सुचना, समाचार र मनोरन्जन

बैतडीमा वर्षाले दुई करोड बढीको अन्नबालीमा क्षति

बैतडी/

अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सो क्षति भएको हो। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सिगास, शिवनाथ, सुर्नया, दोगडाकेदार गाउँपालिका र दशरथचन्द तथा पाटन नगरपालिकाबाट सङ्कलित अन्नबाली क्षतिको तथ्याङ्कअनुसार एक हजार ३२० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको हो।

British college

जिल्लाका अन्य स्थानीय तहहरुमा भएको क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनले भने, ‘वर्षाले आवातजावत गर्न बाटोसमेत नहुँदा क्षतिको विवरण सङ्कलन गर्न ढिलाइ भएको हो।’

जिल्लाको सिगासमा सबैभन्दा बढी क्षति भएको जनाइएको छ। सिगासको ढुङ्गाड र थलाकडामा मात्रै एक हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको जिप्रकाले जनाएको छ। यसका साथै क्षतिको विवरण सङ्कलन भएका स्थानीय तहहरुमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ। यस्तै तीन वटा झोलुङ्गे पुल, दुई विद्यालय, २४ सिँचाइ आयोजना, १५ सडकमा क्षति पुगेको छ। भौतिक संरचना गरेर यहाँ एक अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ।

तथ्याङ्क सङ्कलन काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ। किसानले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो। धान उत्पादनको पकेट क्षेत्रमा नै अन्नबालीमा ठूलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन्। उक्त वर्षाका कारण पहिरोले घर पुरिँदा जिल्लाको शिवनाथका तीन र सुर्नयाका एक जनाको ज्यानसमेत गएको थियो।

कमेन्ट्स
Loading...