सुचना, समाचार र मनोरन्जन

इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित हुनु विश्वलाई खतरा भएको इजरेलको चेतावनी

एजेन्सी/ 

इजरायलले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ । इजरायलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन्। ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन्।

आइतवार रइसीलाई इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो।

इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन्। इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाइएको छ।

रइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्नेछन्। राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ। तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । अहिले इरानका प्रधानन्यायाधीश रहेका रइसी अतिरूढिवादी विचार राख्छन्।

अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए । चुनाव जितेपछि उनले सरकारप्रतिको जनविश्वासलाई बलियो पार्ने र पूरा देशको नेता बन्ने वाचा गरेका छन्।

‘म मिहिनेती, क्रान्तिकारी र भ्रष्टाचारविरोधी सरकार बनाउनेछु,’ सरकारी सञ्चारमाध्यमले उनलाई उद्धृत गर्दै लेखेको छ। एउटा आलोचनात्मक ट्विटको लहरोमा इजरेली विदेश प्रवक्ताले उनी इरानको परमाणु कार्यक्रमलाई तीव्र गतिमा बढाउन प्रतिबद्ध एक अतिवादी व्यक्तित्व भएको उल्लेख गरेका छन्।

लामो समयदेखि इरान र इजरेल एउटा ‘छाया युद्ध’मा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ। तर अहिलेसम्म दुई देश चौतर्फी द्वन्द्वको अवस्थालाई छल्दै आएका छन्।

पछिल्लो समयमा यी दुईबीच तनाव पुनः चर्किएको थियो। तनावको मुख्य स्रोत इरानको परमाणु गतिविधिहरू हुन्। इरानले इजरायलमाथि गतवर्ष आफ्ना शीर्ष परमाणु वैज्ञानिकको हत्या गरेको र एप्रिलमा आफ्नो एउटा युरेनियम प्रशोधन केन्द्रमा हमला गरेको आरोप लगाएको छ।

इजरायलले भने इरानको आणविक कार्यक्रम पूर्ण रूपले शान्तिपूर्ण हुनेमा विश्वास गर्दैन र तेहरान परमाणु हतियार विकासमा लागि परेको ठान्छ। आफ्नो ट्वीटमा प्रवक्ता हैअतले रइसीलाई सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उनलाई ’तेहरानको निर्दयी हत्यारा’ भनेका छन्।

रइसी मृत्युदण्डसम्बन्धी समितिका चारमध्ये एक न्यायाधीश थिए जसले पाँच हजार पुरुष तथा महिलालाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टर्न्याश्नलको भनाइ छ।

इजरायली विदेश प्रवक्ताले ३०,००० भन्दा धेरै मानिसहरू मारिएको दाबी गरेका छन् जुन इरानी मानवअधिकारवादी समूहहरूले समेत बताइरहने सङ्ख्या हो।
इरानले कहिल्यै पनि सामूहिक मृत्युदण्ड दिइएको स्वीकारेको छैन र रइसीले पनि उनीमाथि लागेको आरोपबारे सफाइ दिएका छैनन्।बीबीसी 

कमेन्ट्स
Loading...