सुचना, समाचार र मनोरन्जन

पानीको व्यापार….

  •  
  •  
  •  
  •  

घनश्याम पौडेल /

                                                                                          परिचय फिचर

पिउनका लागि सबैलाई शुद्ध पानी नै चाहिन्छ । पानीमा मुलुक संसारको दोस्रो धनी हो, ब्रजिलपछि । तपाईंलाई विश्वास नलाग्ला तर सत्य हो हामी नेपालीका लागि खानेपानी खाडीबाट आउँछ । चुनावी भाषणमा नेपालको शुद्ध पानी खाडीमा बेचेर हामी धनी हुने हो भन्ने सुनिन्छ । तर वास्तविकतामा ठीक उल्टो छ । पोहोर साल मात्र नेपालमा एक लाखको खानेपानी खाडी मुलुक दुवईबाट आएको जानकारी दिन्छन्– नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसियसनका उपाध्यक्ष यदु अधिकारी । त्यति मात्रै होइन भारत र अन्य मुलुकबाट पनि नेपालमा बोटलको खानेपानी आउँछ । जल, जंगल र जमिन प्राकृतिक वरदान हो । मानिस धर्तीको पाहुना मात्रै हो मालिक होइन र पनि प्राकृतिक वरदानको व्यापार उपभोक्तावादी संस्कृतिमा मौलाएको छ ।

पोखरा क्षेत्र वरपर खासगरी कास्की जिल्लाभित्र पानी उत्पादन, प्रशोधन तथा बिक्री बितरण गर्ने ४१ कम्पनी दर्ता छन् । यी अधिकांश कम्पनी नेपाल वोटल वाटर इन्डस्ट्रिज एसोसियसनमा आवद्ध छन् । केही कम्पनी समेटिएका छैनन् । पोखरा क्षेत्रमा पहिलो पटक पानी प्रशोधन गरी बोटल र जारमा बेच्ने कम्पनी पेनगुइन हो । हेम्जा याम्दीमा रहेको यो उद्योग जयराम हमालले वि.सं.२०५२ मा स्थापना गरेका थिए । अहिले पनि यो उद्योगले ६ देखि ७ सय जार उत्पादन गर्छ । १ लिटरका बोटलहरू भने यतिबेला कम उत्पादन भएका छन् ।

पानीका सबै उद्योगले सरकारले तोकेको खानेपानी ऐन बमोजिमका शर्त र नियम पालना गर्नैपर्छ तब मात्र आफ्नो उत्पादन बजारमा लैजान पाउँछन । तर केही उद्योग यस्ता छन् जसले सरकारले तोकेको मापदण्ड पालना गर्दैनन् र तिनीहरूलाई निकायले अनुगमन, कारवाही पनि गरेको छैन् । बोटल वाटर संघ कास्कीका अध्यक्ष तथा लेकसिटी मिनिरल वाटर कम्पनीका मालिक रवीन्द्रमोहन अधिकारी भन्छन् कास्की जिल्लामा चार दर्जन कम्पनी छन् । त्यसमध्ये १० कम्पनी त संघ दर्ता छैनन् । कास्कीका सबै कम्पनी मध्ये आधामा अटोसिस्टम छ, जसमा भाँडो सफा गर्ने, पानी भर्ने, क्याप लगाउने देखि लेवलिङ् र ¥यापिङसम्म सवब काम मेसिनबाट नै गर्ने गरिन्छ । यसरी अटोमेटिक मेसिन भएको ठाउँको पानी शुद्ध र सरकारले तोकेको मापदण्ड बमोजिमको हुन जान्छ । तर बाँकी केही कम्पनीमा आधा सेमी अटो अर्थात् केही मेसिन र केही हातको प्रयोग हुन्छ । केही यस्ता कम्पनी पनि छन् जसको सबै काम अवैज्ञानिक तवरले हातले गरिन्छ । हातले पानी भरेर बजार पठाउनेले कुनै मेसिनमा लगानी गर्न नपर्ने र खासै शुद्ध खानेपानीको मापदण्ड पालना नगर्ने हुँदा अटोमेटिक मेसिन राख्नेको बजार मूल्य खाएका छन् ।

अधिकारी भन्छन– मैले लेकसिटी नामको मिनिरल वाटर उत्पादन गर्छु । मेरो उद्योगमा करोडौ लगानी गरेर पूर्ण अटो बनाएको छु भने मैले बजारमा जम्मा ३० लाख खर्चेर उद्योग चलाएकाहरूको पानीको मूल्यसँग प्रतिस्पर्धा गर्नु परेको छ । एक बोटल पानी उत्पादन गर्न सामान्यतय १० रुपैयाँ १३ पैसा पर्छ । १२ वोटलको प्याक तयार हुँदा रु १ सय २० पर्न जान्छ भने बजारसम्म लैजाँदा रु १ सय ३५ मा दिन सकिन्छ । तर हातेकाम गर्नेले रु १ सय १० मा बजारमा बेच्छन् जसले कुनै शुद्धताको मापदण्ड पालना पनि गर्दैनन् । एक जार पानी अर्थात् २० लिटरलाई ४० देखि ५० मा बेच्न सकिन्छ तर यहाँ १ जारको ३५ सम्म कसरी दिन्छन भन्न सक्दिन । तर उपभोक्तालाई पानी चाहियो र सस्तो चाहियो ।

बजारमा पठाउने पानीका लागि सरकारले २७ मापदण्ड (प्यारामिटर) तोकेको छ । यी प्यारामिटर परीक्षणका लागि कम्पनी स्वयम्ले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पोखराको ल्यावमा लैजान्छन् । यहाँबाट ल्यावटेस्ट पास भएपछि त्यो रिपोट खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयमा पनि दिनुपर्छ । सिधै कम्पनीमा गएर मनिटरिङ गर्ने प्रावधान भने कतै छैन् । उजुरी नपरेसम्म कुन कम्पनीको पानी कस्तो छ थाहा हुँदैन् । कम्पनीमा गएर अनुगमन नगरिने हँुदा उपभोक्ताले पिउने पानी नै कस्तो खाएका छन् त्यो भगवान भरोसामा छाडिएको छ । कसैको उजुरी दिएको खण्डमा जिल्ला प्रशासन कार्यालयले भनेमा मात्र जानुपर्छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजनका शिवजी बराल भन्छन्– हामीले २ वर्ष अगाडि स्याङ्जा वालिङको एक कम्पनीलाई कारवाही गरेका थियौं । त्यसयता कोही कारबाहीमा परेका छैनन् ।

उता प्यारामिटर परीक्षण गर्ने खानेपानी तथा ढल व्यवस्थापनका केमेष्ट प्रकाशचन्द्र सुवेदी भन्छन्– हामी गएर स्याम्पल ल्याउने हैन् उद्यमी आफैले ल्याउनुहुन्छ, सवैको राम्रै रिजल्ट आउँछ । हुनसक्छ जाँच्न लाने भनेर शुद्ध बनाएर ल्याउन पनि सक्नुहुन्छ । हामीले बोटल वा खुल्ला पनि टेष्ट गर्ने हुँदा अरूको पानी ल्याएर सही रिपोट पनि लान सक्नुहुन्छ । हाम्रो काम त केवल ल्याएको स्याम्पल टेष्ट गर्ने र २७ प्यारापिटर हेरी त्यसको रिजल्ट रिर्पाेट उहाँहरूलाई नै दिने हो । यसरी मासिक रूपमा गरिने १ परीक्षणको रु ४ हजार राजस्व लिइन्छ । उनी भन्छन्– पोखराको पानीको रासायनिक तत्व खासै नराम्रो छैन । केही बोरिङ र मूलको पानीमा थोरै क्यालसियम अर्थात् चुन मिसिएको हुन्छ तर समग्रमा पानी खान योग्य नै छ । केवल बगेको पानीमा मिसिने फोहरले व्याक्टेरिया र हिलोले जैविक तत्व खराव गरेर दूषित बनाउने हो । त्यसैले पानी कम्पनीहरूले रिभर ओसियस (आरओ) गरेर अल्ट्रभाइरस प्रयोग गरी शुद्ध बनाउँछन । पोखराको यो परीक्षण ल्यावमा सरदर मासिक १ सय परीक्षण गर्न आउँछन । पानी उद्योग लगायत स्कुल, व्यारेक, होटल, व्याक्तिगत तवर र अन्य खानेपानी आयोजनाबाट पनि ल्यावटेष्ट गर्न ल्याइन्छ ।

उता पानी उद्योगका पनि आफ्नै समस्या छन् । पहिले व्यस्त सिजनमा पोखरामा १३ हजार जार र १४ हजार कार्टुन खपत हुन्थ्यो । अहिले कोरोनाका कारण बजार अस्तव्यस्त छ र उत्पादन ९ हजारमा झरेको छ । नेपालमा पानी बाहेक अन्य सवै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । कच्चा पदार्थको ढुवानी मूल्य, कामदारको अभाव, देशको राजनीतिक अवस्था र बजारको अस्वस्थ्य प्रतिस्पर्धाले निकै मार परेको बताउँछन नेपाल बोटल वाटर इन्डष्ट्रिज एसोसियसन कास्कीका पूर्व अध्यक्ष सल्लाहकार यदु अधिकारी ।

सरकारका अव्यवहारिक नीति नियम, विदेशी पानी, तराईको पानी र हाम्रा अवैज्ञानिक तवरले सस्तोमा उत्पादन गरेका पानीसँग हाम्रो शुद्ध पानी लड्नु परेको त छँदै छ, २ वर्षदेखि त कोरेनाले गर्दा हाम्रो बजार पनि शिथिल पारेको छ । मासिक टेष्ट गर्दा एक पटकको ४ हजारका दरले सरकारलाई राजश्व तिरिरहनु पर्छ । वर्षको एक पटक काठमाडौंमा सिम्याट टेष्ट गर्न पनि लैजानुपर्छ । पोखराको औद्योगिक क्षेत्रमा रहेको सोल्टी पानी उत्पादनले राम्रो बजार पाइरहेको छ । प्रेमबहादुर क्षेत्री भन्छन्– केवल पानी उत्पादान र वितरणले मात्र घर धान्न गाह्रो छ, त्यसैले मैले त अर्को व्यवसाय पनि थालेको छु ।

तिर्खाएका पोखरेलीलाई शुद्ध खानेपानी दिन बसेका राम्रा व्यवसायीलाई पानीको व्यापारमा फोहर गर्ने व्यावसायीले हलुवामा बालुवा थपेका छन । तर पनि भारी वर्षा हुने पोखरा, खोलानाला र तालै तालको पोखरामा पानीको व्यापार फस्टाउँदो छ । लाहुरेको सहर, धनीको सहर र पर्यटकीय सहर पोखरा, पानीको राजधानी सहर हो पनि हो । पोखराका प्राकृतिक श्रोतलाई सदुपयोग गरेर शुद्ध पिउने पानी उत्पादन गरी देशका विभिन्न सहर र विदेश समेत पठाउन सके पोखरेली पानी बेचेरै झनै धनी बन्ने छन् । केवल सुन्दर सहरका सुन्दर मनहरूको तीर्खा मेट्ने पानी शुद्ध हुनु जरुरी छ । ८० प्रतिशतभन्दा बढी रोग पानीको सङ्क्रमणबाट हुने चिकित्सा विज्ञानको तथ्याङ्क छ । त्यसैले शुद्ध पानी नै जिन्दगानी हो ।

कमेन्ट्स
Loading...