काठमाडौं :
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा हुने भएको छ । निर्माण टिमले हालै लोकेशन हेरेर फिल्मको छायांकन गर्ने ठाउँ पक्का गरेको हो ।
फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले हालै पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकनका लागि लोकेशन फाइनल गरेका हुन् । शोभितका अनुसार फिल्मलाई मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिनेछ । संसारलाई नेपालको सुन्दरता देखाउनका लागि फिल्मको छायांकन पोखरा र मुस्ताङमा गर्न लागेको प्रस्तुतकर्ता बस्नेतले बताए ।
‘हाम्रो उद्देश्य सिनेमा निर्माण मात्र होइन, देशलाई संसारमा चिनाउनु पनि हो । पोखरा र मुस्ताङ सुन्दरताका खानी हुन् र यी स्थानको प्रवद्र्धन गर्नु हाम्रो जिम्मेवारी हो,’उनले भने,‘कथाले पनि सुन्दर लोकेशन नै खोजेकाले हामीले पोखरा र मुस्ताङ रोजेका हौं ।’
अभिनेता सलोन बस्नेत मात्रै अहिलेसम्म यो फिल्मका लागि कलाकार छनोट भएका छन् । निर्माण टिमका अनुसार अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने छ । सुरेश न्यौपानेको कथा रहेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहने यस फिल्मको छायांकन आगामी माघ अन्तिम सातादेखि हुनेछ ।
विवाहपछि छायांकनमा फर्किन लागेका सलोन ‘जय हो’लाई लिएर निकै उत्साहित बनेका छन् । विवाह लगत्तै फिल्म निर्माणमा होमिएका सलोन यो फिल्म राम्रो बन्ने विश्वस्त देखिएका छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । यस फिल्ममा राम्जी राउत क्रियटिभ निर्देशकका रुपमा काम गर्दैछन्।
