पोखरा /
नेकपा एमालेको दशौं अधिवेसन संघारमा छ । अहिले पालिका अधिवेसन करिव सकिने चरणमा छ । देशकै ठूलो महानगर पोखरामा निकै मुश्किलका साथ नेतृत्व चयन गरिएको छ । ५ जना आकांक्षीबाट दिलिप न्यौपाने अध्यक्ष चुनिएका छन् । पार्टी विभाजनको कठिन अवस्थामा अध्यक्ष बनेर पार्टीलाई एकीकृत बनाउने र आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने उनको दायित्व छ । प्रश्तुत छ, न्यौपानेसँग गरेको संक्षिप्त कुराकानी :
.५ जना प्रतिश्पर्धीबाट सर्वसम्मत रुपमा तपाईं अध्यक्ष बन्नुभयो, अध्यक्षका प्रत्यासीहरुलाई कसरी मिलाउनुहुन्छ ?
त्यति धेरै गाह्रो कुरा छैन । निर्वाचनमा गएर मत विभाजन भएको भए बरु चुनौति हुन्थ्यो । तर वहाँहरुले सर्वसम्मत रुपमा मलाई अध्यक्ष बन्न सहयोग गर्नुभयो । आजको जेनेरेसनको उर्जालाई नेतृत्व दिनुभएको छ। उहाँहरु सबै मेरो अग्रज हुनुहुन्छ। उहाँहरुसँग मेरो प्रतिश्पर्धा, गुनासो र ईगो केहि रहँदैन । सम्मान गरेर, कसैलाई शीरमा, कसैलाई काँधमा र कसैलाई ढाडमा बोकेर हिड्छु । उहाँहरुकै अभिभावकत्वमा मैले नेतृत्व गर्ने हो ।
.पार्टी विभाजन भएको बेला महानगरको नेतृत्वमा आउनुभयो । पार्टी एकताबद्ध बनाउन तपाईंको भूमिका के हुन्छ ?
विभाजनको प्रभाव कास्कीमा खासै धेरै परेको छैन । जति भ्रमबस एमालेबाट चोईटिएर जानुभएका कमरेडहरुलाई छलफल गरेर पार्टीमा फर्काउन मेरो भुमिका रहन्छ । अहिले भएको भन्दा एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी बनाउने छौं । मलाई विश्वास छ, मैले त्यो गर्न सक्ने भएर नै नेतृत्वमा दावी गरेको थिएँ ।
.स्थानीय तह र संसदीय चुनावहरु संघारमा छ । तपाईंको चुनाव जिताउने रोडम्याप के हो ?
पार्टीका अध्यक्षले दुई तिहाईको बहुमत साथ चुनाव जिताउछौं भन्नुभएको छ । देशभरीको कम्युनिष्ट आन्दोलन हाँक्ने उर्जावान नेतृत्व हामीले पाएका छौं । प्रधानमन्त्री केपी ओली हुँदा भएका कामको प्रचार गर्छौं। कम्युनिष्ट आन्दोलन सखाप पार्न जुन जालझेल भयो । त्यो आक्रमणबाट प्रतिरक्षा गर्नका लागि एमालेलाई अझै शक्तिशाली बनाउनुपर्ने छ । यो लिएर हामी जनताका घरदैलोमा जान्छौं, संगठनलाई प्रभावकारी बनाउछौं । ठूलो युवा पंक्ति एमालेमा आकर्षित छ । तल्ला कमिटीमा यूवाको बाहुल्यता छ । यही पंक्तिलाई प्रशिक्षित गरेर स्पष्ट बहुमत दिलाउछौं ।
.अध्यक्ष आफैं पनि संस्था हो । तर अहिलेको कार्यसमितिले कत्तिको सहयोग गर्ने खालको छ ? कि लहडको भरमा आएकाहरु छन् ?
मित्र बनाउने होईन, कमाउने हो । जव हामी इमान्दारीपुर्वक पुर्वाग्रह नराखी पार्टी निर्माणमा लाग्छौं भने सबैको समर्थन हुन्छ । पार्टीमा केही समस्या आउन सक्छ, छलफल अन्तरक्रियाबाट माझेर क्रान्तिकारी स्पिरिट भर्दै यो पार्टीलाई अगाडी बढाउछौं । सानातिना समस्या कम्युनिष्ट पार्टीका लागि सामान्य हो । हामी यसबाट आत्तिदैनौं । बरु व्यवस्थापन गरेर लैजान्छौं ।
.तपाईंको जीतले एमाले र युवा पुस्तामा जाने सन्देश के हो ?
युवा पुस्ता राजनीतिक संकटबाट फ्रष्टेसन हुन्छ कि भन्ने त्रास थियो । तर युवामा झन् आकर्षण बढेको छ । सबै दलमा युवाको आकर्षण छ । यो बढी आशाबादी र उर्जावान छ । यसलाई पुँजीकृत गरेर राजनीतिमा लाग्यौं भने संकट, विकृति र विसंगती समाधान गर्न सक्छौं । युवाहरु विज्ञान प्रविधिसँग जोडिएको छ, नयाँ चिन्तनसँग घुलमिल भएको छ । हामी अग्रजलाई सम्मान गर्दै उहाँहरुको सल्लाह लिएर नेतृत्व युवाले लिन्छ । पोखरामा एमालेको निर्माणको अभियान जनताको आशाको केन्द्रविन्दु एमालेमा कायम राख्छौं र थप ईट्टा भर्छौं ।
.सतहमा तपाईं खगराज अधिकारी गुटबाट निर्वाचित हुनुभयो भन्ने चर्चा छ । त्यो चर्चा कसरी चिर्नुहुन्छ ?
बजारमा भएका चर्चाहरु धेरै चिन्ता लिनुहुन्न । परिणाममा देखियो नि । कुनै नेताले कसैलाई बोकेको भए यति सहज रुपमा नतिजा आउँदैनथ्यो । यति सिनियर नेताहरुले नत्र किन सजिलै छोड्नुहुन्थ्यो र ? नेतृत्वलाई विश्वास दिलाउने क्रममा र आफ्ना विचार राख्ने क्रममा नेताहरुसँग भेटघाट र छलफल भएको हो । सबै नेताहरुसँग सबै दावेदारले भेट्नुभएको छ र कुरा राख्नुभएको छ । यो भनेको गुट होईन । नेताहरुलाई विवादमा ल्याउने र ध्रवीकरण गर्नेतिर भन्दा उम्मेदवारबीचमै छलफल गरेर टुंग्याऔं भनेर उहाँहरुले फिर्ता लिनुभयो र मलाई आशिर्वाद दिनुभयो । नेताहरुसँग नाम जोड्ने कुरा सामान्य हो ।
गुट फेर्नुभएको त होईन नि ? पछिल्लो समय पृथ्वीसुब्बा गुरुङसँग पनि लाग्नुभयो भन्ने सुनिन्छ । गुट फेर्नुपर्ने आवश्यक्तै छैन नि । हिजो माधव नेपाल, केपी ओलीका नाममा बनेको गुट थिए । आज एमाले मात्रै छ भने गुट बनाउनु आवश्यक छैन । गुटबन्दी गर्नका लागि भएका चर्चा परिचर्चामा धेरै टिप्पणी गर्नुपर्ने छैन ।
.यसपछि तपाईंले देख्नुभएका समस्या र त्यसको समाधान कसरी गर्नुहुन्छ ?
समस्या त एउटा कम्युनिष्ट आन्दोलन भित्र ठूलो आक्रमण छ । यसलाई जोगाएर लैजाने कुरा ठूलो चुनौति हो । धेरैको मतभेद छ । अहिले कम्युनिष्ट आन्दोलनमा जुन धक्का लागेको छ, यसको क्षतिपुर्ति उठाएर जनतालाई सचेत गरेर आन्दोलन जोगाउनु नै पहिलो चुनौति हो । दोश्रो, विकास र समृद्धीको आकांक्षा पूरा गर्न अर्को दायित्व छ । आगामी निर्वाचनमा एमालेलाई जिताउनु र राष्ट्रिय आकांक्षा पूरा गर्ने चुनौति छ । ति चुनौति सामना गर्नका लागि एमाले एकताबद्ध हुनुपर्ने छ । विचारले क्रान्तिकारी र संगठनले सशक्त बनाउने नै मुख्य कार्यभार र जिम्मेवारी हो ।
.अन्त्यमा, एमालेको सबै तल्ला तहमा सर्वसम्मतको नाममा मतदान भएन । एमाले आन्तरिक चुनावसँग किन डराएको हो ?
हामी निर्वाचनसँग डराएको होईन । निर्वाचन त अन्तिम विकल्प हो नि । तर निर्वाचनबाट हुने मनोवैज्ञानिक समस्याहरु, नकारात्मक प्रभावहरु हुने भएकोले एकदुई दिन ढिलो गरेर भएपनि कार्यकर्तालाई सम्झाएर सर्वसम्मत गर्न सके राम्रो हुन्छ भनेर हो । सर्वसम्मत हुन्छ भने सजिलोको नाममा मत विभाजन गर्नु भन्दा सर्वसम्मतमै नेतृत्व चयन गर्नु उपयुक्त विकल्प हो । यो राष्ट्रभरीको अधिवेसन उद्घाटनमा अध्यक्ष ज्युले भन्नुभएको निर्देशन अनुसार यो प्रयास गरेका हौं ।
.मत विभाजनको डरले भोलि चुनावमा मन विभाजन भयो भने नोक्सान हुँदैन ?
त्यो त मत विभाजन हुँदा पनि मन विभाजन हुन्छ नि । हामीले भोलिदेखि गर्ने कर्मले विभाजन हुनबाट रोक्छौं । विभाजित भएर गएकाहरुलाई पनि ल्याएर एकीकृत पार्टी जोगाउछौं । यसलाई कसरी लैजाने भन्ने कुरा परिणामले देखाउछौं ।
.बधाई छ यहाँलाई ।
धेरै धन्यवाद ।
