सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरमा कर्मचारीबीच टकराव: कामै रोक्ने चेतावनी

  •  
  •  
  •  
  •  

पोखरा महानगरमा लेखा प्रमुख र वरिष्ठ कानुन अधिकृतबीच टकराव भएको छ । ३ कात्तिकमा प्रमुख प्रशासकीय अधिकृत महेश बरालको कार्यकक्षमा दुवैजनाबीच भनाभन भएको थियो । उक्त घटनाले कानुनी बाटो खोजेको छ । दुवैजनाले महानगरमा निवेदन दिएर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

लेखा प्रमुख जयराम पौडेल र कानुन अधिकृत नारायण शर्माले आफूलाई सुरक्षा चुनौती बढेको गुनासोसहित निवेदन दिएका हुन् । ‘दुवै पक्षले निवेदन दिएका छन् । यसबारे कार्यवहाक मेयरसँग बसेर कुरा गर्नै बाँकी छ,’ महानगरका सूचना अधिकारी भरतराज पौडेलले भने, ‘घटना धेरै अघि बढिसक्यो । महानगरमा भएको कुरा भित्रै मिलाउनुपर्ने हो । हामी त्यही गर्दै छौं ।’

लेखाप्रमुख पौडेलले आफूलाई ज्यानमार्ने धम्की आएको आरोपमा शर्मालाई निलम्बनको माग गरेका छन् । ‘कर्मचारीलाई सिध्याइदिन्छु भन्दै धम्की दिने कार्यको घोर भर्त्सना गर्दै तत्कालै दोषीलाई कारबाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने छौं,’ उनले बुझाएको पत्रमा भनिएको छ ।

दोषीलाई कारबाही माग गर्दै आर्थिक प्रशासन तर्फका १२ कर्मचारीले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएका हुन् । कानुन व्यवसायी कमलप्रसाद अर्याललाई भुक्तानी दिइएको विषयमा छलफल हुँदा शर्माले मर्यादा विपरित विषय उठाएको आरोप पौडेलको छ ।

महालेखा परीक्षकले पनि अर्याललाई दिइएको भुक्तानी बेरुजु लेखेको छ । पौडेलले निरन्तर बेरुजु आएपछि भुक्तानी दिन गाह्रो पर्ने बताएका थिए । महालेखा परीक्षकको कार्यालयबाट पाँच लाख सात हजार असुल गर्नुपर्ने बेरुजु औंल्याइएको र चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग आएकोले त्यसबारे छलफल भएको थियो ।

‘सुरुमा नारायण सरको गल्ती छ । भनाभन हुन थालेपछि दुवै पक्षले मुखमा आएको बोल्नुभएको हो,’ एक कर्मचारीले भने, ‘उपमेयरज्युले यो विषयमा टुंगो लगाउनुपर्छ । नत्र यसले ठूलो रूप लिन सक्छ ।’

पौडेलले यसअघि घाट ठेक्काको मुद्दासमेत बाहिर ल्याएका थिए । महानगरभित्रकै कर्मचारीको सेटिङमा ठेक्का दिने र महानगरलाई नोक्सानी बढेको एकाथरी कर्मचारीको आरोप छ । ‘मन माझिएको हिसावले लिएको थिएँ । घटना अलिमाथि पुगिसकेछ’, महेश बरालले भने, ‘घरभित्रको कुरा मिलिहाल्छ । सकेसम्म आजै बस्छौं ।’ यस विषयमा बुझ्न खोज्दा शर्मासँग सम्पर्क भएन । पौडेलले जिल्ला प्रहरी र जिल्ला प्रशासनमा समेत मौखिक जानकारी गराउनु भएकाे बताइएकाे छ ।

कमेन्ट्स
Loading...