सुचना, समाचार र मनोरन्जन

अस्पताल भर्ना भएका बच्चालाई कथा सुनाउँदा चाँडै निको

  •  
  •  
  •  
  •  

अभिभावक, शिक्षक र रेखदेखकर्ताले बच्चालाई कथावाचनको जादूबाट शान्त र सौम्य पार्न सकिन्छ भन्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । अस्पताल भर्ना भएका बालबालिकामा अनुसन्धानात्मक काम गरिरहेका अनुसन्धाताले एकदमै उत्कृष्ट ढंगले वाचन गरिएको कथाले बच्चाको शारीरिक र संवेगात्मक विकासमा मद्दत पुग्ने स्पष्ट पारेका छन् ।

‘हामीलाई थाहा छ कि कथावाचनमा यस्तो शक्ति हुन्छ, जसले हरेक व्यक्तिलाई अर्कै संसारमा लैजान्छ,’ अनुसन्धाता गुइलहर्मे ब्रोकिङटन भन्नुहुन्छ । ब्रोकिङटन ब्राजिलको साओ पाउलोस्थित फेडेरल युनिभर्सिटी अफ एबीसीमा मानसिक संवेग र सिकाइबारे अध्ययन गर्नुहुन्छ । उहाँ नेसनल एकेडेमी अफ साइन्सेज, अमेरिकाको जर्नलमा प्रकाशित नयाँ लेखका सहलेखक पनि हुनुहुन्छ । यसअघिका रिसर्चले के सुझाव दिएका छन् भने कथाले बालबालिकालाई उनीहरुको संवेगलाई प्रणालीमा लैजान तथा नियमन गर्न मद्दत पुग्छ । यद्यपि, यो रिसर्च कार्यात्मक एमआरआइ मेसिनभित्र रहेका बेला विभिन्न सवाल सोधपुछ गरेर प्रयोगशालामै सञ्चालन गरिएको थियो । ‘अस्पतालको परिवेशमा स्टोरी टेलिङको शारीरिक र संवेगात्मक प्रभावबारे थोरै मात्र अध्ययन भएका छन्,’ ब्रोकिङटन भन्नुहुन्छ।

अनुसन्धाताले ब्राजिलका विभिन्न अस्पतालमा रहेका ४ देखि ११ वर्षसम्मका बिरामी बालबालिकालाई दुई समूहका बाँडेका थिए, जसअनुसार कम्तीमा एक दशक अनुभव भएका कथावाचकलाई बिरामीका लागि खटाइएको थियो । कथावाचकले एउटा समूहमा हरेक बच्चालाई ‘पज्जल’ खेल खेलाए भने अर्को खेलमा बालबालिकाले किताब छनोट गरे र त्यसअनुसार कथावाचकले ठूलो स्वरमा वाचन गरेको किताबका कथाहरु सुने । यो अनुसन्धान गर्नुभन्दा पहिले र पछि प्रत्येक बालबालिकाबाट परीक्षणका लागि र्याल (सालिभा) को नमुना लिइएको थियो, त्यसपछि उनीहरुलाई दुखाइको अवस्था कस्तो छ भनी सोध्नुका साथै ‘वर्ड क्वीज’ सञ्चालन गरिएको थियो।

कथाश्रवण र पज्जल खेलबाट दुवै समूहमा रहेका बालबालिका उल्लेखनीयरुपमा यस अर्थमा लाभान्वित भए कि उनीहरुको र्याल (सालिभा) परीक्षणबाट उनीहरुमा तनाव उत्पन्न गर्ने हर्मोन ‘कोर्टिसोल’ घटेको पाइयो।

यसैगरी, ती बालबालिकामा ‘अक्सिटोसिन’को मात्रा बढेको पाइयो, जसलाई प्रायःजसो मानिसमा सहानुभूति बढाउने राम्रो हर्मोनका रुपमा लिने गरिन्छ । दुईवटा समूहमध्ये कथा सुन्ने समूहमा रहेका बच्चाहरुमा विशेष रुपले उनीहरुको ‘कार्टिसेल’ लेभल अर्को समूहमा पज्जल खेल्ने बच्चाहरुको भन्दा एक चौथाइले कम भएको पाइयो । त्यसैगरी, कथा सुन्ने बच्चाहरुको ‘अक्सिटोसिन’ लेभल अर्को समूहभन्दा दुई गुणा बढी रहेको भेटियो । कथा सुन्ने बच्चाहरुले उनीहरुको दुखाइको लेभल पज्जल खेल्ने बच्चाहरुभन्दा दुई गुणाले कम भएको बताए र उनीहरुले अस्पतालको बसाइको अनुभवबारे ज्यादै सकारात्मक शब्दहरु प्रयोग गरे।

यो अध्ययनले के देखाउँछ भने खेल खेल्दा वा सामान्यतः कोहीसँग अन्तअन्तर्क्रिया गर्दा बच्चाले आनन्द महसुस गर्नुका साथै उनीहरुको हेराइ बदलिन्छ तर कथा सुनेपछि भने उनीहरुमा नाटकीय प्रभाव र परिवर्तन देखिन्छ । ‘अनुसन्धाताले साँच्चिकै कथावाचकको सामाजिक अन्तर्क्रियाको पक्षलाई नियन्त्रणमा राख्न कोसिस गरे, जुन मेरो विचारमा मुख्य पक्ष थियो,’ कथा सुनाइबाट परेको प्रभावबारे योर्क विश्वविद्यालय, क्यानडाका मनोविज्ञ रेमन्ड मार भन्नुहुन्छ । उहाँ यो अनुसन्धानमा भने संलग्न हुनुभएकाे थिएन।

आउँदा दिनमा अनुसन्धाताले यसको प्रभाव कति अवधिसम्म रहन्छ भन्नेबारे अनुसन्धान गर्ने योजना बनाएका छन् । क्यान्सरजस्तो निश्चित रोग भएका बच्चामा कथा सुन्दा हुने सम्भावित फाइदाबारे पनि अध्ययन गर्ने मनोविज्ञको योजना छ । मारको अनुभवमा विभिन्न समस्या भएका व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउन कथा सुनाउने विधि न्युन खर्चमा अत्यधिक प्रभावकारी देखिन्छ । ‘यो ज्यादै आशाजनक र परिणाममुखी छ,’ उहाँ भन्नुहुन्छ, ‘सम्भवतः यो सामान्यीकरण योग्य पनि छ।’

(साइन्टिफिक अमेरिकनलगायत विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री )

कमेन्ट्स
Loading...