चितवन :
राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोग तथा निर्देशनमा नेपाल कराते महासंघको आयोजनामा भरतपुर चितवनस्थित पटिहानीमा ७ ओै मास्टर्स मिट तथा ऐतिहासिक साधारण सभा सुरु भएको छ । शनिबारबाट सुरु भएको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विशेष समारोहबीच भर्चुअल माध्यमद्धारा उदघाटन गरेका हुन् ।
उनले उदघाटन समारोहलाई सम्बोधन गर्दै देशको मान,प्रतिष्ठा र संसारलाई खेलकुद क्षेत्रको माध्यमबाट मुलुकलाई चिनाउने खेलाडी र खेलकर्मीलाई राज्यले गर्नुपर्ने सहयोग र निभाउनपर्ने भुमिकामा कुनै कसर नराख्ने बताए । प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रलाई आफुले विगतमा राज्यको नेतृत्व गर्दा खेल क्षेत्रको विकास र वृद्धीमा अग्रसर भुमिका निर्वाह गरेको समेत जानकारी दिए ।
उदघाटन समारोहलाई सम्वोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले लामो समयदेखि विवादमा रहेको राष्ट्रको पहिचानसँग गाँसिएको खेल करातेको ऐतिहासिक साधारणसभा निर्वाचन गराउन सफल भई एउटै नेतृत्वमा करातेलाई अघि बढाउन पाउँदा आफु निकै खुसी भएको बताए । सोही कार्यक्रममा उपस्थित भएकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले खेल क्षेत्रमा आफुले महानगरभित्र र देशभरि सबै खेललाई सहयोग र सम्मान गरेको बताईन् ।
भरतपुर महानगरपालिकास्थित रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्न आफुले कुनै कसर नराख्ने समेत प्रष्ट पारिन् । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले आजको दिनदेखि कराते खेल राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त भन्ने नभएको र मात्र नेपाल कराते महासंघ भएको बताए । नेपाल कराते महासंघका अध्यक्ष एवम राखेप पुर्व सदस्यसचिव युवराज लामाले कराते खेल कुनै झगडा र लफडा गर्ने खेल नभएको र यो खेल राष्ट्रको सान,ईज्जत र सम्मानका लागि गुरु प्रणालीमा चल्ने आत्मज्ञान बुदो स्पीडमा चल्ने खेल भएको बताए ।
यो खेलले विगत,वर्तमान र भविष्यमा सदा राष्ट्रको प्रतिष्ठाको लागि लडेको र सदा राज्यका निम्ति अग्रसर रहन सबै करातेकर्मीहरुलाई निर्देशन दिए ।मास्टर्स मिट उदघाटन समारोहलाई सभाविसर्जन गर्दै सम्वोधन गर्ने क्रममा नेपाल कराते महासंघका सहअध्यक्ष दावा गुरुङले विगतको करातेको सफल इतिहासलाई निरन्तरता दिदै यो नेतृत्वले पुन नयाँ इतिहास रच्नेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन,बागमती खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी,सिल्की ग्रुपका प्रमुख,बिभिन्न राजनिति दलका प्रतनिधि,समाजसेवीहरु,पत्रकार, बिभिन्न निकायका प्रतिनिधि,उधोगी,व्यापारी,कलाकार, सुरक्षाकर्मी लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त मास्टर्स मिट तथा साधारण सभामा नेपाल कराते महासंघका पदाधिकारी,७ प्रदेश, ७७ जिल्ला तथा ३ बिभागिय टिमका सिनियर प्रशिक्षक,प्रशिक्षक,स्वयम सेवक प्रशिक्षक लगायत सिनियर ब्ल्याक बेल्ट मास्टर्सहरु सहित करिव १ हजार २ सय कराते मास्टर्सहरु सहभागी भएको उक्त कार्यक्रम प्रचार–प्रसार संयोजक तथा समाचार प्रवक्ता एवम वरिष्ठ करातेकर्मी गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ ले सञ्चालन गरेका थिए । मास्टर्स मिट १३ गते सोमवार सम्म सन्चालन हुनेछ ।
