प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री भएको ३ महिनापछि देउवा पहिलो पटक सुदूरपश्चिम र गृहजिल्ला पुग्दैछन् । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर वलायर पनि सहभागी छन् ।
देउवाले बिहीबार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा क्षतिको विवरण बुझेर शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम नै बस्ने कार्यक्रम छ। बाढी, पहिरो र डुवान क्षेत्रको निरीक्षण गरेपछि प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ। गत शनिबारदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा जनधनको क्षति पुर्याएको छ।
वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् ।
अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए ।
विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आज भने मौसममा सुधार आएको छ ।
