सुचना, समाचार र मनोरन्जन

पोखरा आएर नवल खड्काले भने काँडेतार देशप्रमीको सिनेमा, रिलिज फागुन २५ मा

पोखरा ।

पोखरा आएर नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका उनले काँडेतार हर देशप्रेमीले हेर्ने कथा भएको बताए ।

“काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो ।”, उनले भने । ६० वर्षको इतिहासमा काँडेटार जस्तो सिनेमा नबनेको दाबी खड्काको छ ।

आफु देशको सच्चा नागरिक भएकाले पनि राष्ट्र र राष्ट्रियता जोगाउने बाटोमा अग्रसर रहेको उनले बताए । राष्ट्रप्रेमी भएकाले पनि राष्ट्रवादी विषयहरु उठान गर्न खड्कालाई मन पर्छ । खड्काकै निर्देशनमा काँडेतार बनेको हो । जसमा अभिनय समेत उनकै छ । निर्माता, निर्देशक र अभिनेताका रुपमा उनलाई काँडेतारमा देख्न सकिन्छ । यसअघि उनले दशगजा, भीमदत्त जस्ता सिनेमा निर्माण गरिसकेका छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले सेन्सरबाट पास भएको सिनेमा काँडेतारलाई प्रदर्शन गर्न विरगञ्जमा लगाइएको रोकलाई राष्ट्रघाती कदम भएको उल्लेख गरे । “नेपालको माटो र नेपालीपनलाई जोगाउने हेतुले काँडेतार निर्माण गरिएको हो । हरेक नेपालीको कथा हो यो । सेन्सर भइसकेको सिनेमा देखाउन हामी ठाउँठाउँमा पुगिरहँदा विरगञ्जमा रोक लगाइयो । यो कदम नै राष्ट्रघाती छ ।”, उनले भने ।

देश जोगाउन काँडेतार महत्वपूर्ण साबित हुने विश्वास उनको छ । खड्काले नेपालका नेताहरु भारतबाट परिचालित भएको समेत उल्लेख गरे । “तालाचाबी उता छ अनि कसरी बन्छ यो देश”, उनको गुनासो छ ।

खड्काले अहिले ठाउँठाउँमा पुगेर च्यारेटी शो गरिरहेका छन् । ७० भन्दा बढी च्यारेटी शो सम्पन्न भइसकेको काँडेतारको पोखरामा भने माघ १३ गते बिहान ११ बजे विशेष च्यारेटी शो हुँदैछ । बाराही “ख” तेर्सापट्टीमा हुने च्यारेटी गरिब, जेहेन्दार र असहाय विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने उद्देश्यले राखिएको हो । मनिलाल प्रतिष्ठान माछापुच्छ«े ९ को आयोजनामा हुने च्यारेटीको टिकट १ हजार रुपैयाँ तोकिएको छ ।

पत्रकार सम्मेलनमा नायक प्रशान्त यादव, निर्माता अन्जु केसी, च्यारेटी शोका आयोजक संस्थाका अध्यक्ष रामहरी गुरुङ लगायतले बोलेका थिए । सिनेमा प्राविधिक पक्षबाट पनि बलियो बनेको दाबी निर्माण पक्षको छ । काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.