सुचना, समाचार र मनोरन्जन

मनकुमारको सांस्कृतिक,सामाजिक र राजनीतिक यात्रा

सन्तोष बस्याल
पोखरा / 

मनकुमार श्रेष्ठ पोखराका लागि नौलो नाम होइन् । सांस्कृतिक वा राजनीतिक दुवै क्षेत्रमा श्रेष्ठको नाम नसुन्ने सायद नै होलान् ।

मिजासिलो स्वाभावको मनकुमार सानै उमेरबाट नाच्न खप्पिस थिए । नेपालमा चलेको पञ्चायती बिरोधी आन्दोलनको राप र तापको बिचमा हुर्किदै गर्दा जीवन शर्माको गीतबाट नाँच्न सुरु गरेका उनलाई आज पनि जीवन शर्माको गीत सुन्दा नाचीहालम जस्तो हुन्छ ।

सामान्य परिवारमा जन्मिएका श्रेष्ठलाई पैसाको खासै समस्या भएन । उनि सानै उमेरदेखि कार्यक्रमहरुमा सहभागि हुने गर्थे । कारण श्रेष्ठको बुवा पनि राम्रो नाँच्ने गर्थे ।

जिवन शर्माकै गीत ‘यि हात यिनै हुन् पिनले खोपेका पैताला यिनै हुन् झिरले रोपेका…’ गीतबाट श्रेष्ठको नृत्यको यात्रा सुरु भयो । त्यतिबेला डुमे्र बेसीशहरको बाटो पक्की भइसकेको थिएन । बन्दै थियो । ठेकदारहरु श्रेष्ठकै घरमा बस्थे । बेलुका भएपछि जर्किन ठट्याएर अरु गीत गाउथे श्रेष्ठ भने कम्मर मर्काउथे । विस्तारै नृत्यको क्षेत्रमा प्रेरणा मिल्न थाल्यो । नृत्यका धेरै ‘स्टेप’ बुबाबाटै उनी सिक्ने गर्थे ।

उनको परिवारनै सबै कलाकारिता क्षेत्रमा थिए । श्रेष्ठका दिदीहरुले समेत राम्रो गाउँथे । अक्सर परिवारका कान्छो छोरा भएपछि बाल्यकालमा चकचके हुन्छन् । तर श्रेष्ठ त्यस्तो थिएनन् । सानै देखि उनमा नेतृत्व गर्ने क्षमता थियो । परिवारमा दाई दिदीहरु भन्दा क्षमतावानमा गनिन्थे श्रेष्ठ । बाल्यकाल घुम्न जाने रमाइलो गर्ने भन्दा पनि पढाईमै बित्यो । केटाकेटीमा हुने जिद्दीपन उनमा थिएन ।

कक्षा ५ मा पढ्दा नै जुनियर रेडक्रस सर्कलको नेतृत्व गर्ने अवसर पाए । उतिबेला शुक्रबार शनिबार कुनै न कुनै विषयमा प्रतियोगिता हुने गथ्र्यो । त्यतिखेर विद्यालयले प्रतियोगितामा सहभागी नबनाए पनि आफै सहभागी हुन्थे । अन्तरक्रिया कार्यक्रम होस् या नृत्यका सबैमा उनको सहभागीता हुन्थ्यो ।

राजीनितमा ‘इन्ट्री’

बाल्यकालदेखी नै उनी राजनीतिक परिवेशमा हुर्किए । वि.सं २०५० सालमा मदन भण्डारीको हत्यापश्चात हरेक दिनको जेठ ३ गते श्रेष्ठ अध्ययन गर्ने विद्यालय विदा हुन्थ्यो । २०५८ मा उनी पोखरा आए । एसएलसी पश्चात उच्च शिक्षाका लागि नजिकैको राम्रो क्याम्पस कुन त भन्दा परिवारको रोजाईमा पृथ्वीनारायण क्याम्पस थियो । उसो त उनलाई समेत पहिलेदेखिनै उक्त क्याम्पसमा अध्ययन गर्ने रहर । कारण थियो पहिले देखी पृथ्वीनारायण क्याम्पसका विद्यार्थी नेताहरुसँग उनको राम्रो चिनजान थियो ।

बाआमाको सपना छोरो इन्जियिर होस् । बुबाले इन्जिनियरिङ क्याम्पसमा भर्ना गरिदिए । तर श्रेष्ठ त्यहाँ एक दिन बाहेक दुई दिन टिक्न सकेनन् । पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । शिक्षा संकायमा गणित उनको ऐच्छिक विषय थियो ।

पहिलेदेखि नै सबै चिनजानको वातावरण भएकाले उनलाई बस्न पोखरामा समस्या भएन । इन्टर पढ्दासम्म उनी राजनीतिमा आर्कषण भएनन् । त्यतिबेला उनको दिमाखमा राजनीति भनेको नाराबाजी गर्ने हो, मैले पढ्नुपर्छ भन्ने हुन्थ्यो । जब शिक्षा संकायको ‘फ्याकल्टी इ’ मा क्लास कमिटि बनाउन केही आए । क्लास कमिटी बनाउदा अध्यक्ष, उपाध्यक्ष,कोषाध्यक्ष र सचिव को हुने ? भन्ने सन्दर्भमा हात उठाउने चलन थियो । अहिले पनि छ । त्यतिबेला सचिवको पदमा श्रेष्ठको नाम प्रस्तावित भयो । जो कमिटी बनाउन गएका थिए, उनीहरुबाटै सचिव पदका लागि प्रस्ताव आएपछि श्रेष्ठले हुन्न भन्न सकेनन् । विस्तारै काम गर्दै गए । प्राराम्भिक समितिको सदस्य पदमा उनलाई नियुक्ति गरियो र राजनीतिमा विस्तारै सक्रियता बढ्दै गयो ।

इन्टर पास गरेपछि श्रेष्ठ व्यवस्थापन संकायमा अध्ययन गर्न थाले । त्यतिबेला सम्म उनी स्ववियुको सदस्य भइसेकेका थिए । २०६५ सालमा अत्याधिक मतका साथ स्ववियुको कोषाध्यक्ष पदमा निर्वाचित भए । स्ववियु सभापति बन्ने ठूलो इच्छा तर विडम्बना त्यो बेला चुनाव हुन सकेन । पछि चुनाव गर्ने समयमा उमेरका कारण उनी लड्न पाएनन् । २८ वर्ष भित्रकोले मात्रै नेतृत्व पाउने कुरा थियो । उनको उमेर २८ माथि पुग्यो । राजनीतिलाई बुझेर मात्र यो क्षेत्रमा होमिन उनको युवालाई सल्लाह छ । श्रेष्ठ भन्छन्,‘ राजनीतिमा युवा आउनुपर्छ । तर बुझेर । पार्टीका नेताहरुको संघर्षको उच्च कदर गर्दै उनीहरुको सल्लाहबमोजिम अब देशको नेतृत्व युवाले लिनुपर्छ । सबै पार्टीमा घुर्की लगाएर पदिय जिम्मेबारी लिने गरिन्छ । अब यसको अन्त्य हुनुपर्छ ।’

श्रेष्ठका अनुसार राजनीति भनेको परिवर्तन हो । जो जहाँ बसेर पनि त्यसको प्रतिनिधित्व गर्न सकिन्छ । अहिलेको समाज गहिरो सँग अध्ययन नगर्ने खालको रहेको उनको बुझाई छ । उनी भन्छन्,‘नेपालमा व्यावहारिक शिक्षाको कमीले विद्यार्थीहरु विदेशिएका छन् । कोही रहरले कोही बाध्यताले । अवसरको कमी छ । उत्पादनमा लागेपनि उत्पादन भएपश्चात के गर्ने ? बजार सानो भएकाले समस्या विकराल छ । तर पनि चुनौतीको सामाना गर्दै सुन फलाउने हरु नेपालमा धेरै छन् ।’

सांस्कृतिक जिम्मेबारी

राजनीति सँगै सांस्कृतिक जिम्मेबारीमा उनको दखल हिजो पनि थियो र आज पनि कायम नै छ । कमिटीमा बस्दा विशेष जिम्मेबारी उनले सांस्कृतिक विभाग अन्तर्गतनै पाउँथे । सांस्कृतिक विभागको अध्यक्ष समेत बन्ने अवसर मिल्यो । अरु अध्यक्ष हुँदा पनि उनको सहयोग अपरिहार्य हुन्थ्यो । अहिलेका चर्चित कलाकार मध्ये संगीत संयोजक विनोद बाजुरली त्यतिबेला सचिव थिए । दिलिप गायक उपाध्यक्ष । श्याम रसाइली, स्वरुपा रसाइली लगायतका कलाकार समेत कमिटीमा थिए ।

श्रेष्ठलाई आर्थिक उर्पाजनका लागि अब केही गर्नुपर्छ भन्ने लाग्यो । त्यतिबेला केही दिनको विधामा उनी गाउँ गएका थिए । पोखरा फर्किए । पारिवारिक विषयमा राजीव पहारी सँग कुरा भयो । उतिबेला पहारी स्ववियु सभापति थिए । स्ववियुमा विद्यार्थीलाई सहयोग गर्ने सर्तमा निश्चित पारिश्रमिक उनले पाउन थाले । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म पृथ्वीनारायण क्याम्पसका विद्यार्थीका गुनासो सुन्ने र स्ववियु नेतृत्वलाई सुचना गर्ने उनको काम थियो । त्यसबापत उनले महिनाको २ हजार पारिश्रमिक पाउँथे । ६ महिना जति उनले उक्त काम गरे । त्यसले उनलाई जीवन गुर्जान अलि सहज भयो ।

उनलाई जागिर खाँचो पर्यो । स्थानिय पत्रिका हेर्दै गर्दा नृत्य प्रशिक्षक चाहिएको सुचना पाए । स्कुल थियो सृजना उच्च माध्यमिक विद्यालय । त्यहाँ पनि प्रतिस्पर्धा गर्नुपर्यो । ११ जनाले आवेदन दिएका रहेछन् । अनुभवका हिसाबले काँचो फेरी जनवादी गीतसँगीत बाट हुर्किएर आएको मान्छेलाई बोर्डिङ स्कुलमा डान्स टीचर भएर बस्न गाह्रो नै थियो । घाँटु, झाँगर, झिँझिँया, कौराका विषयमा अनविज्ञ थिए । अन्तर्वातामा उनी राम्रै प्रस्तुत भए । उनलाई प्रश्न आयो मात्राको विषयमा श्रेष्ठले आएन भनि जवाफ फर्काए । फेरी उनलाई सोधियो कसरी नृत्य सिकाउनु हुन्छ ? उनले बीटको आधारमा सिकाउँछु भने । पछि मात्रै उनलाई थाहा भयो बीट भनेकै मात्रा रहेछ । आंशिक शिक्षकको रुपमा उनी छनौट भए । सृजना बोर्डिङमा २५ सय तलबमा काम गर्न सुरु गरे ।

बुबाले पढाउन सकिन भन्ने विषय उनको मनमस्तिष्कमा घुमिरहन्थ्यो । उनले स्कुल पढाउँदा ढुकुटी खेल्थे । पहिलो महिनामै ढुकुटी खाए । पैसा थियो २५ हजार । उनले कमाएको २५ हजारनै लगेर बुबाको हातमा थमाए । भन्छन्,‘ बुबा आमाको हातमा आफुले कमाएको दुईपैसा थमाउँदा आनन्द मिल्दो रहेछ ।’ १५ वर्ष अगाडीको कुरा हो यो ।

पहिला नाच्नेलाई ५ सय दिने गरिन्थ्यो । श्रेष्ठकै पहलमा एउटा नृत्य समुह बन्यो । उनीहरुले नाच्नेको पारिश्रमिक बढाएर १५ सय पुर्याए । पोखरामा हुने हरेक कार्यक्रमको जिम्मेबारी उनीहरुको समूहलाई आउने गथ्र्यो । विस्तारै आर्थिक आम्दानी राम्रै हुन थाल्यो । त्यसपछि आर्थिक पाटोमा उनलाई अफ्ठ्यारो परिस्थिति आएको छैन ।सांस्कृतिक क्षेत्रमै लागेर उनले हङकङ भ्रमण गर्ने अवसर पाए ।

‘सामाजिक हिसाबले राजनीति हामी सबैले गरिरहेका छौं’

नृत्यको क्षेत्र गाह्रो पेशा भएको श्रेष्ठ बताउछन् । गीत गाउनेहरुले मेलामहोत्सवमा गएर एउटा गीत गाए भने कम्तिमा ५ हजार खाममा बोकेर आउँछन् । नाच्नेहरु अन्तिममा जोडिने भनेको निर्णायक मण्डलमानै हो । निणार्यकले पाउने भनेको १५ सय, २ हजारनै हो । नृत्यको पेशामा लागेर बाँच्न सकिन्छ सकिन्न चुनौतीको विषय भएको उनको भनाई छ ।

पोखराका बोर्डिङ स्कुलमा आंशिक वा पूर्ण नृत्य प्रशिक्षक राखिदिएका कारण यो पेशामा लाग्नेहरुका लागि राहत मिलिरहेको छ । उनलाई लाग्छ नृत्यकै क्षेत्रमा मात्र लागेर जीवन राम्रै बनाउँछु भन्न अहिलेको समयमा अलि गाह्रो छ ।

समाजको कुनै पनि अंगमा बसेर काम गर्नु राजनीति भएको बताउँदै श्रेष्ठ भन्छन्,‘सामाजिक हिसाबले राजनीति हामी सबैले गरिरहेका छौ । पार्टीगत आस्था फरक फरक होला । तर राजनीति पनि त आखिर सामाजिक सेवा न हो । राजनीति आँफैमा गलत होइन । यसलाई गलत बनाइएको हो ।’

पोखराका थुप्रै सङ्घसंस्थाको जिम्मेबारी पदमा श्रेष्ठ छन् । राजनीतिक हिसाबले नेकपा एमाले, संस्थागत हिसाबले सप्तरङगी प्रतिष्ठान,तरेली सांस्कृतिक प्रतिष्ठान परिवार, हिमाली सांस्कृतिक प्रतिष्ठान लगायतका पोखराका दर्जन भन्दा बढी संस्थामा उनी आबद्ध छन् ।

जनयुुद्धकालको सम्झना

जनयुद्धकालमा पृथ्वीनाराण क्याम्पसमा आर्मीले होस्टेल घेराउ गर्दा ठूलो कालबाट बाचेको श्रेष्ठले बताए । होस्टलको २६ र ३० नम्बर कोठामा विद्यार्थी नेता बस्ने गर्थे । आर्मीले होस्टलका विद्यार्थीलाई कुट्दै थुनामा राख्यो । त्यतिबेला ६० जना विद्यार्थी आर्मीको कब्जामा थिए । तर श्रेष्ठ छुट्न सफल भए । कारण थियो आर्मी मध्येको एक सिपाहीले उनलाई चिनेको रहेछ । पछि साथीहरुलाई छुटाउन उनी लागि परे । त्यतिबेलाका क्याम्पस प्रमुख डा. दिल बहादुर क्षेत्री थिए । उनले आर्मी संँग वार्ता गरी आर्मी कब्जामा रहेका ६० जना विद्यार्थीलाईनै छुटाउन सफल भए ।

‘गरे नेपालमा सम्भव छ’

श्रेष्ठ भन्छन्, ‘गर्ने हो भने हाम्रै नेपालमा सम्भव छ । मलाई विदेश जान कहिल्यै इच्छा जागेन । विदेश गएर हामीले सानो भन्दा सानो काम गर्न तयार हुन्छौँ । तर त्यही काम नेपालमा गर्न गाह्रो मान्छौँ । यो ठूलो समस्या हो । खेतबारी बाँझै छन् । हामी अल्छी भएका छौँ । सरकारले कृषिमा अनुदान राम्रै दिएको छ । यसको उचित प्रयोग गर्न सके सफल हुनुमा दुईमत छैन ।’

श्रेष्ठलाई लाग्छ सफल हुने नाउँमा अहिलेको पुस्ताबाट अलि हतारो गरिएको छ । राजनीतिक क्षेत्रमा होस् या सामाजिक सांस्कृतिक क्षेत्रमा उनि भन्छन् ‘काम गर्ने कालु मकै खाने भालु भएको छ ।’ लामो संघर्ष गर्दै आएकाले भन्दा पहँुचका आधारमा भर्खरै आएकाले स्थान पाइरहेका छन् । संघर्ष र समयको सहि मूंल्याकन हुनुपर्ने उनको माग छ ।

विभिन्न संघसंस्थाबाट सम्मानित

श्रेष्ठ विभिन्न संघसंस्थामा सम्मानित समेत भइसेकेका छन् । अनुशासित सक्रिय सम्मान २०७३, सिर्जनशिल यूवा वर्ष पुरस्कार २०७६, तनहूँ रत्न सम्मान २०७६ लगायत ०७६ मै सुदुर पूर्वी प्रवासी नेपाली संघ हङकङबाट उनी सम्मानित भएका छन् । यस्तै,०६७ मा तनहुँ समाज हङकङबाट सम्मानित र हालै मात्र हार्मोनी गु्रपबाट सम्मानित भएका छन् । २०६७ सालमा फरेष्टी क्याम्पसमा नृत्य सिकाउन जाँदा लक्ष्मी कार्की सँग उनको प्रेम सम्बन्ध गाँसियो । ७ वर्षको प्रेम सम्बन्ध पश्चात २०७३ सालमा श्रेष्ठले अन्तरजातिय विवाह गरे । त्यसपछि दुई छोरी श्रेया र सृष्टीको जन्म भयो ।

खोजी प्रतिभामा दुर्गा परियार जिताऔं अभियानको सचिव, द सिङगिङ स्टारमा ऋतु लामा सहयोग समितिको महासचिव, खोजी प्रतिभामा सिडी विजय अधिकारी जिताऔं अभियानको महासचिव, नेपाल आइडल बुद्द लामाको सल्लाहकार, नेपाल आइडल सिजन २ का विक्रम बराल जिताऔं समितिको महासचिव र दिभ्वाइस अफ नेपाल सिडी विजय अधिकारीको सल्लाहकार आदि पदमा समेत काम गरी सफल भएका छन् ।

श्रेष्ठ भर्खरै मात्र गण्डकी प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा नियुुक्त भएका छन् ।

कमेन्ट्स
Loading...