सुचना, समाचार र मनोरन्जन

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने

  •  
  •  
  •  
  •  

काठमाडौं ।

केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा) को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले परिकल्पना गरेको मुन्धुम ट्रेललाई उपयोग गर्ने गाउँपालिकाले योजना बनाएको हो ।

गाउँपालिकाले जि–फाउण्डेशनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे (घरवास) लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ ।

विशेषगरी मुन्धुम ट्रेललाई पछ्याउँदै खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको बीचमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल साल्पापोखरी जोड्ने गरी पूर्वाधार विकासको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको रूपमा राखेको मुन्धुम ट्रेलको करिब ४८ किलोमिटर खण्ड केपिलासगढी गाउँपालिकाभित्र पर्दछ ।

मुन्धुम ट्रेल प्रयोग गरेर गाउँपालिकाबाट सहजरूपमा साल्पापोखरी पुग्ने र फर्कने वातावरण बनाउन आवश्यक पूर्वाधार विकास गर्न चालु आर्थिक वर्ष गाउँपालिकाले रु आठ लाख र जि–फाउण्डेशनले रु आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७५ मा तयार पारिएको मुन्धुम ट्रेलले चारवटै जिल्लाका चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतका पर्यटकीयस्थललाई जोडेको छ ।

मुन्धुम ट्रेल हुँदै भित्रिएका स्वदेश तथा विदेशका पर्यटकलाई गाउँपालिका भित्र्याउने तथा गाउँपालिकालाई साल्पापोखरीसँग जोड्ने लक्ष्यका साथ आवश्यक संरचना निर्माणको काम अघि बढाइएको हो । रासस

कमेन्ट्स
Loading...