सुचना, समाचार र मनोरन्जन

कास्कीको निषेधाज्ञा केही खुकुलो, जोरविजोरका आधारमा नीजि सवारी चल्न पाउने

  •  
  •  
  •  
  •  

पोखरा /

कास्कीमा निषेधाज्ञा केही खुकुलो पारिएको छ । असार ७ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी गराएको छ । आज बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति डीसीएमसीको बैठकले नीजि सवारी साधनलाई जोरविजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । मंगलबारदेखि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर मात्र संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी चार पाङ्ग्रेको हकमा चालक सहित ४ जना यात्रु मात्र राख्न प्रवन्ध मिलाइएको छ ।

यात्रुवाहक साना तथा ठूला सार्वजनिक (भाडाका) सवारी साधनहरु भने संचालन गर्न पाइनेछैन । एम्बुलेन्स, विरामी तथा कुरुवा बोक्ने सवारी साधन, दमकल, शववाहन, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधनहरु निर्वाध रुपमा चल्न दिइने सिडिओ गौतमले बताए ।

प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम,महोत्सव, जात्रा, जुलुस, सेमिनार सञ्चालन गर्नमा समेत रोक लगाएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

विश्वविद्यालय, क्याम्पस , विद्यालय लगायत सबै प्रकारका शैक्षिकसंस्थामा भौतिक उपस्थिति भई अध्ययन अध्यापन गराउन पाइने छैन । सबै शिक्षा पद्धती तथा परीक्षालाई अनलाइन माध्यमद्वारा संचालन गर्न आग्रह गरिएको छ । सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेण्ट, चिया तथा खाजा पसल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क रंगशाला, फिटनेस सेन्टर, जिमखाना संचालन नगर्न अनुरोध गरिएको छ ।

विवाह, व्रतबन्ध घरमै बढीमा १० जनाको सहभागितामा गराउन आदेश दिएको छ ।

औषधी एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्नेछन् । ताजा दुध बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवम् संकलन केन्द्रमा पुर्याउन, विक्रिवितरण गर्न दिइनेछ । अनलाइन डेलिभरी, होम डेलिभरी सेवा निश्चित मात्रामा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई बेलुकी ७ बजेसम्म संचालन गर्न दिने प्रशासनले जानकारी गराएको छ ।

कमेन्ट्स
Loading...