सुचना, समाचार र मनोरन्जन
safal cup

जीवन पढाउने कायस्थ सर

सञ्जीव पौडेल

पोखरा /

बिहान ६ः०० बजे कक्षामा पढाउन छिरेँ म । म पढाइरहेँ । पढ्दापढ्दै विद्यार्थी झ्यालबाट बाहिर नजर लगाए, कानेखुसी गरे । अचम्म मान्दै ठूलाठूला बनेका तिनका आँखा र अनुहारको भाव पढ्न थालेँ म । केही विद्यार्थी रमाइलो मानिरहेथे । केही आपसमा गफ्फिँदै घरि मतिर घरि झ्यालबाहिर हेरिरहेथे । यो उमेरका विद्यार्थीलाई बिहानै काउकुती र छलफल दुवै उत्पन्न गराउने दृश्य के होला भन्ने खुलदुली पैदा भयो मेरा मनमा । यो विषय एकोहोरो खेल्यो मानसपटलमा । एक छिनपछि विद्यार्थीको ध्यान खिचिरहेको दृश्य हेर्न पाठको विषय फलाक्दै म पनि कक्षाकोठाको मध्यभागमा पुगेँ र झ्यालबाहिर हेरेँ ।

झ्यालबाहिर कायस्थ सर यसरी छतमाथि शारीरिक व्यायाम गरिरहनुभएको थियो कि मानौँ उहाँ बीस वर्षे युवक हुनुहुन्छ । यो दृश्यले मलाई हृदयदेखि नै झङ्कृत ग¥यो । हृदयको झङ्कार मस्तिष्कसम्म पुग्यो । उक्त तरङ्गले मदानीले मही हल्लाएझैँ मस्तिष्क हल्लाउन थाल्यो । मैले पढाएको कुरा कति जनाले ध्यान दिएका छन् भनेर यसो नियालेँ । कतिले मेरा आँखा छल्दै बाहिर कायस्थ सरलाई हेरेका छन् भन्ने पनि अनुमान लगाएँ । निर्धक्क बाहिरको दृश्य हेरेर त्यसबारे आपसी गफ गर्नेहरूतिर पनि दृष्टि पु¥याएँ ।

एक छिनपछि मैले आफैँ आफ्नो विषय पढाउन छोडेर एउटा प्रश्न गरेँ । ‘उहाँको उमेर कति होला ?’ यो प्रश्न आफूतिर तेर्सिएपछि विद्यार्थी एक छिन गम खाएर सोच्न थाले । एक छिनपछि उत्तर विद्यार्थीले ६० देखि ६५ वर्ष बीचको अनुमानित आँकडा पेस गरे । मैले उहाँको उमेर ७० वर्षभन्दा माथि भएको जानकारी दिएँ । हामी उहाँको उमेरमा त्यसरी नै उफ्रेर नियमित व्यायाम गर्न सकौँला ? भन्ने अर्को प्रश्न गरेँ मैले । विद्यार्थीले ‘सक्छु’ भन्न सकेनन् । भनून् पनि कसरी ? कति अहिल्यै पनि त्यसरी खटेर व्यायाम गर्न नसक्ने होलान् ।

मैले आफैँसँग पनि त्यो प्रश्न सोधेको थिएँ । के म त्यस उमेरसम्म त्यत्तिकै सक्रिय जीवन बिताउन सकुँला ? आफ्नो प्रश्नको उत्तर म आफैँले दिन सकिनँ । त्यस उप्रान्त आफूले गर्दै आएको शारीरिक व्यायामलाई थप लामो समय र निरन्तरता प्रदान गर्न भने सकेँ । मलाई कक्षामा नपढाएरै जीवनको पाठ सिकाउने कायस्थ सरलाई मनैदेखि कृतज्ञता प्रकट गरेँ । आज पनि उत्तिकै कृतज्ञ छु । कक्षाकोठामा विषय नपढाएका तर जीवनको पाठ बडो गतिलोसँग पढाएका केही गुरुमध्ये कायस्थ सर एक हुनुहुन्छ ।

Parichay

विद्यार्थीलाई कायस्थ सर पोखरामा विज्ञान विषयको स्नातकोत्तर उत्तीर्ण पहिलो व्यक्ति हुनुहुन्छ भन्ने कुरा पनि मैले त्यही सन्दर्भमा जानकारी गराएको थिएँ । त्यति मात्र होइन त्यस दिनको त्यो सन्दर्भपछि मैले लगातार दुई दिन योग, प्राणायाम र आयुर्वेदका थुप्रै कुरा विद्यार्थीसँग गर्न भ्याएँ । कायस्थ सरको त्यो प्रेरणाले मैले शैक्षिक पाठ्यक्रम निर्दिष्ट विषय अध्यापन नगरी जीवनको पाठ्यक्रमले निर्दिष्ट गरेका विषय अध्यापन गरेँ । आजसम्म गर्दै आइरहेको छु ।

लाग्छ, कायस्थ सरमा कहिल्यै शैक्षिक योग्यताको घमण्ड आएन । उहाँको शालीन शैली र व्यावहारिक छलफल सधैँ प्रेरणाका अध्याय बनेर मेरो मनमस्तिष्कमा रहिरहे । औपचारिक मन्तव्य राख्दा मञ्चमा देखिने कायस्थ सर र अनौपचारिक छलफलका क्रममा भेटिने कायस्थ सरमा कुनै भिन्नता मैले पाइनँ । अनौपचारिक कुराकानीमा पनि कुनै न कुनै विषयलाई गहन विश्लेषणमा लैजाने उहाँको स्वभावले उहाँको प्राज्ञिक ओजलाई प्रस्तुत गरी नै रहन्थ्यो । उहाँको त्यो उच्च प्राज्ञिक व्यक्तित्वलाई नजिकबाट छामेपछि केही अहङ्कारी प्रा.डा.हरूको सम्झनाले मलाई फेरि एकपटक नराम्रोसँग कोक्याएको थियो । आज पनि बेलाबेलामा कोक्याइरहन्छ ।

सैद्धान्तिक ज्ञानलाई व्यावहारिक जीवनसँग जोड्ने कडी नै विज्ञान हो भन्ने कुरा कायस्थ सर निकै सरल तरिकाले बताउनुहुन्थ्यो । ‘ओहो विज्ञान ?’ भन्ने किसिमले कठिन रूपमा प्रस्तुत हुने विज्ञानलाई सरल हिसाबले जीवनसँग जोड्न सक्ने कायस्थ सरले अवश्यै मजस्ता धेरैलाई विज्ञानको जीवनसापेक्ष मूल्य बताउनुभएको छ । । जीवनका पाइला पाइलामा विज्ञान छ भन्दै जीवनका ससाना सन्दर्भसँग विज्ञानलाई जोडेर विज्ञानको सर्वव्यापकता र अनिवार्यता पुष्टि गर्न उहाँ निकै माहिर हुनुहुन्थ्यो ।

विज्ञानको विद्यार्थी, विज्ञानकै प्राध्यापक हुँदाहुँदै पनि उहाँमा आध्यात्मिक ज्ञान पनि उत्तिकै प्रगाढ थियो । अध्यात्म र विज्ञानलाई सँगै राखेर जिउन सके जीवन सुन्दर बन्ने कुरा उहाँ बताउनुहुन्थ्यो । मानव जीवनमा अध्यात्म र विज्ञानको उत्तिकै मूल्य रहेको कुरा उहाँको जीवनलाई पढ्ने हो भने पुष्टि हुन्छ । अलि लामा प्रत्येक बसाइमा उहाँ सनातन धर्म संस्कृतिभित्र रहेका वैज्ञानिक दृष्टिकोणको व्याख्या प्रायः गरिहाल्नुहुन्थ्यो ।

म नेपाली भाषाको शिक्षक भएका नाताले केही अनौपचारिक बसाइकै क्रममा नेपाली भाषाको वर्तमान अवस्थाका बारे चासो राखी हाल्नुहुन्थ्यो । नेपाली वर्णविन्यासमा भइरहने फेरबदलका कारण नेपाली भाषाको गरिमामाथि प्रहार भएको कुरा औँल्याई रहनुहुन्थ्यो । छलफलकै क्रममा पछिल्लो पुस्तामा नेपाली भाषाको सिकाइ प्रभावकारी बन्न नसक्नुका कारण उहाँ आफैँ खोतल्नुहुन्थ्यो । भाषा, वाङ्मय र संस्कृति बचाउन सके मात्रै देश बचाउन सकिन्छ भन्ने उहाँका सूत्रवचनले उहाँको देशभक्ति प्रष्ट पाथ्र्यो । नेपालका मौलिकता र विविधता हराउँदै गएकोमा उहाँको चिन्ता चिन्तनसम्म गएर टुङ्गिन्थ्यो । सधैँ नयाँ पुस्ताले धेरै गर्न बाँकी छ, अध्यापन गर्दा यी विषयलाई झकझक्याइरहन सुझाव दिनुहुन्थ्यो ।

राधेश्याम सरको पोखराप्रेम जन्मभूमिप्रतिको प्रेमभन्दा पनि अझ गहिरो प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न सहर (स्थान) प्रतिको प्रेमका रूपमा मैले बुझ्ने अवसर पाएँ । त्यसैले त उहाँ काठमाडौँबाट पटकपटक बोलावट भइरहँदा पनि पोखरा छोडेर जानुभएन । पोखराकै शैक्षिक उन्नयनमा निरन्तर लागिपर्नुभएका उहाँ आफ्नो ठाउँको विकास आफैँले गर्ने हो भन्नेमा दृढ हुनुहुन्थ्यो । पोखराको शैक्षिक विकासमा उहाँको निरन्तरको लगाव अनुकरणीय र प्रेरणादायी छ ।

सामान्य भेटदेखि कक्षाकोठा, औपचारिक कार्यक्रम सबैतिर जीवनको पाठ पढाइरहने एक असल गुरुका रूपमा मैले कायस्थ सरलाई प्राप्त गरेँ । विद्यालयदेखि विश्वविद्यालयसम्म अध्यापन मात्र नगरेर शैक्षिक संस्थाको स्थापना र विकासमा उहाँले पु¥याउनुभएको योगदान सिङ्गो देशले भुल्नु हुँदैन । ‘शिक्षाले चेतनाको विकास गर्छ, चेतनशील मानिसले सजिलै आफ्नो व्यक्तित्व, समाज र राष्ट्रको विकास गर्छ ’ भन्ने कायस्थ सर जीवन पढाउन सक्ने एक असल गुरुका रूपमा सधैँ रहिरहनुभयो । उहाँको जीवनको सरलता, ज्ञानको व्यापकता र व्यक्तित्वको सहजता सधैँ सधैँ हाम्रा प्रेरणा बनेर रहिरहने छन् । हाम्रा लागि ज्ञानको मार्ग सधैँ शालीन, भद्र र सौम्य हुन्छ भन्ने मूल्यवान् पाठ सिकाएर विदा हुनुभएका कायस्थ सरप्रति हार्दिक श्रद्धाञ्जली !

Comments
Loading...