सुचना, समाचार र मनोरन्जन

पोखराका संगीत गुरु ‘नवराज’ : जसले धेरै कलाकार चम्काए

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल

पोखरा / 

कुनै समय थियो जतिबेला उनी संगीतकै कारण डिप्रेसनमा परे । आज त्यही संगीत उनका लागि बाँच्ने आधार बनेको छ । संगीतलाई निरन्तरता दिँदै परिवारसहित रमाइरहेका छन् । पोखराको सांगीतिक क्षेत्रले बिर्सिनै नहुने नाम हो नवराज बराल । पोखरामा उनी ‘गुरु’को नामले परिचित छन् । स्थायी घर साबिकको पुम्दी भुम्दी गाविस ४, उकाला कास्की । हालको पोखरा महानगरपालिका पुम्दीभुम्दी— २२ ।

वि.सं २०२८ आश्विन ९ गते उनको जन्म भयो । आमा गंगादेवी बराल र बुबा चुडामणी बरालको माइलो सन्तान । एक दिदी, तीन दाजुभाई मध्ये । संगीत क्षेत्रमा परिवारमा सक्रिय रुपमा लागेका बराल मात्रै हुन् । कारण हो उनको अडीगता । समस्या र चुनौतीलाई छिचोल्दै आएका बराल बाल्यकालबाटै संगीतमा रुची राख्थे । ५/६ वर्षको उमेरदेखिनै संगीतप्रति उनको लगाव थियो । आज त्यही मोहले गुरु सहित संगीतकारको परिचय थपेको छ ।

समयले उनलाई धेरै कुराको अनुभव गराएको छ । खासगरी सांगीतिक क्षेत्रमा ।

दुर्घटनाबाट जोगिंदै उनको बाल्यकाल बित्यो । अलिक बुझ्ने भएपछि उनलाई रेडियो सुन्ने उनलाई इच्छा जाग्यो । गाउँमा रेडियो एक घरमा मात्रै थियो । प्राय बरालको बास त्यहीं हुने गथ्र्यो । त्यतिबेला उनलाई रेडियोमा मान्छे कसरी बोल्छ ? भन्ने जिज्ञासा जाग्थ्यो । अहिले रेडियोमै उनका गीत घन्किन थालेका छन् ।

आफ्नो सांगीतिक करियरको पछिल्लो समयसम्म ७ सय भन्दा बढी गीत रेकर्ड गराइसकेका बराल त्यतिबेला लोकगीतका पारखी थिए । उनको सांगीतिक यात्रा समेत लोकगीतबाट सुरु भयो । स्कुलमा एक शुक्रवार भएको अतिरिक्त क्रियाकलाप अन्तरगतको एउटा कार्यक्रममा ‘ताल ताल बैदामे ताल बहुदल छोडी निर्दलमा भोट हाल…’ गीत गाउँदा उनले २ रुपैयाँ पुरस्कार समेत पाए । यो उनका लागि गीत गाएबापतको पहिलो पुरस्कार थियो । जसले हौसला थप्यो ।

बरालले कक्षा ५ सम्म महेश्वरी प्रा.वि.मा पढे । त्यसपछि कक्षा ८ सम्मको अध्ययन शुक्रराज माविमा भयो । बरालको एसएलसी जनप्रिय उच्च माध्यामिक विद्यालयबाट भएको हो ।

गीतकार संगीतकारको रुपमा परिचय बनाउँछु भन्ने उनमा सोंच थिएन । समयलाई भोग्दै जाँदा पाएको परिचय हो । ४ कक्षा पढदादेखिनै रेडियो नेपालको बाल कार्यक्रममा गीत कविताहरु पठाउँथे । रेडियोबाट आफुले लेखेको कविता वाचन गरेको सुन्दा बराल खुशीले हर्षित हुन्थे ।

बरालकी आमा बिहान बेलुका घाँस दाउरा गर्दा गाउने गर्थिन् । आमाकै प्रभावले उनी गीतसंगीतमा लागे । गाईगोरु चराउन बनमा लैजाँदा रुखमा चढेर गाउने मध्ये बराल पर्छन । आमाले बजारबाट ल्याएको मुरलीबाट ‘बेनीको बजार…’ धुन निस्कँदा बरालले तारिफ पाउँथे । बाध्यबादनमा उनका लागि पहिलो बाजा थियो मुरली ।

गाउँमा छँदा हाल बेल्जियममा भएका मीनबहादुरले उनलाई हौसला प्रदान गरे । गाउँमा भजन कार्यक्रम अक्सर हुने । गाउनका लागि मीनबहादुरको रोजाइमा बराल पर्थे । तत्कालिन समयमा लोकगीत र आधुनिक गीत हाबी थियो । शास्त्रीय संगीतले ठाँउ पाइसकेको थिएन ।

गाउँमा सांगीतिक कार्यक्रमहरु हुदैन्थ्यो । जति हुन्थ्यो स्कुलमा हुन्थ्यो । आमा र रेडियोको प्रभावले संगीतकार बने बराल । संगीतप्रतिको लगावले पढाइमा डिस्टर्ब गर्यो । पृथ्वीनारायण क्याम्पसमा स्नातक अध्ययन गर्दागर्दै उनले पढाई बिचमा छाड्नुपर्यो । २०५१ सालबाट बरालले पोखराका कल्चर रेष्टुरेण्टमा काम सुरु गरे । यो क्रम उनको १० वर्ष चल्यो ।

बराल एक वर्ष काठमाडौं समेत बसे । रेडियो नेपालका कार्यक्रममा उनको सहभागिता रहन्थ्यो । औपचारिक संगीत शिक्षा पोखरामा लाक्पा लामासँग लिएका बरालले काठमाडौंमा समेत थप शिक्षा लिए । जस्ले उनलाई निखार्यो ।

पोखराका बाहिरी कार्यक्रमहरुमा त्यतिबेला उनले अवसर कमै पाए । स्कुलमा मात्रै सिमित रहेका बरालले बाहिरी कार्यक्रमको लागि संघर्ष थुप्रै गर्नुपर्यो । काठमाडौंमा बरालको बाजागाजा सहितको सामान चोरी भएपछि उनी पोखरा फर्किए । पोखरामै बसेर केही गर्ने अठोट लिएका बराललाई त्यतिबेला पत्याउन गाह्रो थियो । उनी जागिरको ढोका ढकढक्याउन पोखराका हरेक कल्चर रेष्टुरेन्ट धाए । अन्तत ड्रागन होटलबाट उनको कल्चरल गायनको सुरुवात भयो ।

पोखरामा बरालको संगीत प्रशिक्षणको यात्रा पुम्दिभुम्दिबाटै सुरु भयो । परिवारलाई अनुरोध गरेर हार्मोनियम लिएर गाउँमै एक दुईजनालाई प्रशिक्षण गराउन थाले ।

वि.सं २०५१ सालमा बराल वैवाहिक जीवनमा बाँधिए । त्यतिबेला उनी संघर्षको दौडानमा थिए । संगीतमा लागेर बाँच्ने आधार अहिले जस्तो भइसकेको थिएन । कामका लागि धेरै भांैतारिए । केही नलागेपछि गाउँमै फर्किन बाध्य भए । पछि एउटा राम्रो अफर पाए । १ हजार तलब सहित उनको संगीत यात्राले औपचारिकता पायो । जब बराल कमाउने भए । विडम्बना भन्नुपर्छ जस्को प्रभावले उनी संगीत क्षेत्रमा लागेका थिए उसलाईनै पहिलो पारिश्रमिक थमाउन सकेनन् । बिरामी आमाको स्वर्गबास भयो ।

पोखरामा बरालले होटल ड्रागनबाटै संगीत पढाउन थाले । पहिलो विद्यार्थी कृष्ण पौडेल थिए । बिहान कलेज, दिउँसो क्लास, बेलुका कल्चर हुँदै बरालको व्यस्तता बढ्न थाल्यो । कलेज पढ्दाताका पनि बराल सांस्कृतिक विभागको नेतृत्व गर्थे । उनको समुहमा अहिलेका चर्चित गायक संगीतकार बिबि अनुरागी, बसन्त साप्कोटा, हर्क राई, प्रेमनारायण न्यौपाने समेत थिए । बरालले संगीत बाहेक अरुक्षेत्र रोजेनन् । उनलाई विश्वास थियो काम गर्दै जाँदा सफल अवश्य भइन्छ भन्ने ।

नेपालका प्राय ठाउँमा बराल सांगीतिक कार्यक्रमका लागि पुगेका छन् । बाल्यकालदेखिनै उनको सिर्जनामा लगाव उस्तै थियो । गीत आँफै बनाउने संगीत भर्ने र गाउने गर्थे । पहिलो गीत उनको ‘सेती तिरैतिर…’ रेकर्ड भयो । सम्झनाले मनै जलायो एल्बममा उनको स्वर सुन्न सकिन्छ । हालसम्म ३ सय गीत उनकै सिर्जना र संगीतमा रेकर्ड भएका छन् । तिमध्ये केही आउन बाँकी छन् । २०५९ सालमा कल्चर छोडेपछि संगीत प्रशिक्षणनै बरालका लागि जीवन गुजारा गर्ने माध्यम बन्यो । सयपत्री संगीत प्रशिक्षण केन्द्रको स्थापना गरे । तबला बादक श्यामलाल श्रेष्ठले सयपत्रीलाई आफ्नो नाममा दर्ता गरे । आफैले खोलेको संस्था श्रेष्ठलाई सुम्पेर बरालले त्रिबेणी संगीतालयको स्थापना गरे ।

सांगीतिक क्षेत्रमा थुप्रै उतारचढाव भोगेका बराल बिचमा काठमाडौं गएका थिए । काठमाडौंले उनलाई थाम्न सकेन र पोखरा फर्किए । ८ हजार भन्दा बढी विद्यार्थीलाई उनले प्रशिक्षण दिएका छन् । उनले सिकाएका कतिपय विद्यार्थी राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याती कमाएका छन् । ‘पोखरा तेरो लागि होइन तँ जस्तो मान्छे काठमाडौं जानुपर्छ’ भन्नेहरुको जमात बाक्लै थियो । पोखरामा केही गर्छु भन्ने विश्वासका साथ बसेका बरालले पोखरा आफ्नो बनाएरै छाडे । आज उनलाई नचिन्ने सायदै होलान् ।

पोखराले उनलाई गुरुको सम्मान दियो । संगीत नसिक्नेहरुले पनि बराललाई गुरुको सम्मान दिएर बोलाउने गर्छन । लोकगीत, सालैजो, बालगीत, तीज गीत, सुगम गीतमा उनको दख्खलता छ । कृषि गीतहरु समेत उनले सिर्जना गरेका छन् । राष्ट्रभक्तिदेखि भजन गीत संगीतमा समेत उनको निखारता पाउन सकिन्छ । बरालको ‘नेपाल आमा’ एल्बमले राम्रो सफलता पायो ।

बराल भन्छन्, ‘पोखरामा एक समय पप संगीतको बाढी थियो । टोलटोलमा ब्याण्ड थिए । ब्याण्डको राजधानीको रुपमा समेत परिचित थियो पोखरा । विस्तारै राम्रो प्रतिभा भएका कलाकारहरु काठमाडौं जान थाले । पछिल्लो समय पोखराको सांगीतिक क्षेत्र पछाडी परेको जस्तो लाग्छ । लोकदोहोरी क्षेत्रमा राम्रो छ । तर सिकाईको अभाव देखिन्छ । सिक्न चाहाने कमै छन् । संगीत संगत हो । साधना गर्ने कलाकारको अभाव छ पोखरामा ।’

उनका अनुसार ‘वाह’ भन्ने संगीत पोखराको छैन । प्रकृति राम्रो भएको पोखरामा साधना कम भएको बराल बताउँछन् । पोखराको संगीतले केन्द्रदेखि अन्तर्राष्ट्रिय संगीतसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको धारणा छ । संघर्षले सिर्जनामा सहयोग पुर्याउने हुँदा संगीत साधनामा लाग्न अनुजलाई उनको सल्लाह छ । बराल भन्छन्, ‘संगीतको सही मूल्यांकन भइदिए हुन्थ्यो । काम गरेका मान्छेहरुको सही मूल्यांकन भइदिए हुन्थ्यो । सरकारले यसप्रति चासो दिएको छैन । बलेको आगो ताप्ने प्रवृति छ । हामी आगो बाल्ने कोसिस गरिरहेका छौं ।’

बरालको परिवारमानै सांगीतिक माहोल छ । दुई छोरा एक छोरीका बाबु हुन् बराल । छोरा सुनिल संगीतमै भिजेका छन् । बरालले संघर्षका बेला परिवारलाई संगीतको विषयमा बुझाउन गाह्रो भयो । संगीतबाट दुईचार पैसा आउन थालेपछि परिवारलाई सम्झाउन सहज भयो । बराल आज जहाँ छन् संघर्ष सँगै परिवारको साथ र सहयोगले छन् ।

बरालले पहिलो सम्मान २०६६ मा पाए । जोजिजू म्युजिक सेन्टरले विश्व संगीत दिवसका अवसरमा गरिएको सम्मान थियो । ०६७ मा सोम बज्राचार्य स्मृति पुरस्कार पाए । बरालले नगद पाएको पहिलो पुरस्कार थियो । पहिलो सिर्जना सामाजिक पुरस्कार २०६८ मा पाए । काठमाडौंमा कृषि गीतबाट सम्मानित भए । तराना म्युजिक सेन्टरले समेत सम्मानित गर्यो । २०७२ सालमा रेडियो नेपालबाट उत्कृष्ट संगीतकार घोषित भए । पोखराको रेडियो अन्नपूर्णबाट संगीत प्रतिभा पुरस्कारबाट सम्मानित समेत भइसकेका बराल अरु थुप्रै वाङमयिक संस्थाबाट सम्मानित भइसकेका छन् । पोखराका दर्जन भन्दा बढी संघसंस्थामा उनको आबद्धता छ ।

उनले चम्काएका कलाकार मध्ये बसन्त सापकोटा, बिबि अनुरागी, धर्मेन्द्र सेवान, दुर्गा परियार, सिडि विजय अधिकारी, विक्रम बराल, बुद्द लामा, नरजंग गुरुङ लगायत अहिले पोखरा र नेपालमा चर्चामा छन् । नयाँ कलाकारलाई चम्काउने काममा बराल आज पनि सकृय छन् । न्युरोडको त्रिबेणी संगीतालयमा ‘सारेगम’का धुन गुञ्जाउदै सुर लगाउन बराल कहाँ धाउनेहरुको जमात आज पनि बाक्लै छ । बरालले अहिले आफ्नै निवास छोरेपाटनबाट समेत संगीत प्रशिक्षण गराउँछन् ।

कमेन्ट्स
Loading...