सुचना, समाचार र मनोरन्जन

पोखरामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला दहन, प्रदर्शनकारी र प्रहरीबिच झडप

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा /

मंगलबार दिउँसो ३ बजेको कुरा हो । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा र्याली निकाले । र्याली मानवअधिकार चोकबाट महेन्द्रपुलसम्मका लागि बढ्यो । नारासहित गन्तव्यस्थल पुगेपछि कोणसभामा परिणत भयो । सभामा नेताहरुले आफ्ना अभिव्यक्तिहरु राखे । विस्तारै कोण सभा सकियो । त्यसपछि ओलीका समर्थकहरुले पुनः नारा लगाउन थाले । नारा थियो ‘चोलेन्द्र शम्शेर जबरा मुर्दावाद’, ‘शेरे चोर देश छोड’, ‘प्रचण्ड तेरो पाराले दुख पाए साराले’ लगायतको । एकैछिनमा एउटा गाडी आयो । गाडीमा चोलेन्द्र शम्शेर जबराको पुत्ला रहेछ । प्रदर्शनकारीहरुले पुत्ला दहनका लागि गाडीबाट झिके । झिक्नसाथ प्रहरीले खोस्यो ।

प्रहरीले खोसेपश्चात प्रदर्शनकारी चुप लागेर बसेनन् । उनीहरु पनि जाई लागे । प्रहरीबाट पुत्ला लिएरै छाडे र दहन समेत गरे । सोहि क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई लाठीचार्ज गर्यो । लाठीचार्ज गर्ने बित्तिकै स्थिति तनावग्रस्त बन्यो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थाले । प्रहरीले उनीहरुलाई लखट्यो । चिप्लेढुङगामा पुगेपछि प्रदर्शनकारीहरुले प्रहरीले आफुहरुलाई दमन गर्न खोजेको आरोप लगाउँदै फेरि नाराबाजी गर्न थाले । उनीहरुले प्रहरी प्रशासनले प्रदर्शनका क्रममा अभद्र शब्द प्रयोग गरेको बताए । तर केही समय पछि स्थिति साम्य भयो ।

कोणसभा कार्यक्रममा अनेरास्ववियू केन्द्रिय कमिटीका सदस्य विवेश देवकोटाले आफुहरु कुनै रहरले सडकमा नआएको बताए । उनले सर्वोच्चको फैसलाले बाध्य बनाएको अभिव्यक्ति दिए । संविधानको धारा ७६ का १० वटै उपधारामा चोलेन्द्र शम्शेर जबराले गरेको निर्णय नरहेको बताउँदै सेटीङका भरमा फैसला सुनाइएको आरोप उनले लगाए । प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार आजसम्म अदालतलाई नभएको र संसदबाट नियुक्ति हुनुपर्नेमा अदालतबाट गरिनु असंवैधानिक भएको भनाई उनको थियो । संविधानको रक्षाका लागि र असल शासन जोगाउनका लागि आफुहरुको आन्दोलन निरन्तर जारी रहने चेतावनी देवकोटाले दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका इन्चार्ज सन्तोष रावलले देशमा अराजकता आएपछि युथ फोर्स जन्मिएको बताए । न्यायका मोतीहरु भन्ने व्यत्तिहरुले नै न्यायलाई खेलौना ठानेर जुन प्रकारको निर्णय गरेका छन् त्यसका विरुद्धमा युथ फोर्सले प्रतिवाद गर्ने जानकारी गराए । उनले सबै गाउँपालिका, शहर, नगर, वडामा युथ फोर्स कमिटी गठन गरी संविधानका रक्षाका लागि गठबन्धन सरकारको विरोधमा आन्दोलन मार्फत खबरदारी गरिने बताए । उनले आगामी निर्वाचनमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई परास्थ गरेर देखाउन चेतावनी दिएका छन् । केपी शर्मा ओलीले गरेका राम्रा कामलाई देखी नसहेर आज गठबन्धनको सरकार बनाइएको अभिव्यक्ति उनको थियो ।

सर्वोच्च अदालतले केपी शर्मा ओलीको विपक्षमा फैसला सुनाएपश्चात त्यसका विरुद्धमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

कमेन्ट्स
Loading...