सुचना, समाचार र मनोरन्जन

कोलोराडो पुगेर मुस्ताङ देख्दा…..

  •  
  •  
  •  
  •  

जिएस नेपाली /

                                                                                          अमेरिका अनुभव….

हिमाल र पहाडै पहाडले घेरिएको भूमिबिचमा नदी बगिरहेको छ । नदीको किनारैकिनार सवारी गुड्ने सडक छ । त्यो सडकमा गुडिरहेका यात्रीले देखेका सेतो हिमालचुली र हिऊँ पग्लेर बनेका अनेकौं झरना, खोला र अनुपम दृश्य पनि उस्तै छन् तर भूगोल फरक छ । म अमेरिकाको कोलोराडो नदीको तिरतिरै रेलमा डेनभरतिर लाग्दा लाग्यो म नेपालको मुस्ताङ लेतेदेखि जोमसोम यात्रामा छु । रक्की माउन्टेनलाई मेरै धवलागिरी, अन्नपूर्ण र आसपासका हिमाल देखिरहेको छु ।

म घुमन्ते मान्छे, कुनै कामबिना केवल घुम्नका लागि नै चाँजोपाँजो मिलाएर एक्लै हिडिरहने मान्छे । १५ मे, २०१९ का दिन ५२ घण्टा लगाएर झण्डै ४ हजार किलोमिटर ट्रेनमा यात्रा गरी मध्य अमेरिका भ्रमण गर्ने लहड चल्यो । अमेरिकाको पूर्वपश्चिम छिचोल्ने, रमणीय रेल यात्राको नाम हो, ‘क्यालिफोर्निया जिफर’ । यो ट्रेन यात्रा सानफ्रान्सिस्को बेएरियाको इम्रिभिलबाट सुरू भएर क्यालिफोर्निया, नेभेडा, उटा, कोलोराडो, नेभ्रास्का, आइवा, इलोनोइ गरी ७ राज्य छिचोल्दै सिकागो पुग्छ ।

यसभन्दा अगाडि कैयांै पटक न्यूयोर्क सिटी, वासिङटन डिसीमा मेट्रो ट्रेन चढिसकेको थिएँ । अझ् सन २०१० मा न्यूयोर्कको ग्याण्ड सेन्टर टर्मिनलबाट साउथ क्यारोलिना, स्पाटनवर्गसम्म १४ घण्टा रेल यात्राको मज्जा मैले भुलेको थिइनँ । यसैले यसपटक मनमोहक दृश्य देखिने पर्यटकीय ट्रेन चढेर उत्तरपश्चिम क्यालिफोर्निया र नेभेडाका रमणीय पहाडी भूभाग, लेक टाओ, नेभेडाको उत्तरी पहाडी मरुभूमि फाँट कटेर उटाको उजाड मरुभूमि हुँदै कोलोराडो नदीको खोँचखोँचै रक्की माउन्टेन लगायतका पहाड भित्रभित्र सुरुङबाट पसेर कोलोराडो, डेनभर हुँदै नेभ्रास्का र आइवाका समथर भूभाग रेलमा कुद्दै मिसिसिपी नदी पार गरेर सिकागो पुग्ने रहर लाग्यो । त्यसैले ट्रेन बुकिङ गरँे ।

यात्राको दोश्रो दिन जब म चढ्ने रेल अमेरिकाको मध्य भाग उटाबाट कोलोराडोको ग्राण्ड जक्सनतिर जाँदै थियो । बिहानको चिया नास्ता गर्दै हामी पारचुटतिर जाँदै थियांै कोलोराडो नदीको तिरैतिर । एकातिर रेलमार्ग अनि नदीको अर्कोतिर हाइवे आइ ७० रमाइलो दृश्यले शरीर एमट्याक ट्रेनको क्यालिफोर्निया जिफरमा भए पनि मेरो मन नेपाल पुग्यो ।

काली गण्डकीको तिरतिरै ग्रावल बाटोमा जिपको हिलो र धुलोले रंगिएको अनुहारले नजिकैका अग्लाअग्ला हिमाल हेर्दै मुस्ताङतिर गए जस्तो लाग्यो । रक्की माउन्टेनको टुप्पोमा सेतै हिऊँ हेर्दै हामी कोलोराडोको अत्यन्त महत्वपूर्ण पर्यटकीय स्थल ग्लानउड स्प्रिङतिर जाँदै गर्दा त मार्फा पुगेजस्तो लाग्यो । अग्ला डाँडाहरूको खोँचमा रहेको सहर, केवलकार अनि कोलोराडो नदीमा राफ्टिङ गर्नेको घुईचो देख्दा त म अमेरिकामा नभै नेपालमा नै रेल चढिरहकोछु भन्ने भान भयो ।

हाम्रो रेलको अनाउन्सरले त्यो ठाउँको बारेमा बताइरहको थियो । यसरी हामी रक्की माउन्टेनको खोँच छिचोल्दै, बगेको कोलोराडो नदीको तिर हुँदै मफेट टनेलतिर घुस्न थाल्यौं । त्यो अनकन्टार पहाडलाई छेडेर बनाइएका अनगिन्ती सुरुडङहरू ट्रेनले काट्दा कम्ती रमाइलो थिएन । नेपालका जस्तै पहाडहरूको बिचबाट छेडेर बनाएका सुरुडङ्हरूमा यो क्यालिफोर्निया जिफरको रेल यात्रा अत्यन्त रोमाञ्चक दृश्य हो । यात्राको तेश्रो दिन ग्रेज पिक काटेर दिउँसो ४ बजे कोलोराडोको मुख्य सहर डेनभर आइपुग्दा नेपालको मुस्ताङ जोमसोमलाई असाध्यै धेरै संझिन पुगेँ । तन अमेरिकामा भए पनि मन नेपालमै रहेको आभास भयो ।

कोलोराडो भर्सेस मुस्ताङका ५ तथ्य :

१. कोलोराडो अमेरिकाको मध्यभागको एक राज्य हो । जसको क्षेत्रफल २ लाख ७० हजार वर्ग किमी छ । यो राज्य पहाडी भूभाग, हिमाल र प्रसिद्ध पर्यटकीय गन्तव्य हो । यसले अमेरिकी अर्थतन्त्रमा ठूलो योगदान दिएको छ ।

२. यहाँ ४४ सय मिटरभन्दा अग्लो रक्की माउण्टेन र अरू थुप्रै ४ हजार मिटर माथिका शिखरहरु छन् । जसले वार्षिक ८५ मिलियनभन्दा धेरै पर्यटक यस क्षेत्रमा भित्राउन सफल भएको देखिन्छ । फलस्वरूप वार्षिक २० बिलियन डलरभन्दा वढी खर्च गरेको सन २०१७ को रेर्कड छ ।

३. यहाँको जनसंख्या ५८ लाख छ भने झण्डै २ लाख मानिसले पर्यटन पेसा व्यवसायमा रोजगार पाएका छन् ।

४. यहाँ प्राय आन्तरिक पर्यटक आउँछन ती मध्ये अधिकांस रक्की माउन्टेन, नेसनल पार्क घुम्न घुम्छन् । हिमाल, पहाडको मनोरम दृश्यमा रमाउँछन् । ट्रेकिङ, हाइकिङ लगायत विभिन्न साहसिक खेलहरू खेल्न, हिमाल चढ्न, राफटिङ, जिप लाइनिङ जस्ता पर्यटकीय गतिविधिका लागि आउने गर्छन् ।

५ कोलोराडो रिभर रक्की माउन्टेनबाट निस्कने नदी हो, जुन अमेरिकाको मुख्य नदी मध्ये एक मानिन्छ । यसको लम्बाई २ दुई हजार ३ सय ३० किलो मिटर छ । यो नदी रक्की माउन्टेबाट उत्पन्न भई अमेरिकाको कोलोराडो राज्य, उटा, एरिजोना हुँदै मेक्सीको देश छिरेर मेक्सिको खाडीमा मिसिन्छ ।

१. मुस्ताङ हिमालपारीको जिल्ला, जोससोम उत्तरी भूभाग हो । यहाँ ८ हजार मिटर माथिको धवलागिरी हिमाल छ । अरू थुप्रै हिमालका अग्ला टाकुरा छन् । यो क्षेत्रफलको हिसावले पाचौँ र जम्मा १४ हजार जनसंख्याको रहेको पर्यटकीय ठाऊ हो । मुस्ताङले प्राकृतिक र धार्किक पर्यटनका माध्यमबाट अर्थतन्त्रमा टेवा दिएको छ ।

२. मुस्ताङ हिमाली जिल्ला भएकाले यहाँको मनोरम दृश्य र मुक्तिनाथ मन्दिरको धार्मिक महत्व छ । सन् २०१८ मा झण्डै ६० हजार विदेशी पर्यटक आएका थिए भने आन्तरिक पर्यटक त दसैँतिहारका समयमा दिनको ४ हजारसम्म तथ्याङ्क छ । स्थलमार्गबाट १२ सय सवारी साधनले प्रवेश लिएको डाटा छ ।

३. मुस्ताङ प्रवेशसँगै होटल व्यवसाय र पर्यटन गतिविधिले जिल्लाका छोसेर गुम्बा, धुम्बा ताल, जोमसोम बजार, मुक्तिनाथ, मार्फा गाउ, थ्रोङलापास, लोमानथाङ तथा एप्पल ब्राण्डी, स्याउबारी, टिमुर तथा यहाँका थकाली र गुरुङ बासिन्दाको सँस्कार संस्कृतिले धेरै पर्यटक तानिरहेको छ ।

४ यहाँ हिमाल चढ्ने, थ्रोङलापास गर्ने र पदयात्रा गर्ने पर्यटक साथै मुक्तिनाथको दर्शन गर्ने भनी भारतीय हिन्दु पर्यटक पनि निकै संख्यामा आउँछन् ।

५. मुस्ताङको मेरुदण्ड काली गण्डकी नदी हो । काली गण्डकी उत्तरी हिमाली भागबाट आएर मुस्ताङका विभिन्न फाँट र पहाड छिचोल्दै, गण्डक नदी हुँदै भारतको बाटो बङ्गालको खाडीमा मिसिन्छ । काली नदीको किनारमा नै जोमसोम बजार, कागबेनी अन्य साना बजार फाँटहरू छन् ।

कोलोराडो र मुस्ताङ भूगोल र जनसंख्याका हिसाबले ठूलो सानो छन् । विकासको हिसावले कोलोराडो अत्यन्त विकिसित र मुस्ताङ पछाडि छ । अमेरिका र नेपालको अर्थ व्यवस्था नै फरक छ । नेपाल प्राकृति र साँस्कृतिक विविधताले सम्पन्न छ, केवल अर्थ व्यवस्थामा बलियो हुने हो भने १० गुणा राम्रा सयौं कोलोराडो नेपालमा छन् । मात्र चिल्ला फराकिला राजमार्ग, रेलमार्ग, ठूलो विमानस्थल लगायत भौतिक पूर्वाधार छैनन् । नेपालको नेतृत्वले माल पाएर चाल नपाएको मात्रै हो । त्यसैले मुस्ताङ जस्तै सुन्दर देश छोडेर युवाहरूले कोलोराडोको सपनामा डिभी भरिरहेका छन् ।

कमेन्ट्स
Loading...