पोखरा ।
नेपाली काग्रेंसको चौधौँ महाधिवेशन नजिकिदै छ । जिल्लाजिल्लामा सभापतिका लागि लर्को लागिरहेको छ । नेतृत्व गर्न सक्छु भन्नेहरु अगाडि सरेका छन् । आकांक्षा देखाउनेहरु धेरै भेटिएका छन् । यसैक्रममा पर्वत जिल्लामा विभिन्न व्यक्तिहरुले आफ्नो उम्मेदवारीमा योग्यता जिकिर गरिरहँदा पैयुँ गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङले समेत जिल्ला सभापती पदमा उम्मेदवारी दाबी गरेकी छिन् । उनी हाल जिल्लाको उपाध्यक्ष समेत हुन् । कांग्रेसको आसन्न महाधिवेशन र उम्मेदवारीका विषयमा गुरुङले परिचयसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईको राजनीतिक जीवनका महत्वपूर्ण योगदान र उपलब्धिहरुका विषयमा जानकारी गराइदिनुस् न ।
म पाँच वर्षको हुँदा बुबा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको रहेछ । १७ सालको घटना पछि बुबा जेल पर्नुभयो । म केही जान्ने हुँदा देखि नै राजनीतिक चेत थियो । दुख कष्ट सहेर आमाले अक्षर चिनाउनु भयो । राजनीतिमा लागेर पद नै प्राप्त गर्नु पर्छ भन्ने त होइन । तर पनि जिम्मेबारीले मानिसलाई परिपक्व बनाउँदो रहेछ । म तत्कालिन हुवास गा.वि.स.को पार्टी सभापति भए । महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष, पार्टीको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भएर काम गरेँ । केही समय अमेरिका गएर बसे त्यहाँ हुँदा पनि मैले जन सम्पर्क समितिमा रहेर काम गरें । नेपाल फर्के लगत्तै स्थानीय निर्वाचन भयो । पार्टीले उपाध्यक्षको टिकट दियो । चुनाव लडियो सबै साथिहरुको मिहिनेतले पार्टीले जित्यो । म अहिले उपाध्यक्षको जिम्मेबारी निर्वाह गरिरहेकी छु ।
पार्टी अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार हुने घोषणा गर्नु भएको छ, साच्चै सभापति लड्ने हो कि अन्य पदको लागि बार्गेनिङ गर्नुभएको हो ?
हेर्नुस म बार्गेनिङ गर्ने मान्छे होइन । म दावी गर्ने र आँटे पछि लडेर पनि लिने मान्छे हुँ । जिल्ला सभापति बाहेक अन्य जिल्ला स्तरका पद मेरा लागि नौला होइनन् ।
अब त उमेर पनि धेरै नै भयो, युवाहरुलाई नेतृत्व दिन पर्ने ठाउँमा आफैँ सभापति लड्ने मन किन गर्नुभयो ?
उमेरले अझै एक कार्यकाल काम गर्न सक्छु भन्ने साहस छ र शरिरले पनि सक्छ । युवाहरुलाई राजनीतिक बाटो देखाउनु हाम्रो कर्तव्य र दायित्व पनि हो । अभिभावकीय भुमिका निर्वाह गर्दै युवाहरुलाई मार्गदर्शन गर्नका लागि नै म सभापति हुन खोजेको हो । मेरो घर भनेको काग्रेंस हो, परिवार भनेका पार्टीका साथीहरु हुन् । मैले मेरो सम्पूर्ण शक्ति र समय पार्टीका लागि दिन सक्छु । मलाई साह्रै अरु धेरै केही गर्नु छैन् । पार्टी र समाज भएन भने म त एक्लो पो हुन्छु त । पार्टीका सम्पूर्ण वडा, पालिका, क्षेत्र, जिल्ला समितिहरु, भातृ संस्थाहरुलाई सु—संगठित गरी आर्थिक सम्पन्नता सहितको सशक्त पार्टी बनाउनका लागि मेरो उम्मेदवारी सभापतिका लागि हो ।
युवा पुस्ताबाट उम्मेदवारी घोषणा भएका छन् । जिल्ला बसेर काम गरेका नेताहरुले सभापति नछोड्ने भनेका छन् । सभापतिमा जित्छु भन्ने कत्तिको विश्वास छ ?
लोकतान्त्रिक पार्टीको अधिवेशनमा उम्मेदवारी घोषणा हुनु सामान्य कुरा हो । म जिल्लाकै सकृय राजनीति गर्ने मध्ये परिपक्व र उमेरले जेष्ठ पनि हुँ । जसको घर जहाँ छ त्यहाँ बस्ने कुरा हो । म त घर नै नभएकी मान्छे हुँ । जहाँ पार्टीले खटाउँछ त्यही बस्ने हो । यो अधिवेशनलाई सहमतिका माध्यमबाट पार्टीलाई एक ढिक्का बनाएर लैजाने हो भने म सबैको स्वीकार योग्य पात्र पनि हो । सबै साथीहरुलाई समेटेर उपयुक्त जिम्मेवारी दिएर पार्टीलाई एकताबद्ध पारेर लैजान सकिन्छ । साथीहरुले मलाई साझा उमेदवारको रुपमा सहमतिबाट सभापति बनाउन मान्नु हुन्छ भन्नेमा म विश्वस्त छु ।
केन्द्र देखि वडा सम्म गुटले ग्रस्त छ पार्टी, कसरी सहमति गराउन सक्नुहुन्छ ?
को कुन गुटमा छ मलाई त्यति चासोको विषय होइन । मेरो गुट नेपाली काग्रेंस हो । म काग्रेंस, प्रजातन्त्र, कार्यकर्ता र देशप्रति जो जवाफदेही हुन्छ त्यसलाई सहयोग गर्ने हो । गुण र दोसका आधारमा विचार गरेर कसलाई समर्थन गर्ने भन्ने निर्क्योल हुनुपर्छ । सबै गुट उपगुट भत्काएर सिंगो नेपाली काग्रेंस बनाउने हो । मेरो सभापति बन्ने चाहना पनि यसैका लागि उब्जिएको हो । मलाई विश्वास छ अर्जुन जि, नवराज जि, लालकाजी जि, खगेन्द्र जि, ऋषिकेश जि , राम शर्मा लगायतका साथीहरु हामी सबै पार्टी प्रति जिम्मेबार भएर आँट गरे सहमति बाटै अधिवेशन सम्पन्न गर्न सकिन्छ । म त्यसका लागि सबैको साझा व्यक्ति हुँ ।
हजुरले सहमतिका कुरा धेरै गर्नुभयो, चुनाव लड्न आँट नगेरेर त होइन ?
होइन, म सँग चुनाव लड्न चाहिने सम्पूर्ण सामथ्र्य छ । तर निकट भविष्यमा राष्ट्रिय चुनावहरु आउँदै छन् । साथीहरु प्रतिस्पर्धामा उत्रिसकेपछि हार जित त अवश्य हुन्छ । यसले लगत्तै हुने चुनावमा तिक्तता ल्याउन सक्छ । त्यसैले यसपालीको अधिवेशनलाई एकताको अधिवेशन बनाउँ भन्ने मेरो जोड हो । फेरी यो सम्भव पनि छ । धेरै महत्वकाङ्छा नराखेर वडा, पालिका, प्रदेश क्षेत्र , जिल्ला, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सम्म हामी सँग थुप्रै पदहरु छन् । केन्द्रीय समितिमा जाने साथिलाई एक ढिक्का भएर सबैले सहयोग गर्ने । साथीहरुको अनुभव, योगदान, योग्यता र क्षमताका आधारमा जिम्मेवारी व्यवस्थापन गरेर जाने हो भने पार्टीका लागि यो ऐतिहासिक कदम हुनेछ । हाम्रो लक्ष्य पार्टी सत्ता प्राप्ति मात्रै त होइन नि । राज्यसत्तामा पुगेर जनहितका कार्यक्रम ल्याई देशको विकास गर्नु हो । यसका लागि पार्टी एक ढिक्का हुन जरुरी छ । त्यसको उचित तरिका सहमति, समझदारी, एकता र सहकार्य नै हो ।
पैयुँ गाउँपालिकाका अध्यक्ष पनि सभापतिका लागि मैदानमा हुनुहुन्छ, अध्यक्ष र उपाध्यक्ष दुवै एउटै पदमा लड्न खोज्दा गाउँपालिका भित्र पनि विवाद र फुट त आउँदैन ?
हाम्रो अध्यक्ष दुई दुई पटक सभापति लडेर हारेको हुँदा मेरो उहाँप्रति सहानुभूति त छ । तर अहिले सहमति बाटै जानुपर्छ भन्नेमा म जोड दिँदैछु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने गतिविधिले हामीबीच फुट वा विवाद हुँदैन् । मैले म मात्रै भन्दिन अरु जो कोहि व्यक्ति लाई सहमति हुन्छ भने म सहमतिका लागि बाधक बन्दिन ।
सभापति लड्नु पर्छ भन्ने दृढता कसरी आयो ?
मैले अबको जिल्ला सभापति को होला भनी मन मनै सोचे । सबै साथिहरुको सभापति हुन गरेको दौडधुप हेर्दा र विशेष गरी घोषणा हेर्दा महिला त कोहि देखिन । मेरो मनमा आइहाल्यो अब पनि पार्टीलाई मिलाउन नसक्ने हो भने पर्वत सुध्रन्न । केही त गर्न पर्छ भन्ने लाग्यो । अब के गर्ने त ? मै सभापति लड्छु । कि मलाई सर्वसम्मत सभापति मिलोस् या त कुनै त्यस्तो अर्को व्यक्ति भए सहमतिले महाधिवेशन सम्पन्न गरौँ । यो गरियो भने पार्टी बलियो हुन्छ । हाम्रो २ नंः मा २०५४ सालमा डिल्लीराजले जिते देखि बाहेक काग्रेंसले जित्नै सकेन । त्यो हारमा पार्टी भित्रको तिक्तता र वैमनस्यताले काम गरेको छ । प्रत्येक पटक धेरै थोरै वदमासी भएको छ । यसरी खाली हार्ने खाडल अधिवेशनका कारण नबनाउन मैले यो कुरा उठाएको हो । सबैले जित्ने गरी अगाडि बढौँ भन्ने मेरो कुरा हो । आन्तरिक साथीहरुको बिचमा रहेको दरार पुरौँ भन्ने मेरो अठोट हो । यसले कसैको अहित हुँदैन ।
यसरी व्यवस्थापन गरेर सहमतिमा जिल्ला अधिवेशन गर्न सकिने सुत्र के हुन सक्छ त ?
सुत्र छ । पार्टी संगठन बलियो नभए सम्म चुनाव जित्न गाह्रो छ । हामी संगठन नगर्ने, जनताको काम नगर्ने, नयाँ मानिसहरुलाई पार्टीमा नल्याउने, आफ्ना साथीहरुको संरक्षण पनि नगर्ने तर भाषण भने निकै गर्ने गरेका छौं । आफ्नो पार्टी बलियो बनाएर भन्दा पनि अरुको संगठन कमजोर हुदाँ चुनाव जित्नेमा ध्यान दिएर हुँदैन भन्ने मलाई लाग्छ । अब पालिकाको चुनाव लड्ने साथिले त्यहीँको नेतृत्व गरेर संगठन गर्नु पर्छ । प्रदेश चुनाव लड्नेले प्रदेश क्षेत्रमै सम्पूर्ण ध्यान दिनुपर्छ । को कुन पदमा लड्यो वा जित्यो भन्ने भन्दा पनि उसले त्यो ठाउँमा पार्टी बलियो बनाउन कति काम गर्यो भनेर मुल्याँकन गर्नुपर्ने आवश्यकता छ । हामी संग ६१ वडा, ७ पालिका, २ प्रदेश क्षेत्र, एक जिल्ला गरी ७१ सभापति छन् । त्यसको दोव्वर उपसभापति, सचिव, सह—सचिव पद छन् । ७१ नै कोषाध्यक्ष पद छन् । प्रदेश अधिवेशन प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदहरु छन् । केन्द्रमा जाने साथीहरुका लागि सबै एकजुट भएर सहयोग गर्ने माहोल बनायौँ भने राम्रै हुन्छ । हामी पुर्वाग्रह र व्यक्तिगत इगो बाट माथि उठ्यौँ भने र तिव्र महत्वाकाङ्छा त्याग्यौँ भने मैले सम्भव देखेको छु । त्यसको लागि अनावश्यक तानातान छोडेर अभिभावकत्व लिन साथीहरु तयार हुनुपर्छ । युवा साथीहरुलाई पनि सम्हालेर सबैको मन बुझ्ने गरी नयाँ उर्जा र जागरणका साथ पार्टी चलाउन सकिन्छ । सबैले आँट गरौँ ।
अन्त्यमा केही भन्नु हुन्छ ?
यो पार्टीको नेतृत्व चयन गर्ने अधिवेशन हो । यसलाई तडकभडक र बढी खर्चिलो बनाउन हुँदैन । पार्टीको भविष्य प्रति सबै गम्भिर भएर सहमतिको पहल गरौँ । धेरै जिम्मेवारी वहन गरेका अनवरत पार्टीका काम गरेका एक से एक नेताहरु हुनुहुन्छ । ठण्डा भएर पुर्वाग्रह त्यागेर सोचौं । बलियो काँग्रेस, दुरुस्त काँग्रेस, संगठित र सशक्त काँग्रेस बनाउनका लागि जिम्मेबार बन्न सबैलाई आह्वान गर्दछु ।
