सुचना, समाचार र मनोरन्जन

नेपाल भाषामा पाठ्यक्रम तयार गर्दै काठमाडौं महानगर

  •  
  •  
  •  
  •  

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई नेपाल भाषामा पठनपाठन गराउनका लागि पाठ्यक्रम तयार गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकामा निजी र सरकारी गरी करिब ५ सय विद्यालय छन्। स्थानीय भाषाका रूपमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई अनिवार्य रूपमा नेपाल भाषा पढाइन लागिएको हो।

महानगरपालिकाले केही महिनाअघि नै नेपाल भाषा पढाउन तयारी गरेको थियो। महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले यसका लागि शिक्षक तालिम, किताब प्रकाशन लगायत तयारी भइरहेको बताइन् ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको राष्ट्रिय पाठ्यक्रममै भनिएको छ स्थानीय सरकारले मातृभाषामा एउटा विषय प्रस्तुत गर्न सक्छन्। यसै आधारमा सबै नगरपालिकाले आ–आफ्नो ठाउँमा स्थानीय भाषा प्रयोगमा ल्याइरहेको भाषाविज्ञ एवम् स्थानीय पाठ्यक्रम समिति संयोजक डा. चुन्दा बज्राचार्यले बताइन् ।

‘पाठ्यक्रमअन्तर्गत भाषा मात्रै पढाउन खोजिएको होइन। स्थानीय भाषाको माध्यमबाट स्थानीय रहनसहन, संस्कृति, पर्व, व्यवसाय, खेलकुद आदिको ज्ञान दिने हो,’ उनले भनिन्, ‘स्थानीय मातृभाषा सिक्यो भने आफू बसिरहेको समाज बुझ्न सजिलो होस् भन्ने हिसाबले पाठ्यक्रम निर्माण गरेका छौं।’

चुन्दाका अनुसार पाठ्यक्रम कुनै पनि विद्यार्थी फेल नहोस् भन्ने हेतुले बनाइएको छ। कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई शतप्रतिशत प्रयोगात्मक परीक्षा लिइन्छ। चारदेखि ५ कक्षालाई ७५ प्रतिशत व्यवहारिक र २५ प्रतिशत लिखित परीक्षा हुन्छ। ६, ७, ८ लाई भने ५०–५० प्रतिशत व्यवहारिक र लिखित परीक्षा हुनेछ।

कमेन्ट्स
Loading...