सुचना, समाचार र मनोरन्जन

तङ्ग्रिदै मर्दी हिमाल पदयात्रा….

  •  
  •  
  •  
  •  

घनश्याम पौडेल /

                                                                                             परिचय फिचर

काठमाडंैकी श्रृजु शाक्यले आफ्नो २२ आंै जन्मदिन ४२ सय मिटर उचाइमा रहेको मर्दी हिमाल भ्युप्वान्टमा मनाइन । आफ्ना स्कुलका आधा दर्जन साथीसहित त्यहाँ पुगेकी शाक्य यस्तो अग्लाइको रमणीय पदयात्रा जीवनमा पहिलो पटक गरेकी थिइन । काठमाडौंमा नगरकोट, फुल्चोकी, चम्पादेवी, चन्द्रागिरी नै घुम्ने गन्तव्य हुन भन्ने ठानेकी उनी साथीहरूको सल्लाह र युट्युव एवम् सामाजिक सञ्जालमा देखिएको आर्कषक दृश्यले उनलाई त्यहाँ तानेको बताइन ।

आधाआधी असोजमा वित्यो तर मर्दी हिमाल ट्रेक भने अझै तङ्ग्रिदै छ । कोरोनो पहिले असोज लागेपछि भरिभराउ हुने होटलहरू अहिले रित्ता छन् । तर पनि आजकल थोरै विदेशी र केही बढी स्वदेशी पर्यटक देखिन थालेपछि कोरोनाले शिथिल व्यापार लयमा फर्कन्छ भन्ने कुरामा यस रुटका व्यावसायी आशावादी छन ।

मर्दी हिमाल पदयात्रामा केही जान्नै पर्ने ७ तथ्यहरू :

१. यो पदयात्रा पोखराबाट नजिकै ४५ सय मिटर उचाईसम्म सजिलै जान सकिने सजिलोमा दोश्रो दर्जाको पदयात्रा हो । यस पदयात्रामा नेपाली युवा पर्यटकको संख्या धेरै हुने गर्छ ।
. लगातार ५ देखि ७ घण्टा उकालो, जङ्गल र कच्चीबाटो हिड्न सक्ने हुनै पर्छ र यो यात्राको अवधि ३ देखि ५ दिनको हो ।
३. उचाईका कारण लेकलाग्ने समस्यासँग जुध्न सक्ने वा अभ्यस्त भएको हुनुपर्छ वा त्यसका लागि पूर्व तयारी भएर जानुपर्छ ।
४. सिजन अर्थात् मौसम खुल्ने वेला पर्यटकको भिड हुनेहँुदा खान र बस्न सजिलै नपाइन सक्छ, त्यसैले पहिले नै बुकिङ गर्ने वा जस्तो भए पनि सहन सक्ने क्षमता राख्नुपर्छ ।
५. अहिलेको परिवेशमा पोखराबाट यात्रा गर्दा अनुमानित प्रतिव्याक्ति पाँचदेखि १० हजार नेपाली रुपैयाँसम्म खर्चको जोहो गर्नुपर्छ । खर्च मान्छेको स्वभाव र रुचिअनुसार पनि तलमाथि पर्न सक्छ ।
६. पदयात्रामा लैजाने झोलामा जाडोमा लगाउने न्यानो ज्याकेट, केही टिसर्टहरू, भित्री कपडा, हिड्न मिल्ने टाउजर, टर्चलाइट, रेनकोट, पानीको बोत्तल, केही चकलेट र सुख्खा हल्का खानेकुरा राख्नुपर्छ ।
७. प्रकृतिसँग रमाउने, सोहीमा सुख, शान्ति र खुसी खोज्नेका लागि त्यहाँ पाइने सुखसुविधा सानो कुरा हो । प्रकृतिको काखमा रमाउने र त्यसलाई सुरक्षित राख्न सहयोग गर्ने मानसिकता भएमा मर्दी हिमाल यात्रा यादगर रहनसक्छ ।

नेपाल सरकारले सन् २०१२ मा औपचारिक रूपमा खोलेको यो रुटमा नेपालीहरूको संख्या नै धेरै हुन्छ । सुरुदेखि नै यो ज्यानले धोको पाले पनि मेसो मिलेको थिएन । यो याम पदयात्रा गर्ने झोक चल्यो । यात्राको पात्रका लागि फेसबुकमा ‘आवश्यकता’ पोस्ट गर्ने वित्तिकै ओखलढुंगाका रैथाने सञ्चारकर्मी र पर्यटनव्यवसायी मित्र चत्र कार्की भेटिए । हामी दुवै पूर्व कान्तिपुरकर्मी । धेरै पहिले पनि केही पर्यटकीय ठाउँमा सहयात्री भएका थियौं । यो पाली पनि सहयात्राको पात्र बन्यौं ।

हामी पोखराबाट भालेको डाँकोसँगै मर्दी हिमालतिर निस्कियौ । करिब एक घण्टाको बस यात्राले हामीलाई भूपि शेरचन राजमार्गको काँडेमा ओरालिदियो । काँडेबाट एक घण्टाको उकालोपछि अस्टेलियन क्याम्प पुगेर पसिना ओबाएर पोथनातिर लम्कियौं । घडी ११ बजाएको र भोकले खानाको संकेत गरेपछि पोथनामा पहिलो दिनको पहिलो छाक गाँस टिप्यौं ।

हिउँदमा कहिलेकाहीँ हिऊँ पर्दा अधिकांश पोखरेली हिऊँ खेल्न आउने पोथनामा आधा दर्जन होटल भए पनि केही मात्र खुल्ला थिए । खुल्ला मध्यकोे गुरुङ गेस्ट हाउसमा खाना पाक्दै गर्दा सोही होटलका मालिक वृद्ध वुवा बृषबहादुर गुरुङसँग पहिलेको अवस्था र अहिलेको अवस्था बारे सोध्यांै । उनले भने– पहिले त असोज लागेपछि मंसिरको आखिरीसम्म असाध्यै पर्यटक आउँथे । कोरोनाले मान्छेलाई घरभित्रै बन्दी बनाएपछि हाम्रो गासै खोस्यो । त्यहीँ भेटिए स्विडेनका पर्यटक । उनी एविसी जान आएका रहेछन, भन्दै थिए– धेरै पटक नेपाल आएँ यहाँको प्रकृति र मानिस देखेर भुतुक्कै हुन्छु ।

खानापछि झोला टिपेर हामी पितम देउरालीतिर लाग्यौ । जंगलै जंगलभित्रको बाटो भएर पितम देउराली पुग्दा केही चिसो भएको महसुस भयो । लगातार ५ घण्टा जंगलको यात्रा गर्दै करिव ६ बजेतिर फरेस्ट क्याम्प पुगियो । समुद्री सतहदेखि २४२५ मिटर उचाईमा दर्जन होटल रहेछन् । मर्दी ट्रेकको मध्यभागमा रहेको फरेस्टको शान्त र रमणीयताले हाम्रो मनलाई आनन्द दियो । त्यहाँ खाना, बस्न र नास्ताको लागि प्याकेज किन्न पाइने रहेछ । फरेस्ट क्याम्प होटलकी मनकुमारी गुरुङ दिदीले अति मिठो लवजमा ‘यतै बसौं भाइहरू, अरू पाहुना छैनन्’ भनेपछि हामीले बोली हार्न सकेनौं । आखिर हामीलाई बस्नु त जरुर थियो । भोला विसायौं ढुक्कले ।

मनकुमारीले भनिन् यो ठाऊँ हाम्रो भैंसीगोठ राख्ने खर्क हो । २०५६ सालदेखि स्याउलाले बारेर बस्न थालेको, पछि त पक्की गोठ हुँदै अहिले टिहाउस होटल भयो । पहिले त गोरा मात्रै टेन्ट क्याम्पिङमा आउँथे । नेपाली भरिया र गाइडलाई भात बेच्थ्यौं । विदेशीले चकलेट, पानी , टिस्यु पेपर र अन्य खुद्रा सामान किन्थे । नेपाली पदयात्री हिड्न थालेको ८ वर्ष जति भयो । नेपाली आउन थालेपछि विदेशी पनि होटल मै सुत्न थाले । पहिले यहाँ ३ वटा मात्रै होटल थिए, अहिले दर्जन पुगे । अझै थपिने क्रममा छन् । पानीको असाध्यै दुःख थियो, टाढाबाट बोकेर ल्याएको पानी ध्युतेल जस्तो फारु गर्नुपर्ने वाध्यता मनकुमारीले बताइन । दिदीले हामीलाई त्यहाँको कथा सुनाइन्– पहिले एक्याप सक्रिय हुँदा होटल खोल्ने अनुमति पाउन निकै गाह्रो थियो भने काठ पाउन पनि निकै मुस्किल । अहिले त आफ्नै खुसी नजिकै काठ काट्छन नयाँ होटल तयार पार्छन् । झण्डै २ वर्ष भयो कोरोनाले धेरै पाहुना आएका थिएनन् अब त आउलान कि भन्ने आशा छ।

दिनभरको हिडाईले लखतरान ज्यानमा मिठो निद्रा प¥यो । बिहानको होटलकी दिदीले टिबेटियन ब्रेड, अण्डा र चनाको तरकारीसहित कालो चियाले गुडमनिङ भनिन् । कलिलो विहानीमा नास्तापछि दिदी भेनाले गुरुङ परम्परामा खादा र टिका लगाएर विदा गरे । त्यो आत्मीयताले हामीले तिरेको बिल बिर्सायो । साँच्चैकी मनकी धनी रहिछन् मनकुमारी दिदी ।

आधा घण्टाको उकालो पछि रेष्टक्याप आयो । पूर्वतिर हिमाल खुलेर ढाकिने क्रममा थियो । दक्षिण पोखरा उपत्यका र वरपरको डाडाँहरू निकै रमणीय देखिएका थिए । वर्षाद्पछिको हिमाल पहाड सफा थिए । केहीबेरको विश्रामपछि हामी लोक्याम्पतिर उकालो लाग्यांै, जंगल र उकालो बाटो । साथी चक्र र म बिगतको रमाइला अनुभवका घटना साट्दै लोक्याम्प पुग्दा बिहानको ९ बजेको थियो । हामी अझै अगाडि बढ्ने र बादलडाडाँ पुगेर खानाखाने निधो गर्यौै । लोक्यापबाट ४ घण्टाको उकालो जंगल र हिलो चिप्लो बाटो बादलडाडाँ पुग्दा बल्ल हिमाल नजिक पुगेको आभाष भयो । किनकी बादलडाडाँभन्दा तल ठूलो जंगल छ भने यहा केही बुट्यान र उराठे डाडो पनि । निकै कुहिरो लागि रहने, चिसो हावा चल्ने र क्षणभरमा नै पानी परिरहने बादलडाडाँमा होटल मुनालमा खाना खाने निर्णय गर्यौ ।

राजकुमार गुरुङसँग हाम्रो भेट अघिल्लो दिन नै तल भएको थियो । कोरोनोको खोप लगाएर फर्किरहेका राजकुमार दम्पत्तीले सो बादलडाडाँको मुनाल होटलमा खाना खान निम्तो दिएका थिए । हिजोको चिनजानले होला हामीलाई आफ्नै आफन्तकोमा आए झै लाग्यो । हामी पुग्दा केही पाहुनासहित गुङग दम्पत्तीले लोकल कुखुराको झोलमासुसँग कोदोको ढिँडो खादै थिए । हाम्रो रोजाइ पनि त्यही रह्यो । स्थानीय टुसा, निउरो, आलु र काँक्रोमुला सहितको ढिँडोले निकै मन रमायो । राजकुमारसँग पनि कोरोनापछिको अवस्थाबारे कुरा भयो । हामीले त्यहाँ खाना खाँदै गर्दा मर्दी हिमाल पदयात्राका अर्का हस्ती टंकप्रसाद गौतम आइपुगे । राजकुमार गुरुङले यो मर्दी हिमाल पदयात्राको सुरुवातकर्ता तथा ऐतिहासिक पुरुष सुदिप गौतम र उनकै काका टंकप्रसाद गौतम भएको भन्दै उहाँसँगै माथि जान सुझाए ।

संयोगले पोखरा गएर फर्केका टंकप्रसाद अबका हाम्रा पथप्रदर्शक बने । उनलाई सारा मर्दी हिमाल पदयात्रामार्ग जानेले ‘च्या काका’ भनेर चिन्दा रहेछन् । त्यसपछि करिव ३ घण्टाको उकालो बाटो कतै भिर त कतै वन अनि कतै हिलो त कतै सिढी हँुदै उकालो लाग्दा च्या काकाले आफू र गौतम परिवारले मर्दी हिमाल पदयात्राका सुरुवाती दिनका दुख र कहरका कहानी सुनाए । भतिज सुदिपले हाइक्याम्पमा पहिलो होटल खोल्दाको दुःख र त्यसबेलाको पर्यटकको चापबारे सुन्दा निकै रमाइलो लाग्यो । पहिले बाटो अव्यवस्थित थियो सिढी थिएन । अहिले बाटो राम्रो बनाइएको छ नभएका ठाउँमा बाटो बनाइदै छ । नयाँ होटलहरू थपिदै छन् र आधुनिक सुबिधा जोडिदोँ छ । हाइक्याम्पमा नै एनटिसीको २ जी र ३ जीको टावर राखिएको छ । प्राय होटलमा वाइफाई छ, गिजर छ र सवैमा सोलार बत्ती छ । यो पदयात्रा अहिले निकै व्यवस्थित राम्रो हुँदै छ । पोहरदेखि कोरोनाले मान्छे आउन छाडेका थिए अब पहिले कै झै होला कि भन्ने आशा राखेका छन च्या काकाले ।

हाइक्याम्प पुग्दा झमक्क साझ पर्न थालेको थियो । ३५ सय मिटर उचाइको चिसोले स्पर्श गर्दा फुसफुस पानी परिरहेको थियो । कसैलाई त यहीँ नै लेक लाग्ने सम्भावना हुने रहेछ । हाइक्याम्पको सबैभन्दा पूरानो होटल ट्रेकर्समा हामी अरू १० जना पाहुनासहित आगो ताप्ने फलामको चिम्नीमा दाउरा बालेर नास्ता, खाना खाँदै गफियौं । एक युरोपियन र उनका नेपाली गाईड, काठमाडांैका पर्यटन व्यवसायी, पोखराका केही र हामी थियांै । शरीर जति थाके पनि भोलि बिहान ४२ सय मिटर उचाइको भ्यूप्वाइन्टबाट सूर्योदय हेर्नु थियो त्यसैले उत्साहित हुदैँ सुत्यांै।

बिहान ४ बजे नै च्या काकाले उठाउनु भयो । बिहान सवेरै टर्च बालेर मर्दी हिमाल भ्युप्वाइन्टतिर उकालो लाग्यांै । २ घण्टा ठाडो उकालो त्यस माथि हाइअल्टिच्युटमा निकै स्याँस्याँ र फ्याँफ्याँ गर्दैै माथि पुग्दा घाम झुल्की सकेको थियो । बिचमा भँेडीगोठ र त्यहाँको गतिविधि खिच्दै विस्तारै भ्युप्वाइन्ट पुग्दा नेपाली र केही विदेशी पर्यटकहरूको भिड थियो । पहिले नै पुगेका च्या काकाले दिएको तातो चिया खाँदै ४२ सय मिटर उचाईबाट नजिकैको माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण र अन्य दर्जनौं हिमाल श्रंखला आँखामा टाँसियो । पारी अन्नपूर्ण बेसक्याप, छुम्रुङ, धान्द्रुक लगायतका गाउँहरू हेरिरह्यौ । दक्षिणतर्फ मर्दी खोलाले बनाएको फाँट र अलि पर पोखरा उपत्यका निकै रमाइलो देखिएको थियो । भ्युप्वाइन्टदेखि केही पर चौरी गाईका गोठहरू थिए भने यहाँ प्रायः सिधिङ गाउँका गौतम बाहुनहरूको चाँैरी गोठ र चियाका कटेराहरू रहेछन् । केही पर पुगेपछि हाम्रो मुख्य गन्तव्य सकियो । कोही त अझै परको ४५सय मिटर उचाईको मर्दी हिमाल बेसक्याप पनि जाँदा रहेछन । हामी भने त्यही भ्युप्वाइन्टमा केही बेर रमाएर फर्कियौ ।

ओरालो झर्दा झनै खुट्टा दुख्ने रहेछ, बिस्तारै हाइक्याप हँुदै बादलडाँडा आएर खाना खाइयो । बादलडाँडाबाट लोक्याम्प हुँदै फरेस्ट क्याम्पबाट तल कालिमाटीतिर ओरालैओरालो जंगलको बाटो हिँडियो । कालिमाटी गाउबाट घलेल गाउँ पुग्दा झण्डै साँझ पर्न लागेको थियो । त्यसदिन घलेलकै होमस्टेमा बस्ने निधो गर्यांै । माछापुच्छ«े गाउपालिका ८ मा रहेको घलेल सामुदायिक होमस्टेकी अध्यक्ष शान्ति गुरुङको घरमा बस्न पुगेछौं । आतिथ्य सत्कारमा निकै खप्पिस शान्ति दिदीले हामीलाई स्थानीयस्तरमा पाइने परिकारहरू खान दिइन । उनले भनिन्– पहिले त होमस्टेमा वस्न विदेशी र मर्दी पदयात्रामा जाने नेपाली पनि आइरहन्थे । यो कोरोनाले पाहुना आउनै छाडे, अब त सवैले खोप लगाइसके र कोरोना पनि कम हुँदैछ । पक्कै हाम्रो होमस्टेमा पनि पाहुना आउने नै छन ।

विहान शान्ति दिदीले बनाएको कोदोको रोटी, टिमुरको छोप, अण्डा र चिया खाएपछि विदाइ भएर पोखराका लागि बाटो लाग्यांै । हामी करिब आधा घण्टामा तल पोखरा क्याननको छहरा हुँदै मर्दीखोला किनारको लुम्रे बजार पुग्यौं । यो रमाइलो मर्दी हिमाल पदयात्रा बिट मार्दै लुम्रेबाट जिप चढेर पोखरा आइयो । जिपलाई ड्राइभरले मर्दी खोला किनारै किनारको कालोपत्रे बाटोमा गुडाउँदै नेपथ्यका अमृत गुरुङले गाएको गीत घन्काएका थिए ।

मर्दी खोला घुम्दै आए है, साइली माइली मेलैमा
जाले रुमाल चिनो दिइन है, छुटने बेलैमा………

कमेन्ट्स
Loading...