पोखरा /
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता हुने भएको छ। आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको प्रतियोगिता ७ फागुनमा गर्ने बताएको हो।
यसपटक आयोजकले पुरस्कार राशिमा बढोत्तरी गर्दै पोखरा म्याराथनमा सहभागी हुने धावकहरूलाई थप आकर्षण दिने प्रयास गरेको बताउँदै पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ।
१६औं संस्करणको पुरुष विजेताले चार लाख पाउनेछन् । खुल्ला ४१ दशमलब १९५ किलोमिटरको म्याराथनमा दोस्रो हुनेले दुई लाख पाउँदा तेस्रो हुनेले एक लाख पाउने जनाइएको छ । यस्तै चौथो हुनेले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
फुल म्याराथन पुरुषतर्फ मात्रै आयोजना हुनेछ भने महिलाको हाफ म्याराथन हुनेछ । यस विधाको विजेताले एक लाख पाउँदा दोस्रोले ७५ हजार पाउनेछन् भने तेस्रो हुनेले ५० पाउँदा चौथोले १५ हजार पाउनेछन् ।
आयोजकको दाबीअनुसार यो पुरस्कार राशि नेपाली म्याराथन इतिहासकै पहिलो सर्वाधिक नगद हो । प्रतियोगितामा फुल म्याराथन र हाफ म्याराथनसँगै १० किलोमिटर पुरुष तथा महिला, पाँच किलोमिटर छात्रा छात्र, ह्विलचियर तथा दृष्टिविहीन पुरस्कार राशिमा समेत केही वृद्धि गरिएको छ । आयोजकले १६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित गर्न २१ वटा उपसमिति गठन गरिएको बताएको छ।
यस्तै आयोजकले आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता गराउने योजनासँगै पुरस्कार प्रथम राशि १० लाख पुर्याउने लक्ष्यका साथ अघि बढेका बताएको छ । यस संस्करणको प्रतियोगिताको अनुमानित कुल खर्च ९३ लाख रहेको र आम्दानी एक करोड पाँच लाख हुनेसमेत आयाेजकले जनाएको छ ।
