काठमाडौं :
माघ २० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रिमियरमा गरिएको छ । मंगलबार साँझ बिग मुभिजमा दुईवटा अडिटोरियम ‘बुक’ गरेर तामझामका साथ प्रिमियर गरिएको हो ।
उक्त प्रिमियरमा उपस्थिति भएका अधिकांश अतिथीले अभिनेता जितु नेपाल,अभिनेत्री साम्राज्ञी आरएल शाह लगायतको प्रशंषा गरेका थिए । डा. भोला रिजालका छोरा कपिल रिजालको डेब्यू निर्देशित फिल्म हेर्न हलमा बाक्लै सेलिब्रेटीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित भएका हास्य अभिनेता तथा निर्देशक मदनकृष्ण श्रेष्ठले फिल्म हेरिसकेपछि आफूले सोचेको भन्दा राम्रो फिल्म बनेको भन्दै सम्पुर्ण टिमलाई बधाई दिए । उनले फिल्मका अभिनेता जितुलाई ह्यारीको रोल एकदमै सुहाएको भन्दै उनको प्रशंषा गरे ।
उनले भने,‘फिल्म हेर्दा एकछिन पनि कतै ध्यान हट्न दिँदैन । जितु नेपाललाई ह्यारीको क्यारेक्टरमा एकदमै सुहाएको लाग्यो ।’
यता फिल्म निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले पनि अभिनेता जितु नेपालकै अभिनयको प्रशंषामा समय खर्चिइन् । उनले फिल्म एकदमै राम्रो बनेको भन्दै जितुले राम्रो अभिनय गरेर आफूलाई प्रमाणित गरेको बताइन् ।
‘जितुको त म पहिलादेखि नै फ्यान हो,’उनले जितुको प्रशंषा गर्दै भनिन्,‘जितुलाई मैले अभिनय गराउँदाखेरी ऊ रोइरहँदा म पनि रोइरहेको हुन्थ्येँ।’
फिल्म निर्माता तथा हास्य अभिनेता दीपकराज गिरीले ‘ह्यारी कि प्यारी’को जितुकै अभिनयको तारिफ गरे । पुरा हास्य कलाकार सन्तोष पन्तले पनि जितुले आफ्ुले सोचेको भन्दा राम्रो अभिनय गरेको सुनाए । साथै उनले अभिनेत्री साम्राज्ञीको अभिनय पनि मनपरेको दावी गरे ।
फिल्म प्रिमियरमा किरण केसी,रमेश उप्रेती, शिवहरी पौडेल, यश कुमार, प्रकाश सुवेदी, कृष्ण कँडेल, टिकाराम यात्री लगायतको उपस्थिति रहेका थियो ।