सुचना, समाचार र मनोरन्जन

कहिले अन्त्य हुन्छ बलात्कारको महामारी ?

कविता श्रेष्ठ
पोखरा / 

कोरोना अहिले सबैका लागि डर बनेको छ । प्रत्येक व्यक्ति र क्षेत्र योसँग जुधिरहँदा श्रृंखलाबद्ध अपराधका घटनाहरू बाहिर आइरहेको छ । यसरी हेर्दा समाजले मानवता गुमाएको हो कि जस्तो भान हुन्छ । रोग, भोक र शोकसँगै आपराधिक क्रियाकलापले अझ प्रसय पाउँदै गर्दा समाज आधुनिकीकरणको नाममा कता मोडिँदैछ भन्ने प्रश्न नआएका होइनन् । बाग्मती गाउँपालिका— ७ लामिटारमा यही बुधबार साँझ छिमेकीको पूजामा गएकी चार वर्षीया रुविना पाख्रिनको बलात्कारपछि ढुंगाले हानेर हत्या गरिएको खबरले स्तब्ध तुल्याएको छ । रुविनाको जसरी नै सम्झना कामीको पनि निर्मम तरिकाले मानवताका सबै सीमा नाघी बलात्कारपछि हत्या गरियो । बझाङ जिल्लाको मष्टा गाउँपालिकामा १२ वर्षकी सम्झना कामीको बलात्कारपछि हत्याको घटना साम्य नहुन नपाउँदै बझाङकै बुगंल नगरपालिकाकी २१ वर्षीया युवतीमाथि आफ्नै श्रीमान र ससुराबाट बारम्बार बलात्कार र चरम यातनाको घटनाले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी निर्मलालाई पुनः स्मरण गराएको छ । यो कोरोनाको संकटको बेला महिला तथा बालबालिकाको सुरक्षामाथि प्रश्न खडा भएको छ ।

बढ्दै छ जोखिम

संकटको प्रत्यक्ष प्रभाव महिला र बालबालिकामा हुन्छ । अहिले कोरोनाकालमा महिलामाथि भइरहेका जघन्य अपराधका घटनाहरूले महिलाको सुरक्षा र वास्तविक जोखिमको अवस्थालाई जनाउँछ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४र७५ देखि ०७६र७७ सम्ममा महिला हिंसासम्बन्धी करीब ४४ हजार उजुरी प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा ४ हजार ३ सय १० उजुरी दर्ता भएका छन् । कोरोना कालमा २०७६ चैतदेखि २०७७ भदौसम्ममा मात्रै मुलुकभर १ हजार २ सय २१ जनाको बलात्कार भएको छ जुन दिनमा औसत करीब सात जना हुन्छ । चैतमा १ सय ३४, वैशाखमा १ सय ५२, जेठमा १ सय ९६, असारमा २ सय ४०, साउनमा २ सय ६६ र भदौमा २ सय ३३ जनाको बलात्कार भयो । २०७५ चैतदेखि २०७६ भदौसम्ममा भने बलात्कारका घटना १ हजार २ सय २४ वटा घटना भएका थिए । प्रमुख उपरीक्षक चन्द्रा गुरुङका अनुसार बलात्कारका घटनामा २० वर्षभन्दा कम उमेरका किशोरी र बालिकाहरू बढी पीडित छन् । उनी भन्छिन्, ‘प्रहरीमा नपुग्दै डर, प्रलोभन र सामाजिक प्रतिष्ठा जोगाउने नाममा गुपचुप मिलाइएका छन् । घटना भएपछि उजुरी दर्ता गर्ने र कानूनी अनभिज्ञताकै कारण जोखिम निम्तिएका छन् ।’

रक्षक नै भक्षक, आफन्तबाटै पीडा

अधिवक्ता तथा पत्रकार दुर्गा भण्डारीको अनुसार पछिल्ला ४ वर्षको तथ्यांकले पनि यौनजन्य अपराधमा चिनजानकै मानिसको संलग्नता बढी देखिन्छ । उनी भन्छिन्, ‘इज्जत र प्रतिष्ठाका कारण कतिपय केस प्रहरी अनुसन्धानमा नआई गुपचुप मिलाउने गरेको देखिन्छ ।‘ प्रहरीका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ । जसका कारण कतिपय केस प्रहरी अनुसन्धानमा नआई गुपचुप मिलाउने गरेको देखिन्छ । २०७३ र ०७४ देखि २०७६ र ०७७ सम्मका ४ वर्षमा बलात्कारका ७ हजार ८ सय २५ वटा घटना भए । यसमध्ये ५ हजार ९ सय ९४ वटा घटनामा नातेदार, साथी, शिक्षक, छरछिमेक र अन्य चिनजानका मानिसको संलग्नता देखिएको छ । जसका कारण अपराध लुकाउन धेरै पक्षबाट दबाब दिने वा प्रहरीमा उजुरी गर्नबाट रोक्ने प्रवृत्ति बढेको हुन सक्छ ।

कडा कानूनसँगै कार्यान्वयनको आवश्यकता

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु ग्तौउलाका अनुसार बलात्कार मुद्दामा गाउँ समाज मिलाएर सामसुम पार्ने अवस्था भनेको राज्यमा दण्डहीनताको परिणाम हो । उनी थप्छिन्, ‘बलात्कार समाजमा मिलाउने विषय नभई कानूनी सजायको विषय हो ।‘ समाजशास्त्री शान्ति भुसालका अनुसार समाजमा भएका अपराध र हिंसाका मुल जड नै पितृसत्तात्मक सोच र प्रवृति हो । समाजको प्रत्येक क्षेत्र तथा संघ, संस्थामा पितृसत्तात्मक सोच हाबी भएकै कारण महिलालाई जे गरे पनि हुन्छ भन्ने दृष्टिकोण बनेको उनी थप्छिन् । ‘यो प्रवृति अन्त्य नभएसम्म, महिला तथा बालबालिकाजन्य हिंसा रोकिँदैन,’ उनले भनिन् । यौनजन्य हिंसा तथा अपराध नियन्त्रणका कार्यक्रममा पुरुषको सहभागिता रहनुपर्ने उनले बताइन् । पत्रकार तथा अधिवक्ता दुर्गा भण्डारीले हिंसाजन्य अपराधमा राजनीतिक संरक्षण अन्त्य गर्नुपर्ने, अवसर र उत्पादनमुलक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । उनले अपराध सहेर बस्दा पीडकको मनोबल अझ बढ्ने बताइन् । उनले विद्यालयबाटै हिंसाविरुद्ध बालबालिका र किशोरीलाई उचित शिक्षा प्रदान गर्नुपर्ने टिप्पणी गरिन् ।

कमेन्ट्स
Loading...