सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा महिला हिंसा कम रहेको मेयर विद्यासुन्दर शाक्यको दाबी

  •  
  •  
  •  
  •  

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तुलनात्मक हिसाबमा काठमाडौंमा महिला हिंसा कम रहेको बताएका छन्।
यसलाई शून्यमै झार्नुपर्ने उनको भनाइ छ ।

‘महिला हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु भएको अवसरमा काठमाडौं महानगरपालिकाले बुधबार राष्ट्रिय सभागृहमा ‘लैंगिकतामा आधारित हिंसा’ सम्बन्धी एक दिने अन्तरक्रिया गरेको छ।

अन्तक्रियामा मेयर शाक्यले काठमाडौंमा महिला हिंसाका घटना कम रहेको बताए।

‘भित्रभित्रै हिंसा भएका हुनसक्छन्। सबै मिलेर हिंसा शून्य बनाउनुपर्छ। आर्थिक र सामाजिक हिसाबले मिश्रित बसोबास काठमाडौंको चरित्र हो। सहरमा गरिब बस्ती पनि छन्। पारिवारिक अवस्था र अभावजस्ता कारणले यस्ता ठाउँमा हिंसाको बढी सम्भावना रहन्छ,’ शाक्यले भने, ‘समृद्ध परिवारमा शारीरिक नभए पनि मानसिक हिंसा हुनसक्छ। यी सबै हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्छ। न्यायिक समितिमार्फत यस्ता घटनाका महानगरले प्रत्यक्ष सरोकार राखेको छ।’

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौंका टोलटोलमा हिंसाका अवस्थाबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

‘आमसञ्चारमा आएका सबै विषय समुदायका मानिसले पढ्न, हेर्न र सुन्न नपाउन सक्छन्। त्यसैले माइकिङ गरेर उहाँहरूलाई अवस्था र गर्नुपर्ने कामका बारेमा जानकारी गराउने अभियान चलाउन म सामाजिक विकास विभागलाई आग्रह गर्दछु,’ उनले भने, ‘आर्थिक, सामाजिक, राजनीतिक परिवेशअनुसार हिंसाका घटना फरक हुन सक्छन्। यी तथ्य हेरेर काठमाडौंलाई उपयुक्त हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ।’

सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीले महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुने बताए।

कमेन्ट्स
Loading...