेको असर, यसबाट हामीले सिक्नुपर्ने कुरा र संक्रमणबाट बच्न भौतिक र मानसिक रूपमा सबै पक्ष तयार रहने कुरा त छँदै छ, त्योसँगै यो महामारीले हामीलाई के अवसर दिँदै छ, त्यसको पहिचान गर्न र उपयोग गर्न अब ढिलो गर्नुहुँदैन । देखिरहनुस् सपना, हुर्काइरहनुस् योजना, तिखारीरहनुस् क्षमता । भोलि जब संसार चलायमान हुनेछ , त्यसपछि पखेटा फिँजाएर उडौँला नि !

कमेन्ट्स
Loading...