काठमाडौं ।
बार्सिलोनाले फेरेंकभारोसमाथि ३–० को सहज जीत हासिल गर्दै च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ ।
समूह जीको अन्तिम खेलमा युभेन्टसविरुद्ध बराबरी मात्र गरे बार्सिलोना समूहको शीर्ष स्थानमा कायम रहनेछ ।
आइतबार ओसासुनाविरुद्धको खेलमा सहभागी टोलीमा म्यानेजर रोनाल्ड कोम्यानले ५ वटा परिवर्तन गरेका थिए । कप्तान लियोनेल मेस्सीलाई पनि आराम दिइएको थियो ।
तर, मेस्सीलाई कसैले ‘मिस’ भने गरेनन् । खेलको शुरुवाती २८ मिनेटमा नै ३ गोल गर्दै बार्सिलोनाले जीत सुनिश्चित गर्यो । एन्टोनी ग्रिजमानले गोल बार्सालाई अग्रता दिलाए भने ६ मिनेटपछि मार्टिन ब्राथवेटले अग्रता दोब्बर बनाए । २८ औँ मिनेटमा फ्रेन्च विंगर ओसमान डेम्बेलेले तेस्रो गोल गर्दै टोलीलाई जीत दिलाए ।
समूह जीमा बार्सिलोनाको १५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युभेन्टसको १२ अंक रहेको छ । एजेन्सीको सहयोगमा
