सुचना, समाचार र मनोरन्जन

केटाकेटी कै समयमा दसैं रमाइलो : लय संग्रौला

काठमाडौं :

नेपालीहरुको महान चाडपर्व दसैं घरघरमा आइपुगेको छ । नेपाली सेलिब्रेटी पनि कोही आफ्नो घर फर्कदैछन् भने कोही राजधानीमा नै बसेर दसैं मनाउने तयारीमा देखिन्छन् ।

गायन क्षेत्रमा रहेका कलाकारहरु भने सांगितिक कार्यक्रममा व्यस्त रहेका छन् । यहिबीच चलचित्र निर्देशक,लेखक तथा कलाकार लय संग्रौलासँग भोला अधिकारीले  गरेको संक्षित कुराकानी :

नेपालीहरुको बडादसैं घरैमा भित्रिसकेको छ । कोही किनमेलमा व्यस्त हुन थालेका छन् भने कोही आफ्नो घर फर्कन थालेका छन् ? अरुलाई जस्तै तपाईलाई पनि दसैंले कतिको छुन थालेको छ ?

मलाई पनि दसैंले छोएको छ । केहि किनमेल यता उति गरिरहेको छु ।

यस वर्षको दसैं कहाँ मनाउँदै हुनुहुन्छ ?

यस वर्ष यतै राजाधानी मै मनाउने सोचमा छु । अन्त कतै जाने सोच छैन ।

बाल्यकालको  र अहिलेको  दसैंमा कुनले बढि छुने रहेछ ?

अभिभावक बनेपछि दसैंले खासै नछुने रहेछ । जति दसैंले छुनु पर्ने हो, त्यो बाल्यकालमै रहेछ । किनभने बाल्यकालमा नयाँ लुगा किन्ने कुरा हुन्थ्यो । लुगा किन्ने कुरा हुँदा हामी पनि खुसी हुन्थ्यौ । आमा,हजुरआमाहरु चिउरा ढिँकीमा कुट्थेँ ।बुवाले लरक्क परेको खसी गोठमा बाँध्नुहुन्थ्यो । आमाले गाउँबाट केरा खोजेर ल्याउनुहुन्थ्यो,आमाले ठेकीमा दही जमाउनुहुन्थ्यो । त्यो खाने दिन फुलपाती देखि हुन्थ्यो । त्यो बेला मात्रै दसैं आएको महसुस हुन्थ्यो । परिवारमा धेरै जना हुन्थ्यौ। झगडा गरि गरि खान्थ्यौ । त्यो बेलाको पो दसैं दसैं जस्तो लाग्थ्यो । अहिले न खसी, न केरा ,न आमाबुवा हुँदाको जस्तो दसैं नहुने रहेछ ।

अहिले ति कुराहरुलाई कसरी सम्झनुहुन्छ ?

बुबाले कसरी दसैंमा लुगा किनिदिनुभयो होला,आमाले कसरी चिउरा कुट्नु भयो होला,कसरी आफ्ना बच्चाहरुलाई घरमा राखेर खुवाउनु भो होला भन्ने कुरा अहिले आफु अभिभावक भएपछि थाहा पाए । बुबा आमाले हाम्रा लागि दसैंमा सबैको आवश्यकता कसरी पुरा गरिदिनुहुनथ्यो होला भनेर म बेला बेला मनन गर्ने गरेको छु । किनभने त्यतिबेलाको अवस्थामा अहिलेको जस्तो प्रशस्त पैसा हुँदैन थियो ।

धेरैले भन्ने गर्नुहुन्छ हामी त स्कुलकै ड्रेसलाई दसैंमा लगाउनुपथ्र्यो भनेर, तपाईहरुको पनि दसैंकै लुगा हुन्थ्यो कि छुट्टै किनिदिनुहुन्थ्यो बुबाआमाले ?

होइन,एउटै थानका कपडा हुन्थेँ । कहिले काँही मात्रै फरक हुन्थेँ । नत्र एउटैले कति वर्ष कटाउनु पथ्र्यो । हाम्रो त धेरै परिवार,कृषि उपजबाट जे आउथ्यो । त्यहि बेचेर हरेक कुरा किन्नुपर्ने हुन्थ्यो । अहिलेको जस्तो पैसाको मुख देख्न पाइँदैन थियो। अरुको अभाव भएता पनि खानको हुँदैन थियो । त्यस कारण दसैंमा परिवारकै एउटै लुगा हुन्थ्यो । दर्जीकामा सिलाएर लगाउनुपर्ने हुन्थ्यो । अहिले त पैसा भएपछि घरै अगाडी किन्न पाइन्छ । त्यो जमनामा थिएन ।

अहिलेको दसैंलाई कसरी लिनुहुन्छ ?

पैसा हुनेलाई सधैँ दसैं छ, नहुनेलाई कहिलै पनि छैन ।

अघि कुरा गर्दै जाँदा बुवा आमा हुँदाको चाडपर्व र नहुँदामा धेरै फरक हुने रहेछ भन्नु भएको थियो । तपाईले कतिको फरक पाउनुहुन्छ ?

बुवा आमा हुँदा र नहुँदामा धेरै फरक छ बाबु । हजुर आमा,आमा हुँदा काइलो छोरो कति खेर आइपुग्ला भनेर बाटो हेर्दै बस्नुहुन्थ्यो । म पुगे भने छोरो आयो घर उज्यालो भयो भन्नुहुन्थ्यो । अहिले न हजुर आमा, न आमा मेरो बाटो कसले हेर्छ र ? त्यस कारण दसैं निकै फरक हुने रहेछ बाबु । त्यो दसैं पो दसैं ।

मैले तपाईलाई बाल्यकालकै दसैंको कुराकानी जोड्न खोजेको छु । तपाईले दक्षिणा त्यो समयमा के गर्नुहुन्थ्यो ?

त्यो बेलाको दक्षिणा पाउँदाको क्षण हर्षको हुन्थ्यो । मेरो झापा बुधबारे घर, सुरुङ्गामा मावली घर थियो । अहिले पनि छ । मावलमा टीका लगाइ सक्दा सबैभन्दा पहिला दक्षिणा कति आयो भनेर हेर्न आतुर हुन्थेँ । त्यो समयमा अहिलेको जस्तो ठुलठुला नोट हुँदैन थिए । खुजुरा पैसा हुन्थेँ । ति पैसाहरु बचाएर राखिन्थ्यो । टीका लगाएको पैसाले कहिले खोप्पी खेल्न काम दिन्थ्यो । गुच्चा खेल्न काम दिदन्थ्यो । मिठो मिठो खानेकुरा किनेर खान काम लाग्थ्यो । न अहिले मामा छन्,ठुलो भएपछि मामाघर जान पनि नभ्याइने रहेछ ।

तपाई दसैं पर्वको मन पर्ने पक्ष के हो ? किन तपाईलाई दसैं मन पर्छ ?

दसैंको मनपर्ने पक्ष धेरै छन् । भ्याएसम्म आफ्ना आफन्तको भेटघाट यहि दसैंमा हुने गर्छ । अरु समय काममा व्यस्त भएकाहरु यहि मौकामा टाढाटाढाबाट आफ्नो घर आफ्ना आफन्त फर्किने गरेका छन् । यस्तो भेट अरु पर्वमा हुँदैन । यति बेला घरमा जे छ मिठो मसिनो त्यहि खाएर मनाउन सकिन्छ । मलाई मनपर्ने पक्ष यहि हो ।

अनि मन नपर्ने पक्ष नि ?

यो कहाँबाट सुरु भयो । यो बलिप्रथा त्यति राम्रो होइन । मलाई मन नपर्ने पक्ष भनेको काटमार हो । बलिप्रथा मलाई पिटिक्कै मन पर्दैन । माछा मासु ल्याउछन् । ति निरिह खसी बोका छन्, तिनीहरुलाई बलि दिएर कहाँ देउता खुसी हुन्थेँ र ? अरुको ज्यान मारेर देवी खुशी हुन्छिन् भन्ने मलाई पटक्कै लाग्दैन । यो मान्छेले बनाएको एउटा कुरिती हो । माछा मासु नखानेको पनि त दसैं हुन्छ नि । खानेको मात्रै हुन्छ र ?

कमेन्ट्स
Loading...