सुचना, समाचार र मनोरन्जन

सम्झनामा मेनकाजी गुरुङ

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

वि.सं २०२० साल भदौ ५ गते जन्मिएका मेनकाजी गुरुङको निधन २०७८ जेठ १७ गते भयो । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष गुरुङ एक कुशल नृत्य गर्ने क्षमता भएका कलाकार हुन् । जीवनको अन्तिम समयसम्म पनि उनी लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि खटिरहे । सालिन र भद्र स्वभावका गुरुङ २० दिन अघि मात्र कोरोना संक्रमण निको भएर घर फिर्ता भएका थिए । लामो समय देखि मुटुरोगका विरामी रहेका गुरुङको भौतिक शरीरलाई हामीले गुमाएका छौं । तर उनले छोडेका यादहरु हामीसँगै छ । उनले गरेका कामहरुलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्ने दायित्व हामीमा छ । गुरुङ सँगै व्यक्तिगत, संस्थागत रुपमा काम गरेका र उनलाई नजिकबाट चिनेका  व्यत्तित्वहरुको सम्झना हामीले प्रस्तुत गरेका छौं :

तीर्थ श्रेष्ठ  (कवि तथा संस्कृतिकर्मीं)

तीर्थ श्रेष्ठ

मेनकाजी गुरुङलाई व्यक्तिगत रुपमा डाँफे कला मन्दिरमा नृत्य कलाकारका रुपमा सम्बद्ध भएदेखि नै चिन्छु । डाँफे कला मन्दिरमा राम्रा नृत्य कलाकारहरु मध्येको एक मेनकाजी थिए । उनीसँग त्योबेला मेरो त्यति घनिष्टता त भएन । धेरै पछि हिमाली सांस्कृतिक परिवारमा मेनकाजी सम्बद्ध भएपछि नै घनिष्टता बढ्न थाल्यो । सामान्यतया हेर्दा मेनकाजी एउटा नृत्यकलाकार हो । तर नृत्यकलाकारितामा मात्र उनी सिमित रहेनन् । आफुले जानेको सीप वा प्रतिभा अरुलाई बाढ्न पनि सँधै उत्साहित हुने स्वभावका थिए मेनकाजी । संगठनलाई गति प्रदान गर्ने काममा समेत क्रियाशिल संलग्नता थियो । मेनकाजीले खाली हिमाली सांस्कृतिक परिवारलाई मात्र जोगाउन चाहेनन्, गुरुङ संस्कृति मात्र बचाउन चाहेनन् । धातु, सोरठी लगायतका सांस्कृतिक नृत्यहरुलाई समेत प्रवद्र्धन गर्न तर्फ मेनकाजी सँधै अग्रसर रहे ।

हिमाल, पहाड र तराइमा नाचिने नाचको विकासका निम्ती मेनकाजीको योगदान अतुलनीय छ । विविध जातजातीका संस्कृतिलाई एकसाथ उभ्याउने त्यसको संरक्षण र प्रवद्र्धन गर्ने काममा उनी जीवनको अन्तिम समयसम्म पनि लागिरहे । मेनकाजी विभिन्न संघसंस्थामा समेत संलग्न भए । पोखराका अन्य वांगमयिक संस्थाहरुसँग समन्वय गर्ने र उनीहरुलाई समेत अगाडि बढाउने कुरामा मेनकाजीको क्रियाशिलता रहयो । हामीले आज संस्कृतिको उन्नायकलाई गुमाएका छौं । उनको अभाव खड्कीरहेको छ । जसलाई लामो समय सम्म हामी पूरा गर्न सक्दैनौ भन्ने लाग्छ । मेनकाजीले नृत्यको क्षेत्रमा सोचेका अन्य सपनालाई साकार पार्ने जिम्मेबारी अब हाम्रो काँदमा आएकोे छ । उनका सपना पुरा भयो भने मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रजापती पराजुली (प्राज्ञ सभासदस्य संगीत नाट्य एकडेमी तथा वरिष्ठ लोकदोहोरी गायक )

प्रजापती पराजुली

मेनकाजी गुरुङलाई मैले विगत २०३७ सालदेखि चिन्छु । धनबहादुर गायक, मेनकाजी, मीन थापा, रुपेन्द्रबाबु थापा, म, हरिमान गुरुङ, आरती, शशी सँगै डाँफे कला मन्दिरमा काम गथ्र्यौं । त्योबेला देखिको हाम्रो सहयात्रा हो । २०४१ सालमा दोस्रो अन्तरनगर खेलकुद प्रतियोगितामा मैले एउटा गीत लेखेको थिए । त्यो गीतमा फास्ट बिटमा मादल बजाउने धनबहादुर गायक थिए भने फास्ट नृत्य नाच्ने मेनकाजी गुरुङ थिए । जुन कार्यक्रममा दोहोरी र नृत्य दुवै क्षेत्रमा प्रथम भएका थियौं ।

मेनकाजीलाई कहिल्यै लोभ भएन । कुशल नृत्य निर्देशकको रुपमा मेनकाजीलाई चिन्छु । स्वाभिमान, सिष्टता भएका कलाकार हुन् मेनकाजी । साथीभाइका लागि पनि मिजासिलो व्यक्ति थिए उनी । कास्की पोखरालाई संस्कृतिको राजधानी बनाउन पर्छ भन्ने अभियानको एक पात्र उनी हुन् । कान्छी, माइती जस्ता चलचित्रमा समेत उनको नृत्य छ । मेनकाजीले धेरै चेला जन्माएका छन् । नसोचेको, नसम्झेको घटना घट्यो । कुशल संस्कृतिकर्मीलाई गुमाउँदा पीडा त भएको छ तर उनको अधुरा सपना पूरा गर्ने जिम्मेबारी पनि हामी माझ आएको बुझेको छ । उनीप्रति हार्दिक श्रद्धाञ्जली ।

बुद्धीमान दुरा गुरुङ “धम्पु” (ठाडोभाका गायक, वरिष्ठ संस्कृतिकर्मी)

बुद्धीमान दुरा गुरुङ “धम्पु”

मेनकाजी गुरुङ संस्कृतिकर्मी मात्र नभई कलाकारकर्मी हो । आफुलाई भन्दा बढी कलाकारको हितका लागि खटिने मध्यका हुन् उनी । कसैलाई अप्ठेरो पार्न नचाहने व्यक्तिका रुपमा मेनकाजीलाई सम्झन्छु ।

सामाजिक सेवामा समेत उनको अग्रसरता थियो । हामी खासमा छिमेकी हौं । पोखरा १५ नयाँगाउमा हाम्रो बसोबास ।

यहाँको सामाजिक विकासमा समेत सँधै अगाडि बढ्ने पात्रका रुपमा मेनकाजी थिए । भाई यो गरौं, भाई त्यो गरौं भन्दा मेरा कुराहरुलाई उनले कहिल्यै टालेनन् । सहयोग गरिराखे । कलाकार अनुशासित पनि हुनुपर्छ भन्ने नैतिक शिक्षा प्रदान गर्ने कलाकर्मी थिए मेनकाजी । आज हामीले एक सच्चा र नेतृत्व गर्ने क्षमता भएका कलाकार गुमाएका छौं । उनको अभाव सँधै खड्कीनेछ ।

मन बहादुर गुरुङ (प्रदेश सभा सदस्य, गण्डकी प्रदेश )

मन बहादुर गुरुङ

मेनकाजी गुरुङ मेरो परिवारको भित्रको सदस्य हो । उमेरले म भन्दा दुई वर्ष जेठो भएता पनि मलाई काका भन्ने गथ्र्यो । हाम्रो गाउँमा घर तलमाथी नै छ । सबैसँग मिल्ने स्वभाव उसको सानैदेखिको हो । के साना, के ठूला उसले कहिल्यै भनेन ।

जीवनकालसम्म सबैलाई माया र प्रेम मात्र बाँडेर हिड्यो । संगठनमा लागेपछि एउटा बफादार सिपाहीको जस्तो काम गर्ने अठोटता थियो उसमा । जसलाई उसले केही हदसम्म पूरा गरेको अभाष हुन्छ । संस्थागत रुपमा त क्रियाशिल नै थियो पारिवारिक व्यवस्थापनमा समेत उसको क्रियाशिलता देखिन्थ्यो । माया गर्ने भतिज गुमाएको छु । उसका सपनालाई पूरा गर्ने जिम्मेबारी काँदमा आएको छ । सबैसँग सहकार्य गर्दै हामी अगाडि बढ्नेछौं ।

हुम गुरुङ (अध्यक्ष, तमु धिं नेपाल)

हुम गुरुङ

मेनकाजी गुरुङ नेपाली मौलिक लोकसंस्कृतिका निम्ती जीवन सर्मपण गरेको व्यक्तित्व हो । उहाँलाई कुनै खालको लोभलालच भएन । अरुको कुभलो सम्झने व्यक्ति उहाँ हुनुहुन्नथ्यो । समृद्ध समाजको परिकल्पना गर्ने मध्येका एक हुनुहुन्छ उहाँ ।

निस्वार्थ रुपमा संस्कृति जोगाउने प्रयत्नमा लाग्नुपर्छ भन्ने मान्यता भएका व्यक्ति हुनुहुन्छ उहाँ । मान्छेले समय चिन्नुपर्छ र इमानदार भएर काम गर्नुपर्छ भन्ने स्वभावका हुनुहुन्थ्यो । उहाँको निधनले नेपालको लोकसंस्कृति क्षेत्रलाई ठूलो धक्का पुगेको महशुष भएको छ ।

तमू धिं नेपालको पिलर ने ढलेको जस्तो आभाष भएको छ । लामो सोच विचार गरी संगठन रुपमा समेत प्रतिबद्ध एक सच्चा राष्ट्रप्रेमी नागरिकलाई हामीले गुमाएका छौं । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली ।

कृष्ण कुमार गुरुङ (चलचित्रकर्मी तथा संगीतकार)

कृष्ण कुमार गुरुङ

विगत ४० दशक देखि अभिराम संस्कृति र सम्पदाका लागि लागिपरेको व्यक्ति मेनकाजी गुरुङ हुनुहुन्छ । उहाँसँग विदेशमा पलायन हुने धेरै ठूलाठूला अवसरहरु थिए । तर कलाकार र संस्कृतिका लागि उहाँ पोखरामै सामान्य शिक्षकको जागिर गरेर बस्नुभयो ।

यसमै उहाँलाई सन्तोष मिल्यो । एक सच्चा सर्जक हामीले गुमाएका छौं । कलासंस्कृतिको पहिचानका लागि खटिएका एक योद्धा हामीबाट भौतिक रुपमा टाढा जानुभएको छ ।

 प्रदेश सँगै नेपालको संस्कृतिमा अपुर्णिय क्षति पुगेको छ । उहाँसँगसँगै धेरै ठूला सम्भावनाहरु पनि सँगै गएका छन् । कलासंस्कृतिको क्षेत्रमा काम गर्ने कलाकारहरुको मानसपटलमा जीवन रहेसम्म बिर्सन नहुने श्रष्टाको रुपमा मेनकाजीलाई सम्झन्छु ।

मनकुमार श्रेष्ठ (सदस्य सचिव, गण्डकी प्रज्ञा प्रतिष्ठान)

मनकुमार श्रेष्ठ

मेनकाजी गुरुङ एक निस्वार्थी भावको कलाकार हुनुहुन्थ्यो । उहाँले विशेष गरी नयाँ कलाकारलाई उर्जा थप्ने काम गर्नुभयो । कलाकारका समस्याको समाधानमा हरबखत खटिने व्यक्तित्व उहाँ हुनुहुन्थ्यो । पछिल्लो चरणमा हामीले सांस्कृतिक ग्रामको कुरा उठायौं । त्यो विषयमा अलि बढी जोडतोडका साथ लाग्ने पात्र मेनकाजी दाई हुनुहुन्छ । संस्थालाई समय सापेक्षित हिसाबले कसरी चलाउनुपर्छ भन्ने एक कुशल नेतृत्वको क्षमता भएका व्यक्तिका रुपमा पनि म उहाँलाई चिन्छु । घमण्ड नभएको, सबैलाई माया र सम्मान गर्ने, कलाप्रति विश्वास गर्ने, उर्जाशिल व्यक्ति हुनुहुन्थ्यो मेनकाजी ।

उमेरका हिसाबले म भन्दा धेरै सिनियर हुनुहुन्थ्यो उहाँ । तर हाम्रो सम्बन्ध साथीभाई जस्तो थियो । कतिपय सन्दर्भमा तँ तँ र म म पनि गथ्र्यौं । तर सम्मान गर्ने ठाउँमा दुवैले दुवैलाई गरिराखेका हुन्थ्यौं । दाईले मलाई भाइको नाताले तँ भाइ होस्, तेरो स्थान यो हो भनेर कहिल्यै भन्नुभएन । आफु पछाडी हटेर मलाई अगाडि बढाउन समेत उहाँको सहयोग रहयो । मेनकाजी दाईले हिमाली सांस्कृतिक परिवारलाई लिड गरेको देख्दा मलाई पनि उर्जा आउँथ्यो । खासगरी मैले मेनकाजी दाईलाई अभिभावक सँगै साथीको हिसाबले अनुभव गर्न पाए ।

सुरेन्द्र गुरुङ (प्राज्ञ सदस्य, गण्डकी प्रज्ञा प्रतिष्ठान तथा अध्यक्ष, नेपाल दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश)

सुरेन्द्र गुरुङ

निष्ठावान व्यक्तिका रुपमा मेनकाजी दाईलाई म चिन्छु । सरल स्वभावका मेनकाजी दाई बुढापाका देखि साना उमेरसमूहका भाइबहिनीहरुसँग पनि साथी जस्तो गरी कुरा गर्नुहुन्थ्यो । लिएका जिम्मेबारी पूरा गर्ने व्यक्ति हुनुहुन्थ्यो मेनकाजी । नेपाली मौलिक नृत्यलाई संरक्षण गर्ने एक सच्चा कलाकर्मी मेनकाजी दाई हुनुहुन्थ्यो । उहाँबाट धेरै कुरा सिक्ने अवसर मिलेको छ ।हिमाली सांस्कृतिक परिवारका संस्थापना कालदेखि अहिले सम्म निरन्तर खटिरहने व्यक्तिका रुपमा सम्झन्छु । दोहोरी गीत प्रतिष्ठानको सल्लाहकारका रुपमा हामीलाई उहाँले अभिभावकत्व प्रदान गर्नुभयो । गुरुङ कलाकार संघ गण्डकी प्रदेशको समेत सल्लाहकार रहेर उहाँले आवश्यक सुझाव प्रदान गर्नुभयो । दुवै संस्थाको म अध्यक्ष भएकाले पनि उहाँसँग अलिक बढी घुलमिल हुने गथ्र्यो ।

पारिवारिक रुपमा पनि हामी नजिक थियौं । एउटा दाइको माया मैले उहाँबाट पाए । २० दिन अघि मात्र भाउजूलाई गुमाउँदाको पीडा एकातर्फ थियो । आज फेरि दाइलाई गुमाउँदा मन भारी भएको छ । उहाँले धेरै ठूलो छाप नेपाली संस्कृतिको क्षेत्रमा छोडेर जानुभएको छ । उहाँका अधुरा सपना पूरा गर्नुपर्ने दायित्व हामीमाझ आएको छ । आज सिङ्गो देशले नेपाली सांस्कृतिक क्षेत्रका एक कर्मठ व्यक्तिलाई गुमाएको छ । उहाँप्रति मनैदेखि हार्दिक श्रद्धाञ्जली ।

इतु जोजिजु (प्राज्ञ सदस्य, गण्डकी प्रज्ञा प्रतिष्ठान तथा अध्यक्ष, हार्मोनी )

इतु जोजिजू

मेनकाजी दाई मेरो अभिभावक हुनुहुन्थ्यो । हरेक सुखदुखमा उहाँको सहयोग अतुलनिय रहयो । सेन्डमेरिज स्कुलमा हामी सँगै काम गथ्र्यौं । उहाँले नै मलाई आबद्ध गराउनुभयो । स्कुलका गतिविधि देखि संस्थागत गतिविधिसम्म मैले उहाँको अभिभावकत्व ग्रहण गर्न पाए । सच्चा लोकसंस्कृति कर्मीको रुपमा परिचित गराउन चाहन्छु । कर्मठ व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।

आँटेका र ताकेका कुरा पूरा गर्ने स्वभाव थियो उहाँको । हार्मोनी संस्थाको स्थापना भएदेखि नै उहाँको सल्लाहले उर्जा मिल्थ्यो । हिमाली सांस्कृतिक परिवारमा समेत आबद्ध भएपछि नेतृत्वको दायित्वबोधका विषयमा मैले उहाँबाट सिके । आज परिवारकै एक सदस्य गुमाएका छु । साह्रै दुख लागेको छ । उहाँका धेरै इच्छा, चाहना, सपना भौतिक शरीर सँगै गएका छन् । सच्चा र संस्कृति प्रेमी कर्मीलाई गुमाउँदा देशनै मर्माहत भएको अनुभुति भइरहेको छ । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली ।

कमेन्ट्स
Loading...