सुचना, समाचार र मनोरन्जन

एन्फासँग नयाँ सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ।

‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका छन् । अलमुताइरीले दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् ।

‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ’, साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक नेपाललाई फाइनल पुर्‍याएका अब्दुल्लाहले भनेका छन् ।

नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनलअघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन् । यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ । तर अलमुताइरीले भने पटकपटक नेपाल छाड्ने बताएका थिए ।

नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने एन्फाको भनाइ छ। एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।

कमेन्ट्स
Loading...