काठमाडौं :
बैशाख १ गतेबाट प्रदर्शन हुने फिल्म ‘जारी’को ट्रेलर रिलिज गरिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘ट्रेजर सार्वजनिक गरिएको हो।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्म जारीलाई लगानी रामबाबु गुरुङले गरेका छन्। अहिलेसम्मकै धेरै कमाउने ब्लकबस्टर फिल्म ‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङले यस फिल्ममा लगानी गरेका हुन्।

फिल्म ‘जारी’को ट्रेलरमा लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गरेको छ। पत्रकार सम्मेलनमा फिल्म जारीको बारेमा निर्माण टिमले प्रष्ट पारेका थिए । अन्य भन्दा लिम्बू समुदायमा छोरी चेली विवाहका कुरामा अलिक स्वतन्त्र रहेको बताइयो।
निर्देशक सुब्बाले कविको रुपमा काम गर्दागर्दा थाकेर आफू फिल्ममार्फत कथा भन्न आइपुगेको बताए । उनले भने,‘कवि बन्दाबन्दै थाकेर अहिले फिल्ममा छु । म राम्रो निर्देशक त होइन तर राम्रो कथा भन्न आएको छु । निर्देशकको भारी बोक्ने रहर थिएन ।’
उनले निकै वर्ष अघि लिम्बू समुदायमा आफ्नो छोरी चेलीहरुलाई श्रीमानले हेपेको खण्डमा घुर्की लगाउदै माइत जाने र पछि उसको श्रीमान अर्थात ज्वाई लिन आउदा सम्मानजनक रुपमा काममा दलाउने प्रचलन रहेको र त्यसैलाई फिल्ममा उतार्ने प्रयास गरेको बताए। उनले भने,‘प्राकृतिक रुपमै जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौं । लिम्बू समुदायभित्र जारी प्रथाका सकारात्मक पक्ष छन् । हामीले यसमा त्यसलाई भन्ने प्रयास गरेका छौं ।’
उनले फिल्म ‘कबड्डी’ र जारीका कलाकार एउटै भएता पनि फिल्मको कथा एउटै नभएको दावी गरे। अभिनेता दयाहाङ राईले आफु लिम्बू समुदायमा हुर्किएको भएता पनि भित्रि कुरो नबुझिरहेको अवस्थामा यस फिल्ममार्फत आफूले जारी प्रथालाई सहज रुपले बुझ्ने मौका पाएको बताए ।
सोही पत्रकार सम्मेलनमा तपाईको दुई वटा फिल्म बिहे पास र जारी एक साथ प्रदर्शन हुँदैछ,फेरि तपाई नाङ्गो गाउँको सुटिङमा आजैबाट लाग्दै हुनुहुन्छ? यो भारलाई कसरी बोकेर हिड्नु भएको छ भन्ने पत्रकारका प्रश्नमा उनले यसलाई धपेडी भन्दा पनि नियमित प्रक्रियाका रुपमा लिनुपर्ने बताए ।
फिल्म ‘जारी’का मुख्य अभिनेत्री मिरुना मगरले फिल्मको कथामा काम गर्न आफुलाई गारो नभएको बताइन्। उनले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रतिको रहन सहन सानैबाट देख्दै र भोग्दै आएकाले काम गर्न सहज भएको बताइन् । फिल्मका अर्का कलाकार विजय बरालले फिल्मको सुटिङ तीन वर्ष अघि नै गरेको हुनाले सबै कथा फिल्मको ट्रेलर र फिल्मले नै बोल्ने बताए । ‘कबड्डी ४’पछि रामबाबु, उपेन्द्र, मिरुना र दयाहाङबीच सहकार्य भएको हो ।