सुचना, समाचार र मनोरन्जन

विप्लवले भने- जनमत संग्रह गरियोस् चुनाव लड्न चाहन्छौं

काठमाडाै‌ /

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह गरिए आफुहरु चुनाव लड्न तयार भएको बताएका छन् ।

दाङमा शनिबार पार्टीनिकट युवा सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विप्लवले जनताले चाहेजस्तो शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्।  ‘वैज्ञानिक समाजवाद कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने जनमत संग्रह’ हुनुपर्ने माग आफूहरूको रहेको उनको भनाइ छ।

‘कांग्रेस र सरकारमा बसेका अन्य पार्टीहरू लोकतन्त्रवादी हुन् भने ल ठिक छ, हामी एकपटक चुनाव लड्न चाहन्छौं,’ उनले भने, ‘संसदीय चुनाव लड्ने होइन। वैज्ञानिक समाजवाद रोज्ने कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने एकचोटी जनमत संग्रह गरियोस्, हामी चुनाव लड्न चाहन्छौं।’

जनमतसंग्रह गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा राखेको उनले बताए। ‘मैले प्रचण्डलाई पार्टी मिलाऔं तर त्यो पार्टी मिल्नका लागि मिलाउने होइन। ठूलो बनाउन होइन बरू जनमत संग्रहका निम्ति र समाजवादमा पुर्‍याउन तथा जनतालाई स्वाधिनता दिनका लागि मिलेर जाऔं भन्ने प्रस्ताव गरेको थिएँ,’ उनले भने, ‘चुनाव जित्नैका लागि भने हामीबाट एकता सम्भव छैन।’

तर प्रचण्ड जनताका पक्षमा संघर्ष गर्न तयार भए आफूहरू सहकार्य गर्ने पनि बताए। ‘कांग्रेस, एमाले वा माओवादी जो तयार भए पनि सहकार्य गर्छौं,’ उनले भने, ‘उहाँहरू सहकार्य गर्न चाहनुहुन्न। बरू हामीलाई पनि आफैँजस्तो सत्तामा पुर्‍याउन चाहनुहुन्छ, हामी उहाँहरूको सत्ता-प्रवृत्ति हेरेर वाक्क भइसकेका छौं।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आफूहरूलाई प्रतिबन्ध नै लगाएको र त्यसबेला ओली र प्रचण्डबीच झगडा हेर्दा आफूहरू वाक्क भएको पनि विप्लवको भनाइ थियो। उनले सरकारसँग गरिएका तीन बुँदा भाँड्न खोज्नु भनेको शान्ति नचाहनु भएको पनि बताए। उनले आफूहरूको लडाइँ भ्रष्टचार, अनियमिततासँग रहेको पनि बताएका थिए।ओली प्रधानमन्त्री हुँदा विप्लवले सरकारसँग तीन बुँदे सहमति गरेका थिए। सरकारका तर्फबाट उक्त सहमति अहिलेसम्म लागु हुन् सकेको छैन ।

सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले युवाहरू निराश हुनु नहुने धारणा राखेका छन् । उनले संसारभरि श्रम गर्न पुगेका नेपाली श्रमजीवी युवाहरूले ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनलाई नियालिरहेको भन्दै तमाम बिदेशी भूमिमा सस्तो श्रममा बेचिएका युवाहरूको आवाजलाई सङ्गठनले सम्बोधन गर्ने बेला आएको बताए ।

महासचिव विप्लवले दलाल पुँजीवादी सत्ताले आफूहरूलाई प्रतिबन्ध लगाएर समुल नष्ट गर्न खोजेको समेत जिकिर गरे । विप्लवले आफूहरू जहिले पनि शान्तिपूर्ण ढङ्गले राजनीतिक कार्यक्रम अघि बढाइरहेको भएतापनि दलाल सत्ताले युद्धमा जबर्जस्त होम्न खोजेको जिकिर गरे ।

कमेन्ट्स
Loading...