काठमाडौं :
फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंको नयाँबानेश्वरमा रहेको फिल्म हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा हाँसो र रोदनका साथै केहि दर्शकलाई सन्देश दिन खोजिएको छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजाल निर्देशित पहिलो निर्देशनमा बनेको फिल्ममा ह्यारी अर्थात जितु पैसाको पछाडि भागिरहेका देखाइएको छ । फिल्ममा जितु र साम्राज्ञी आरएल शाहबीच पैसाकैबीच हुने उतार–चढावलाई ट्रेलरमा देख्न सकिन्छ ।यहि ट्रेलरका कारण दर्शकबीच फिल्मप्रति कौहुलता जगाउन अघि सरेको छ ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय छ । यहि फिल्मको ‘धरहरा हल्लियो’ गीतमा अभिनेत्री रेखा थापाले आइटम नृत्य गरेकी छन् ।
तस्विर : सुरेन्द्र थापा
फिल्मको प्रस्तुतकर्ता तथा निर्देशक रिजाल पेशाले दन्त चिकित्सक हुन् । उनले फिल्म बनाउने सोच दुइ वर्ष अघि देखि भएको र राम्रो फिल्म दर्शकमाझ पस्किन लागेको बताए । उनकै कथामा निर्माण भएको फिल्ममा पटकथा तथा संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले मिलेर तयार पारेका हुन् । पटकथा तथा संवाद तयार पारेका सुदीप बरालकै फिल्ममा छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसीको छ ।
फिल्मको ट्रेलर हेरिहेको समयमा हुटिङ चलेको थियो । सोही समयमा राम्रो खिचेको भन्दै सुदीपलाई निर्देशक रिजालले धन्यवाद दिदै हात मिलाएका थिए। उनीहरुको यो हात मिलाइले फिल्म राम्रो बनेको सन्देश दिन खोजिएको थियो अर्थात निर्देशक खिचाईमा सन्तुष्ट बनेको प्रष्ट हुन्थ्यो ।