सुचना, समाचार र मनोरन्जन

पोखराका अस्पतालमा घुमाउँदा घुमाउँदै बिरामीको गयो ज्यान

काठमाडौं ।

पोखराका अस्पतालमा उपचार हुन नसकेपछि एक सर्वसाधारणको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ३ काँडेमा बसोबास गर्दै आएका राजेश कार्कीको अस्पतालमा घुम्दाघुम्दै बुधबार राती ज्यान गएको हो ।

अस्पताल पुगेका कार्कीको अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको उनका आफन्तहरुले आरोप लगाएका छन् । ललिपुर स्थायी ठेगाना भएका कार्की पछिल्लो समय अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ काँडेमा बसोबास गर्दै आएका थिए

पेशाले ट्रक चालक रहेका कार्कीलाई बुधबार बेलुका श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेट्रोसिटी अस्पतालमा पुर्याइएका कार्कीलाई अस्पतालले भर्ना लिन नमानेका मृतकका आफन्तहरुले बताएका छन् । मेट्रोसिटीले भर्ना लिन नमानेपछि उनका आफन्तले लेकसिटी अस्पताल पुर्याए ।

‘मणिपालमै लग्ने भनेका थियौं । दिदीले मेट्रोसिटीमै लग्ने, त्यहाँ राम्रो उपचार हुन्छ भनि सकेपछि त्यहाँ लगेका थियौं ।अस्पतालले भर्ना लिएन,’ मृतकका आफन्त सुजन गुरुङले भने, ‘त्यहाँ एम्बुलेन्स एकै छिन रोक्न पनि दिइएन । त्यहाँ बेड नभएको भए पनि कमसेकम अस्पतालले अर्को अस्पतालमा रिफर गरेको भए भिनाजुको ज्यान बचाउन सकिन्थ्यो होला !’

सुजन नाताले मृतक कार्कीका सालो पर्छन् । मेट्रोसिटीले भर्ना लिन नमानेपछि सुजन र उनका दुई दिदीले लेकसिटी अस्पतालमा पुर्याएका थिए ।

एकैछिन आकस्मिक कक्षमा राखिसकेपछि लेकसिटीले भेन्टिलेटर नभएको बताएर अर्को अस्पताल लैजान भनेको उनले बताए ।

‘एकै छिन राखेर इन्जेक्सन दियो । लेकसिटीले पनि भेन्टिलेटरको अभावले बिरामी भर्ना लिन नसक्ने बताएपछि फिस्टेल अस्पताल पुर्याएका थियौं । त्यहाँ पनि एकैछिन अवस्था हेरिसकेपछि भर्ना लिन मानेन्,’ दुःखेसो पोख्दै उनले भने, ‘त्यहाँबाट मणिपाल ल्यायौं । यहाँ पनि भर्ना लिन सुरुमा आनाकानी भयो ।

हामी यसै त पीडामा थियौं, इमर्जेन्सीमा लगेको । तिमीहरुलाई पनि श्वास फेर्न गाह्रो हुन्छ भन्ने जस्ता गैह्रजिम्मेवार कुरा आयो ।’ उपचार खोज्दै अस्पताल आएका बिरामीलाई अस्पतालले गैह्रजिम्मेवार व्यवहार गरेकोमा उनको गुनासो छ । मणिपाल अस्पतालले बिरामी ल्याएको करिब १ घण्टा अस्पताल प्राङ्गणमा राख्दा पनि उपचार गर्न नमानेको उनको आरोप छ । मणिपालले भर्ना लिँदासम्म उनको स्वास्थ्य अवस्था झनै नाजुक भएको उनले बताए ।

बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएर चरक मेमोरियल अस्पतालमा सम्पर्क गर्दा अस्पतालले त्यहाँ पनि बेड नभएको बताएको मृतकका आफन्तको भनाई छ । ४८ वर्षीय कार्कीमा अन्य कुनै दीर्घ रोगको समस्या भने नरहेको मृतकका जेठी सासु अनिता गुरुङले बताइन् । बुधबार बेलुका नवलपुरदेखि कार्की काँडे आईपुगेका कार्की खाना खाएर सुतेका राम्रै सुतेका थिए । कार्कीमा सुतेको समयमा घुर्ने समस्या रहेको उनले बताइन् ।

‘सुरुमा निद्रामा घुरेको होला भनेर पनि वास्ता भएन । पछि व्यथाले च्याप्दै गएपछि अस्पताल ल्यायौं । अस्पताल ल्याउँदा यस्तो भयो,’ उनले भनिन् ।

मृतक कार्कीकी अर्की दिदी सासू लक्ष्मी गुरुङले उपचारै नगर्ने अस्पताल खोल्नु भन्दा बन्द गरेर राख्नुपर्ने बताइन् । अस्पताल बन्द भई सकेपछि मर्नै परे पनि उपचार पाइन्न् भनेर ढुक्कले मर्ने बताइन् । ‘मर्ने मर्छ, बाँच्ने बाँच्छ । बरु, अस्पतालको गेटै बन्द गरेर राखे हुन्छ,’ उनले भनिन्, ‘उपचारै नगर्ने अस्पताल किन खोलेर राख्ने ।’ अस्पतालले कोरोना संक्रमित भएको आशंका गरेर भर्ना लिन नमानेको उनीहरुको आशंका छ । ‘ल, कोरोनै लागेको भए पनि त उपचार त पाउनु पर्यो नि, कोरोना लागेको हो भने पनि भेन्टिलेटरमा राख्न पाएको भएपनि ज्यान बचाउन सकिन्थ्यो,’ उनले भनिन्, ‘न पीसीआर गर भनेर भनियो । न केही हाम्रो बिरामीको अस्पतालले भर्ना नलिएरै ज्यान गएको हो ।’

केही दिनअघि मात्रै स्याङ्जा पुतली बजारकी धनमाया गुरुङको पनि उपचार।खोज्दै अस्पताल घुम्दाघुम्दै ज्यान गएको थियो । यो घटनापछि प्रदेश सरकारले अस्पतालसँग स्पष्टीकरण समेत सोधेको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्मालाई संयोजक तोकेर अस्पतालको अनुगमन गर्ने जिम्मेवारी पनि दिएको थियो । तर, अस्पतालले अझैं पनि कोरोना संक्रमित भएको आशंकामै भर्ना नलिने गरेका छन् ।

कमेन्ट्स
Loading...