कविता श्रेष्ठ/
एकान्तवासमा बसेको चौथो साता पुग्यो । अहिले मेरा दिनहरु समाचार पढ्न, लेख्न र रिपोर्टिङमा बितिरहेका छन । घरको लाइब्रेरीका किताबहरु मिलाउने, खोज्ने, अनलाइनमा बहस, खबर पढ्नमा म ब्यस्त भइरहेकी छु । अहिले बिश्वनै कोरोना भाइरसको सन्त्रासले आतंकित भएको देख्दा निराश हुन्छ मेरो मन । अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा थाम्नै नसकिने गरी संक्रमितको संख्या बढेको देख्दा कहिले मलाई आहत तुल्याउँछ, कहिले चीनको वुहानलाई कोरोना मुक्त बनाउन चीनले थालेको कदमले राहत दिन्छ यो मनलाई । नेपालमा पनि संक्रमितको संख्या ३१ पुगेको छ । नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेको बेला बाटोमा बिना काम लखर लखर हिड्नेहरु देख्दा कहिले रिसले आगो पनि हुन्छु । यस्तै यस्तै बीच गुप्तबासको बसाइमा भएका दुइटा घटनाहरुले भने मलाई सोच्न बाध्य बनायो, म एक आमा भएकोले पनि होला । यी दुबै घटनाहरु आमासँग सम्बन्धित र आमाको स्वरुपको बिश्लेषणमा आधारित छन् ।
घटना १
भारतको हैदराबादकी राजिया बेगम नाम गरेकी एक महिलाले लकडाउनमा अलपत्र परेका छोराका लागि १४ सय कि.मि.को यात्रा पार गरी सकुशल घर फर्काउन सफल भएकी छिन । छोरा निजामदका लागि ४८ वर्षीया राजियाले हैदराबाददेखि आन्ध्र प्रदेशको नेलोरसम्मको यात्रा तय गरेकी थिइन् । तीन दिनसम्म लगातार स्कुटरको यात्रापछि उनी नेलोरमा अलपत्र परेका छोरालाई अप्रिल १० तारिखमा सुरक्षित हैदराबाद फर्काउन सफल भइन् । लकडाउनमा १४ सय कि.मि.को यात्रा गर्नका लागि राजियाले स्थानीय प्रशासनको स्वीकृति लिएकी थिइन । उनी हैदराबादको सरकारी स्कुलका प्राचार्य पनि हुन । यो खबरअप्रिल ११ तारिखमा न्युज इंडियामा प्रकाशित भएको हो ।
घटना २
अप्रिल १० तारिखकै दिन लकडाउनले सुनसान भएको पोखरा महानगरपालिका( ५ मालेपाटनको झाउरी खेतमा नवजात शिशुको शव फेला परेको थियो। एक गर्भवती महिलाले बच्चालाई जन्म दिएर खेतको कुलोमा फालेको प्रहरीले अनुमान गरेको थियो । सालनाल सहित भेटिएको शिशु ‘छोरी’ थिइन । स्थानीय कृषकले शिशुलाई नहरमा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । यो खबर ‘मेरो साथी’ युट्युब च्यानलबाट लिइएको हो ।
रहर कि बाध्यता ?
एउटी आमाको सन्तानप्रतिको माया, ममता, स्नेह असिमित हुन्छ ।
“सन्तानको पीडाले छटपटिएकी राजियाले कोरोना आतंकको खतरनाक स्थितिसंग जुध्दै प्राणको बाजी राखी सन्तानप्रति जुन प्रेम प्रस्तुत गरिन् त्यो अतुलनीय छ“ भन्छिन, समाजशास्त्री शान्ति भुसाल । भुसालका अनुसार राजिया बौद्धिक, आत्मनिर्भर महिला भएकीले प्रहरी प्रशासनको अनुमति लिने हिम्मत गरिन्, १४ सय कि.मि पार गर्ने आंट गरिन । ‘साधारण महिलाको लागि यो कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’ भुसाल थप्छिन् । त्यसैगरी अर्को घटनालाई लिएर समाजशास्त्री भुसाल भन्छिन, “जब सामाजिक घेराले क्रुर पन्जा उठाउँछ, तब आमा सामाजिक बन्धनवाट निस्किन पाउँदिनन् । त्यस्तो परिस्थितिमा उनी ‘त्याग’ गर्ने सोचमा पुग्छिन् । सन्तान त्याग्ने अपराधिक भावना समाजले हुर्काएको उनी बताउंछिन् ।
त्यसैगरी अधिबक्ता अन्जना पौडेलका अनुसार नेपालका कारागारमा झन्डै २०० महिला आँफैले जन्माएको बच्चालाई मारेको अभियोगमा कैदमा छन तर ती बच्चाका बाबुको नाम भने कतै उल्लेख छैन । निर्मम हत्या गर्ने आमा र बच्चा जन्मिएपछि त्यसको जिम्मेवारी नलिने बाबु दुबै उत्तिकै जिम्मेवार छन् । उमेर नपुगेका बालिकाबाट बच्चा जन्मेको हो भने बालिकालाई संरक्षण दिएर बलात्कार गर्र्नलाई सजाय दिनुपर्ने पौडेल बताउंछिन् ।
आमा मात्र खराब हुन सक्दिनन्
‘आमा’ शब्द अत्यन्त प्रिय छ । आमा भगवान सरह हैन, भगवानभन्दा पनि माथि छिन् । सन्तानका लागि आमा जत्तिको माया प्रदान गर्ने अरु कोहि हुदैनन् । अरुको लाख, आमाको काख । आमाको माया सन्तानका लागि अपरम्पार हुन्छ । यो भारतको घटनाले प्रष्ट पारेको छ । राजियाले छोराको सुरक्षा भन्दा अरु केहिलाई प्रमुख ठानिनन् । उनीलाई न लकडाउनले छेक्यो, नकोरोना भाइरसको भयले, न त प्रहरीको भाटाले । हैदरावाददेखि नेलोर सम्मको १४ सय कि. मि.को यात्रा सजिलो थिएन तर छोरालाई घर फर्काउने संकल्पको अगाडी लकडाउनको केही सीप लागेन ।
पहिलो घटनाले राजियाको हिम्मत र आमाको ममताको अनुपम नमुना पेश गरिरहंदा दोस्रोले भने आमाको बाध्यता अनि पुरुषबादी समाजको चित्रण गरेको छ ।
पोखराको घटनाकै कुरो गर्ने हो भने, त्यस घटनाका सन्दर्भमा अहिले पनि हाम्रो समाजमा महिलालाई मात्र दोषी ठहराइन्छ, जुन लैङ्गीक हिंसाको पराकाष्ठा हो । पुरुषको संलग्नता बिना गर्भाधारण हुन नसक्ने थाहा हुँदाहुँदै पनि गर्भधारण हुनु र त्यस पछिका कुनै कुकृत्य भएमा दोष सबै महिलामा आउने गर्दछन् । कतिपय आमाले परिवार, समाजको डर लगायत बिभिन्न कारणले आफैले जन्माएका सन्तानलाई त्याग्नु नै समस्याको समाधान ठान्छन । यो कुनै आमाको रहर हैन, बाध्यता हो । तसर्थ, एकतर्फी विश्लेषण गरी पापिनी आमा, दुष्ट आमा भनी उपनाम दिई महिलालाई मात्र दोषी ठ्हराउनु गलत हो, अन्याय हो । जन्मेपछि बाँच्न पाउने प्रत्येकको अधिकार हो र अपराध गर्ने र गराउने सबै सजायका भागेदार हुन्छन् ।
