पोखरा :
मणिपाल शिक्षण अस्पताल र पिपल्स सहकारीबीच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा मङ्गलबार सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यवसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र पिपल्स सहकारीबीच सहमति भएको हो ।
पिपल्स सहकारी संस्थाका सम्पूर्ण सेयर होल्डल र कार्यरत कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउनेछन । शिक्षण अस्पताल पोखरा र पिपल्स बचत तथा ऋण सहकारी संस्था ली.बीच स्वास्थ्य सेवा सुबिधा सम्बन्धी सहमती भएसँगै पिपल्स सहकारीमा आबद्ध सेयर होल्डल र कर्मचारीहरुले सो सुविधा पाउने भएका हुन ।
अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र सहकारीका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठबीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।अस्पतालका तर्फबाट सम्पर्क व्यक्तिका रुपमा सञ्चालक कुष्णमोहन श्रेष्ठ र सहकारीका तर्फबाट महेश पौडेल रहेका छन । सहमति पत्रमा हस्ताक्षर भए अनुसार अबपिपल्स सहकारीका सम्पूर्ण सेयर होल्डर र कर्मचारीहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्कमा पूर्ण छुट दिने सहमती भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार प्रा.ली.का सेयर होल्डल र कर्मचारीहरुले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क चिकित्सक परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउनेछन ।‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ।’ सम्झैता आजबाट नै कार्यन्वयन हुने र सेवा उपभोग्य गर्न अनिवार्य संस्थाको फोटो सहितको परिचय पत्र लिएर आउनुपर्ने अस्पताल प्रसासनले जानकारी दिएको छ ।