सुचना, समाचार र मनोरन्जन

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित जीत, हारेपनि विराटको प्रशंसा [हेर्नुहोस् तस्बिरहरू]

  •  
  •  
  •  
  •  

अहिले युएईमा आइसिसी टी-२० विश्वकप प्रतियोगिता भइरहेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले चीर प्रतिद्वन्द्वी भारतलाई हराएको छ। भारतमाथि पाकिस्तानले १० विकेटको रवाफिलो जित हात पारेको हो।

भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो। पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

यो जित पाकिस्तानका लागि नयाँ इतिहास हो किनकी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो। यसअघि भारतविरूद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका सबै १२ खेलमा पाकिस्तान पराजित भएको थियो।

ओपनर रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ७९ रन बनाए भने कप्तान आजमले पनि ६८ रन बनाउँदै उनलाई राम्रो साथ दिए । ५२ बलको पारीमा आजमले पनि ६ चौका र २ छक्का हिर्काएका थिए । दुवै ब्याट्सम्यान सामु भारतका सबै बलर निरीह देखिए । खेल सकिन १३ बल अघि नै पाकिस्तानले लक्ष्य सफलता पूर्वक पछ्याउन सफल रह्यो ।

यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए ।

भारतले खेलमा निकै शुरुवात भने निकै खराब गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।

त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।

भारत र पाकिस्तान दुबै क्रिकेट लोकप्रिय रहेका राष्ट्र हुन्। राजनीति रूपमा सम्बन्ध सुमधुर नरहेका दुबै देशका समर्थकलाई क्रिकेटमा एक अर्कालाई हराउनु पनि युद्ध जितेजस्तै लाग्छ। सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि भारतमाथि जित हात पारेको हो।

उत्कृष्ट खेल भावना देखाएको भन्दै भारतीय कप्तान विराटको प्रशंसा :

आइतबार पाकिस्तानले भारतलाई हराएपछि भारतीय कप्तान विराट कोहलीले देखाएको व्यवहारले भने अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ।  आफ्नो टिमले हारेपछि भारतीय कप्तान कोहलीले पाकिस्तानी खेलाडीलाई भेट्छन्, बधाई दिन्छन् र अँगालो हाल्छन्।

विराटले पाकिस्तानका ओपनर मोहमद रिजवानलाई अँगालो हालेको तस्बिरले धेरैको मन छोएको छ। इएसपिएनक्रिकइन्फोले उक्त तस्बिरलाई आफ्नो ट्वीटरमा नयाँ कभर पिक्चर बनाएको छ। कोहलीले पाकिस्तानका कप्तान तथा अर्का ओपनर बाबर आजामलाई पनि बधाई दिएका थिए।

आफ्नो टिमलाई जिताउन नसके पनि विराटले उत्कृष्ट खेल भावना देखाएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको प्रशंसासमेत गरेका छन्।

यसअघि भारत र पाकिस्तानबीचको  विश्वकपको नतिजा :

टी-२० विश्वकप 
२००७ – भारतद्वारा पाकिस्तान बलआउट (खेल बराबरी भएको) मा पराजित 
२००७ – भारतद्वारा पाकिस्तान ५ रनले पराजित (फाइनल)
२०१२ – भारतद्वारा पाकिस्तान ८ विकेटले पराजित 
२०१४ – भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित 
२०१६ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित 

एकदिवसीय विश्वकप 
१९९२ – भारतद्वारा पाकिस्तान ४३ रनले पराजित 
१९९६ – भारतद्वारा पाकिस्तान ३९ रनले पराजित 
१९९९ – भारतद्वारा पाकिस्तान ४७ रनले पराजित 
२००३ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित 
२०११ – भारतद्वारा पाकिस्तान २७ रनले पराजित 
२०१५ – भारतद्वारा पाकिस्तान ७६ रनले पराजित 
२०१९ – भारतद्वारा पाकिस्तान ८९ रनले पराजित 

हेर्नुहोस् तस्बिरहरू :

 

 

कमेन्ट्स
Loading...