सुचना, समाचार र मनोरन्जन

संविधानका सारथि बराल बा

  •  
  •  
  •  
  •  

घनश्याम पौडेल /

हैन यो बिजय हाम्रो, यो हो सामान्तीको टिका
न केही वर्त, न केही पहिरन बोल्छौ आवाजको टिका
लड्छौं, लड्छौं निधै लड्छौं यो हो आवाजको टिको
जित्छौं, जित्छौं अनि जित्छौं बल्ल पो लाउला टिको

प्रस्तुत कविताका हरफ वि.सं.२०३६ तिर बिजया दशमीको दिनमा मामाघर टिका लगाउन आएका भाञ्जालाई मामाले ‘आयु द्रोणसुते श्रीयमच् दशरथे’ मन्त्रको सट्टा प्रयोग गरेको कविता हो । ती मामा हुन्, पोखराका अग्रज मानवअधिकारवादी नेता टकनाथ बराल अर्थात् बराल बा।

टेकनाथ बराल पोखरेलीका लागि अत्यन्त परिचित नाम हो । प्रगतिशील चेतनाका स्तभ्म हुन्, सँगै इमानका प्रतीक । जसले ६२÷६३ को दोस्रो जनआन्दोलनमा पोखरेलीलाई संविधानसभा र नयाँ बन्ने संविधानमा जनताको आकाङ्क्षाका बारेमा विभिन्न मञ्चबाट दरिला अभिव्यक्ति दिएर चेतनाको चिराग बाले।

त्यही जनआन्दोलन र १० वर्षे जनयुद्धको आधारमा टेकेर भएको १२ बुँदे शान्ति संझौताले बनाएको संविधानसभा र त्यसले बनाएको नयाँ संविधान लागू भयो । नयाँ संविधान बनेको पनि ६ वर्ष पुग्यो । हिजो नेपाली नागरिक, समाज, समुदाय र देशलाई किन संविधान आवश्यक छ भनि पोखराको सभा, गोष्ठी र चोकचोकमा माइकको ठूलो आवाजमा हजारांै जनसमुदायलाई सुसूचित गर्दै हिडेकाहरू अहिले कहाँ के गर्दै छन् त ? के यो संविधानले दिएको उपलब्धी खुसीलाग्दो छ त ? के संविधानले नागरिकका सपनालाई सम्बोधन गर्न सक्यो ? यस्तै गहन र गम्भीर प्रश्नको उत्तर खोज्न मानव अधिकारवादी टेकनाथ बराललाई खोज्न हिडयौं ।

खोज्ने क्रममा भेटिए बराल बा पोखराको दक्षिण सेती नदी र फुस्रे खोला जोडिने दोबिल्लाको ओशो तपोबनमा । जहाँ माछापुच्छ्रे हिमाल र त्यसैको बेँसी भएर बगेको सेती नदी किनारको टापु छ । शान्त, मनोरम दृश्य, बगैँचा, ओशोेका महानवाणी अनि अनुशासित शिष्ट व्यवस्थापनमा रमाएर बसेको रहेछन् ।

लामो साथै सेतै फुलेको दाह्रीकपाल छ । एक हल्को हाँस्दा देखिने धेरै दाँत झरिसकेका छन् तर जोशजाँगर १६ वर्षे तन्नेरीको जस्तो । अझै आन्दोलनको मुडमा रहेछन् बराल बा र भने–

मैले २०३६ सालमा मेरो भान्जालाई दशँैको टिका लगाउँदा दिएको आशिरवचनमा लड्छांै अनि जित्छांै तीन पटक उल्लेख गरेको छु । यसर्थ २०४६ दोस्रो लडार्इं लडयांै । २०६२÷०६३ मा अर्को लडाई लड्यौं । बाँकी अझै एक लडाइ लड्न तयार रहनु पर्नेछ । अबको लडाई भनेको साँस्कृतिक लडाई हो । टिका लगाएर पनि दक्षिणा नलिने, नदिने लडाई हो । हाम्रो हातले कसैको दान दक्षिणा लिने होइन आफै कमाएर खाने र बाँच्ने लडाई हो । जबसम्म नेपालीले यो साँस्कृतिक र चेतनाको लडाई जित्न सक्दैनन् तबसम्म देश कहिल्यै समृद्धितर्फ लम्किदैन् ।

आजको भ्रष्टाचार, चाकडीवाज, नातावाद, कृपावाद र सबै खाले विकृति त्यही साँस्कृतिक सोच र व्यवहारबाट आयतित हुन् । तँ ठूलो, ऊ सानो जस्ता जातगत मान्यता, आरक्षण र साम्प्रदायिक सोचको उपज पनि त्यही साँस्कृतिक क्रान्तिभित्र पर्छ । अहिलेका नेताको चरित्र, चेहरा र चिन्तन पार्टीगत क्रियाकलाप र समग्र देशको राजनीति देखेर घृणा जागृत भएको छ ।

पोखराको पर्यटकीय क्षेत्र फेवातालको छेऊ बैदाममा ८३ वर्ष अगाडि जन्मिएका बराल पोखरेली माटो र बाटोमा खेल्दै साथै फेवातालको पानीमा पौडिदै बालाजोवन वित्यो । माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको चिसो झेल्दै, पोखराको सेती नदी र लमतन्न परेका फाँट तरेलीमा डुल्दै खेती किसानी, शिक्षक र समाजसेवा गर्दागर्दै बनारस पढ्ने लहड चल्यो उनमा । भावी योजना र आकाङ्क्षाको पोको बोकी अनि हिडँे रेल चढेर, घरको माया चटक्कै मारेर ।

भारतको बनारसमा पोखरेली आफन्त बलराम उपाध्याय थिए । बलरामले नै बराललाई खाने, बस्ने, पढ्ने सबै वातारणको तारतम्य मिलाइदिए । बोल्न नडराउने, फरक सोच र असल व्यवहार भएका बराललाई बनारसमा नेपाल विद्यार्थीहरूको संस्था ‘बाराणासी छात्र परिषद्’ मा पाइला टेक्न र नेता बन्न आफ्नै स्वभावले सघायो ।

नेपालमा छँदा केही काँग्रेस नेताको प्रभावमा परेका उनी दाजु बलरामको सङ्गतले पुष्पलाल श्रेष्ठको सम्पर्कमा पुगे । छात्र परिषद्को मुख्य काम नेपाली नयाँ विद्यार्थी र नेपाली तीर्थयात्रुका लागि व्यवस्थापनको कार्य नै प्रमुख थियो । सचिवको जिम्मेवारी सम्हालेका उनले आफ्नो काम र कर्तव्य उत्कृष्ट रूपमा प्रस्तुत गरे । कामले नै बिपी कोइराला तथा पुष्पलाल लगायत तत्कालीन समयमा निर्वासनमा रहेका धेरै नेता कार्यकर्ता र विद्वान्सँग राम्रो चिनजान हुन पुग्यो । बरालले आफ्नो आलोक पनि छर्न भ्याए ।

पुष्पलालको कम्युनिस्ट विचारधारालाई ठीक ठान्ने तथा फरक विचार र क्रान्तिकारी स्वभावका बरालको अभिव्यक्ति र काम गराइले बनारसको छात्र परिषद् हुँदै नेपालमा पनि चर्चा चल्न थाल्यो । वि.सं. २०२४ मा नेपाल आएपछि सङ्गठन बनाउँदै हिड्ने क्रममा पक्राउ परे र २ वर्ष जेल सजाय भयो । २०२६ मा जेलबाट रिहा भएर घर आउँदा दाजुहरूले उनलाई छुट्याइदिए । आफूलाई बैदाम माथिको पाखामा अंश परेकाले सहर्ष स्वाकारी खेतीपाती तथा सङ्गठन विस्तारमा लागिरहे । दाजुभाइ, समाज र छिमेकबाट अलग एकान्त ठाउँमा घर हुनाले प्रतिबन्धित अवस्थामा उनको घर पार्टी नेता र कार्यकर्ताका लागि सेल्टर बन्यो ।
लेकसाइड माथिको पाखोमा भूमिगत नेता आएर भैसी हेर्ने, घाँस काट्ने र खेतालाको काम गरिदिन्थे बदलामा खान र बस्न पाउथे, श्रमदानमा उनीहरू पनि रमाउँथे । बराल भने सङ्गठन विस्तारका लागि गाउँगाउँ जान पाउँथे । उता प्रशासनको खोजतलास र धरपकड कायम नै थियो । यसरी सङ्गठन कै काममा भूमिगत भएर लाग्दा लाग्दै ३६ सालमा उनी पनि आममाफीमा परे ।

वि.सं. २०४६ को जनआन्दोलनमा बाममोर्चाको तर्फबाट सक्रिय भएर आन्दोलनमा सहभागी बने । कैयौं पटक गिरफ्तारीमा परे तर पनि राजाले बहुदल घोषणा गर्न बाध्य भए । टेकनाथ बराल भन्छन्– यदि २०४६ मा राजाले म संवैधानिक राजतन्त्र र राजा हुन्छु भनी नस्वीकारेको भए राजतन्त्र उतैबेलै ढल्थ्यो । वीरेन्द्रले बहुदल त स्वीकारे तर बहुदलवादी नेताहरूकै बहुलठ्ठीपनले २०५२ सालमा जनयुद्ध निम्तायो । दरबार हत्याकाण्ड नभएको भए अर्थात् राजा वीरेन्द्रको वंशनाश नभएको भए राजतन्त्र जाने थिएन । राजतन्त्रको जरा उखेल्ने दरबार हत्याकाण्ड नै काफी भयो ।

वृद्ध अवस्थामा पनि स्पष्ट र टाठो बोली, तार्किक एवम् युवाको जस्तो जोशिलो भाषणका कारण आम पोखरेली नयाँ पिँढीले टेकनाथलाई २०६२÷०६३ सालमा नजिकबाट चिन्यो र ‘बराल बा’ को उपमा दियो । लामो कपाल र दाह्री साथै सादगी जीवन शैलीमा मानवअधिकारकर्मीको निलो ज्याकेटले सम्मानित आदर्श पुरुषको पहिचानलाई अझ् उचो बनायो । एकपटक पोखराको चिप्लेढुंगामा विशाल जनसमुदायलाई सम्बोधन गर्दै उनले भने–

  • जब युग सधैं प्रगतिशील हुन्छ, युवा सधैं सकारात्मक फरक सोच राख्छ तब मात्र देश विकास हुन्छ । यदि यो आमसभाका तमाम युवाले नयाँ सोच र आदर्श संस्कार राखेको छैन भने मभन्दा वृद्धहरूको बेकारको भीड ठानिने छ । ठिक १५ वर्षपछि आज त्यही भइरहेको छ । हिजोका काम नलाग्ने ठहरिएका नेता आज पनि मुख्य कुर्ची र पार्टीको शीर्षस्थानमा छन् ।

जब युग सधैं प्रगतिशील हुन्छ, युवा सधैं सकारात्मक फरक सोच राख्छ तब मात्र देश विकास हुन्छ । यदि यो आमसभाका तमाम युवाले नयाँ सोच र आदर्श संस्कार राखेको छैन भने मभन्दा वृद्धहरूको बेकारको भीड ठानिने छ । ठिक १५ वर्षपछि आज त्यही भइरहेको छ । हिजोका काम नलाग्ने ठहरिएका नेता आज पनि मुख्य कुर्ची र पार्टीको शीर्षस्थानमा छन् । त्यसैको परिणाम स्वरूप आज राजनीति र नेताप्रति चरम वितृष्णा र घृणा जागेको छ, भरोसा टुटेको छ ।

मुलुकमा नयाँ संविधान आएको ६ वर्ष पुग्यो । संविधान दिवस आउँछ जान्छ तर यो संविधान कस्को हो त ? हरेक नेपालीले मेरो देशको मेरो संविधान भन्नु पर्ने हैन र ? दुईदुई पटक संविधानसभाको चुनाव भएर बनेको संविधानसभाले पारित गरेको संविधान हैन र ? हुन सक्छ मतदान प्रक्रियामा बहुमतले पारित भयो त्यसो भन्दैमा हरेक समितिमा बसेका वा एक संघसंगठनभित्र बसेकाले बहुमतले गरेको निर्णय मान्दै मान्दिन भनि रहने ? संविधान दिवसमा कतै दिपावली गरिदै छ भने सरकार समर्थित पार्टीहरूनै कालो दिन भनेर बिरोधसभा गरिरहेका छन् । अर्को एक समूह विगतकै २०४६ सालको संविधान चाहिन्छ भनि रहेको छ । कसैले हिन्दु राज्यको माग गर्छन् त कसैको राजतन्त्रको । अब यो कसको संविधान भन्ने ? यो सबै सत्ता र शक्तिको खेल हो र केवल राजनीतिक रूपमा साँस्कृतिक विचलन हो । संविधानको परिपालना र प्रवद्र्धनमा नेतृत्व पटकपटक चुक्यो । संविधानमाथि बलात्कार भयो । नयाँ पुस्ताले सचेत हस्तक्षेप गरेर जोगाउनुपर्छ ।

बराल भन्छन् – साँस्कृतिक रूपले चेतना परिर्वतन नभई विकास हँुदैन । धर्म निरपेक्ष भन्ने कम्युनिस्ट नेताले नै कालो बोको खोजी खोजी पूजा दूर्भाग्यो हो । मानव धर्म खै ? मानव जात खै ? म नेपाली भन्ने भावना खै ? यहा धर्मका श्री ६ गुरूहरूको गुरू मन्त्रले देश चलेको छ । संसारमा जहाँजहाँ धर्म गुरूको इसारामा राजनीति र देश चलेको छ, सबै पाकिस्तान, अफगानिस्तान सरह द्वन्द्वग्रस्त र गरिब छन् । वास्तवमा परिवर्तन आफै हुने हो, कसैले परिर्वतन गरेर हुने हैन ।

  • नेताको घर हुँन्छ, इन्जिनियरको घर हुन्छ, डाक्टरको घर हुन्छ तर जनताको घर किन हुँदैन ? जबसम्म जनताले शिक्षा र स्वास्थ्य सेवा सरल रूपमा पाउँदैन तब सम्म सुखी नेपालीको कल्पना गर्न सकिदैन् ।

जबसम्म हामी नेपालीको नेपाल देशप्रति भावना र विकासको सोच परिर्वतन हँुदैन अझ् नेता कार्यकर्ताको सोचमा पहिलो प्राथमिकतामा देश पर्दैन तबसम्म कुनै देश समृद्ध हुँदैन । नेताको घर हुँन्छ, इन्जिनियरको घर हुन्छ, डाक्टरको घर हुन्छ तर जनताको घर किन हुँदैन ? जबसम्म जनताले शिक्षा र स्वास्थ्य सेवा सरल रूपमा पाउँदैन तब सम्म सुखी नेपालीको कल्पना गर्न सकिदैन् । समाजमा दुई प्रकारको वर्ग हुर्किरहेको छ , हुनेखाने र हुँदा खाने । छिमेकी देश चीनको अभूतपूर्व विकास हेरेर हामीले पाठ सिक्नु पर्छ ।

कमेन्ट्स
Loading...