सुचना, समाचार र मनोरन्जन

सम्पदा मर्मत सम्भारमा ढिलाइ हुँदैन : कामपा मेयर शाक्य

  •  
  •  
  •  
  •  

काठमाडौं ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले आज ज्याथा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणको शिलान्यास गरेका छन् ।

वडा २५ ज्याथा द्योलुवीमा खलले आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले शिलान्यास गरेका हुन् ।

कि. नं. १९२७, १९५३, १९५४ को १५३.०१ बर्ग मिटर र कि. नं. ७३४ को १५.९० वर्गमिटर क्षेत्रमा भवन निर्माण हुनेछ ।

यसमा निर्माण हुने भवनको नक्सा दस्तुर मिनाहा गर्ने प्रस्तावमा छलफल गर्दै असोज १८ गते बसेको कार्यपालिका बैठकले ३ लाख १५ हजार ८०५ रुपैयाँ दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

शिलान्यासपछि कार्यक्रममा बोल्दै मेयर शाक्यले, मूर्त अमूर्त कुनै पनि सांस्कृतिक सम्पदाको पुननिर्माण, मर्मत सम्भारका लागि खर्चको अभाव नहुने र प्रक्रियामा ढिलासुस्ती नहुने बताए ।

‘महानगरबाट कुनै ढिलाइ हुँदैन । कहिलेकाहीँ गुठीयार र अंशियारकावीचको विवादले आगमछेँ, क्वापाछेँजस्ता सांस्कृतिक संरचना पुननिर्माणमा ढिलो भएको देखेको छु,’ मेयर शाक्यले भने, ‘महानगर निर्माणका लागि हामी जनप्रतिनिधिकावीचमा कहिल्यै फरक मत छैन । सबैको सहमति र साझा लक्ष्यका साथ योजना स्वीकृत गरेका छौं । हाम्रो गतिमा स्थानीयको गति मिल्ने हो भने परिणाम ल्याउने समय लाग्दैन ।’

त्यस क्रममा वडाध्यक्ष नीजकाजी शाक्यले भने, ‘वडाबासीको चाहना नै महानगरको लक्ष्य हो । प्रचलित व्यवस्थाका आधार मानेर स्थानीय विकास अपेक्षा पूरा गरिनेछ ।’

स्थानीय सम्पदाको प्रवर्धनबाट महानगरको पहिचान उच्च हुने वडाध्यक्ष शाक्यको भनाइ थियो ।

साढे ४ तले भवन निर्माणको कुल लागत करीव ४ करोड रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा महानगरले उपलब्ध गराउने ७५ लाख रुपैयाँ र उपभोक्ताले श्रमदानवापत् व्यहार्ने १५ प्रतिशत बराबर खर्चमा निर्माण कार्य हुनेछ ।

त्यसपछि क्रमशः संरचना थप गर्दै लगिने योजना छ । भवनमा देउता कोठा, धार्मिक र सामाजिक कार्यक्रम गरिने सभा कक्षहरु निर्माण हुनेछन् ।

कमेन्ट्स
Loading...