काठमाडौं :
फिल्म ‘महापुरूष’ टिमले संसद् भवन अगाडी नै देउसी भैलो खेलेको छ । शनिबार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रम राखेको हो ।
देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकारसमेत रहेका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ उपस्थित थिए । फिल्मका टिमबाहेक अन्य कलाकारहरुमा जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्रलगायतको उपस्थिती रहेको थियो ।

देउसी भैलोको मञ्चबाटै आगामी निर्वाचनमा होमिएका नेताहरुलाई व्यङ्ग्य गर्दै सबैले महापुरुष छान्न आग्रह गरे । उनले शुभकामना दिँदै मंसिर ४ मा आफ्नो नीति निर्माणसँगै क्षेत्रको काम गर्ने महापुरूषहरू पठाउन अनुरोध गरेका छन् ।
‘यो संसद् भवनमा हाम्रो भावना बुझ्ने महापुरूषहरूलाई पठाउने दायित्व तपाईको छ । भावी पुस्तालाई समेत हुने महापुरूषहरू छान्नु होला,‘उनले भने,‘त्यो अगाडि तपाइलाई पूर्ण मनोरञ्जन दिन हामी फिल्म महापुरूष ११ कात्तिकमा ल्याउदै छौँ ।’
आचार्यले जनताको भावनाको कदर गर्न नसक्नेहरू सकिँदै गइरहेको तर्कसमेत गरे । आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मको प्रचारलाई समेत जोड्दै उनले भगवानरुपी दर्शकलाई फिल्म आउन लागेको जानकारी दिए ।
उनले भने,‘हामीले नयाँ केही गर्न लाग्दा भगवानलाई पूजा गरेर चढाउने गरेका छौँ । अहिले महापुरूष पनि भगवानरुपी दर्शकसमक्ष ल्याउँदै छौँ । हामीले यसमा एउटा सन्देश पनि प्रवाह गर्न खोजेका छौँ । दर्शकले त्यसलाई अनुमोदन गर्नुहुनेछ भन्नेमा विश्वस्त छुु ।’
उनको भनाईलाई धेरैले सहमती जनाए ।
फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले आफ्नो फिल्म महापुरूषले एक्लोपनको कथा भन्ने बताए । उनले समाजमा गाडिएको गम्भीर विषयलाई फिल्ममा देखाउन खोजेको र दर्शकले मन पराउनेमा विश्वस्त रहे ।
उनले भने,‘हामीले हाम्रो समाजमा गाडिएको गम्भीर विषयलाई फिल्मी शैलीमा सरल प्रस्तुतिमार्फत देखाउँदै छौँ । हलबाट निस्किएपछि समेत दर्शकसँगै फिल्म रहनेछ भन्ने मलाई विश्वास छ ।’
देउसी भैलो कार्यक्रममा सहभागी भएका हास्यकलाकार जीतु नेपालले फिल्मलाई सफलताको शुभकामना दिदै दर्शकले माया दिएर बनाएको महापुरूषद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म दर्शकले रुचाउनेमा आफु विस्वस्त रहेको बताए ।
यो फिल्ममा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।