काठमाडौं :
दर्शकमाझ लोकप्रिय रहेको हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका लेखान्त भुषाल र रमेश बुढामगरले छाडेका छन्। मेरी बास्से टिमसँग मनमुटाव भएपछि सिरियल छाडेका हुन्। उनीहरुले मेरी बास्सै छाडेपछि नयाँ सिरियल ल्याउने तयारीमा जुटेका छन्।
मेरी बास्सैबाट छुट्टिएपछि उनीहरुले नयाँ टिम बनाएर सामाजिक कथामा आधारित भाविको ‘लेखान्त’ नामक सिरिज निर्माण गरेका हुन् । बिहिबार काठमाडौंमा आयोजित प्रोमो सार्वजनिक कार्यक्रममा आगामी जेठ १४ गते आइतवार बेलुका ५ः४५ बाट लेखान्त अफिसियल युट्युबमार्फत प्रशारण हुने जानकारी गराइयो । यस सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने निर्माण टिमले जानकारी गराइयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भाविको लेखान्तलाई शुभकामना दिए । उनले पछिल्लो समय सिरिजबाट पनि दर्शकले निकै मनोरन्जन लिन थालेको र चलचित्रमा अभिनय गर्ने कलाकारहरु पनि सिरिजमा व्यस्त भएको देख्दा खुसी लागेको बताए ।
सिरिज निर्माणमा मुख्य सहयोगीको भुमिकामा रहेको हाउजर पेनका बागमती अञ्चल वितरक भुवन के पोखरेलले लोकप्रिय कलाकारहरु रहेको र सामाजिक कथामा निर्माण भएको भाविको लेखान्त सिरिजमा जोडिन पाउँदा खुसी व्यक्तm गरे ।
कार्यक्रममा कलाकार तथा निर्देशक दमन रुपाखेती, बेगम नेपाली, इन्द्रदोङ लामा, सुनिता गौतम, सुमन न्यौपाने,दीपक आचार्य, गोविन्द्र कोइराला, पत्रकार डब्बु क्षेत्री लगायतले सिरिजको सफलताका लागि शुभकामना व्यक्त गरे ।
चलचित्र पत्रकार गोपिकृष्ण चापागाईँले शहजिकरण गरेको कार्यक्रममा रेडियो नेपालको नाटक शाखाका पुर्व निर्देशक आर जे सिंह, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, पत्रकार तुल्सी गिरीको लगायतको उपस्थित रहेको थियो ।
सिरिजका निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भिडमा आफुहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे । त्यस्तै, निर्माता लेखान्त भुषालले आफुलाई मेरी बास्सै सिरियलमा जस्तै दर्शकले माया दिनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा बिशिष्ट अतिथि दमन रुपाखेतीले मिडिया हवबाट सन्चालित मेरि बास्सैका धेरै कार्यक्रमा बाहिरिएर आ-आफ्नो तरिकाले सिरिज निर्माण गरिरहेको र सफल भइरहेको बताए । उनले मिडिया हवले कलाकारहरुसँग सम्बन्ध राख्न नजानेको आरोप लगाए । उनले आफू पनि पछिल्लो समय दुईपटक पुनः जोडिएको तर निरन्तर काम गर्ने अवस्था नबनेको बताए ।
