सुचना, समाचार र मनोरन्जन

शैक्षिक क्षेत्रसँगै रेष्टुरेण्ट व्यवसायमा सुवेदी, सात ठाउँमा खोले ‘सेभेन स्टेट फूड मार्ट’

  •  
  •  
  •  
  •  

पोखरा /

पोखरा ५ प्रस्याङका खिमराज सुवेदी १५ वर्षदेखि शैक्षिक क्षेत्रमा आबद्ध थिए । ज्ञान गंगा एकेडेमी चाउथेमा तीन वर्ष स्कुलको प्रिन्सीपलको जिम्मेबारी समालेका सुवेदी एप्पल बुक्स र स्वर्णीम बुक्सको संचालक समेत भए । लामो समय शिक्षाको क्षेत्रमा काम गरिरहेका सुवेदी अहिले रेष्टुरेण्ट व्यवसायमा लागेका छन् ।

कोरोना कहरले सुवेदीलाई पाठ सिकायो भन्दा फरक नपर्ला। लकडाउनकै समयमा नै रेष्टुरेण्ट व्यवसायमा लाग्ने मनसाय बनाए । उसो त पछिल्लो समय रेष्टुरेण्टमा लगानी गर्नेको जमात बाक्लो छ । तर पनि फरक शैलीमा आफुलाई प्रस्तुत गर्न व्यवसायीहरु पछि परेका छैनन्।

खाद्यवस्तु उही हो । तर सेवा प्रवाहमा मात्र भिन्नता पाइन्छ । यस्तैमा पोखरा जस्तो व्यस्त बजारमा ‘सेभेन स्टेट फूड मार्ट’ नामको रेष्टुरेण्ट संचालनमा आएको छ । पोखराका विभिन्न ७ ठाउँ गैह्रापाटन, जिरोकिलोमिटर, रत्नचोक, प्रस्याङ, लेकसाइड, नदिपुर, विन्ध्यवासिनी लगायतबाट ‘सेभेन स्टेट’ले सेवा प्रवाह गरिरहेको छ।

पानी पुरी र चटपट रेष्टुरेण्टको विशेषता हो । नेपालमै पहिलो पटक मेसिन माध्यमबाट पानी पुरीको स्वाद ग्राहकले लिन पाउँछन् । करिब एक करोड लगानीमा संचालनमा आएको ‘सेभेन स्टेट’ मा पानी पुरी र चटपट बाहेक फास्टफुडका सम्पूर्ण परिकार उपलब्ध छन् । फुटपाथमा पाइने पानीपुरी उही मुल्यमा ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा उपलब्ध छ । ‘हामीले हाइजेनिङ सेवा प्रवाह गर्ने उद्देश्यले रेष्टुरेण्ट संचालनमा ल्याएका हौं’,उनले भने, ‘स्वास्थ्यलाई समेत विशेष ध्यान दिएका छौं ।’

रेष्टुरेण्टले टेक वे सेवालाई समेत प्राथामिकतामा राखेको छ । ग्राहकलाई आवश्यक पर्ने फास्टफुड शिघ्र उपलब्ध गराउने ध्येयका साथ रेष्टुरेण्ट संचालन गरिएको सुवेदीले बताए । उनका अनुसार ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा ४० जनाले रोजगार पाएका छन्। बिहानको कलेजको समय सकेर दिउँसो काम गर्ने गरी कर्मचारीलाई व्यवस्था मिलाइएको सुवेदीले बताए।

‘सेभेन साइट’ रेष्टुरेण्टलाई भोलीको दिनमा अझै विस्तार गर्ने सोच सुवेदीको छ । हाल पोखरामा मात्र शाखा रहेको रेष्टुरेण्टलाई नेपालका अन्य शहरमा समेत संचालन गरिने बताइएको छ । विद्यार्थीका लागि लक्षित गर्दै रेष्टुरेण्ट संचालन गरिएको हो। सस्तो र सुलभ दरमा फास्टफुटको परिकार उपलब्ध गराउने गरेको सुवेदीले उल्लेख गरेका छन्।

सुवेदीलाई विदेश जान्छु भन्ने कहिल्यै लागेन । स्वदेशमा बसेर इलम गर्ने चाहना उनको पहिले देखिकै हो । परिवारमा दाजु अमेरिका भएता पनि आफ्नो भने स्वेदशमा नै व्यवसाय गर्ने लक्ष्य रहेको उनले बताए । अहिले सम्म सुवेदीले पासपोर्ट निकालेका छैनन्।

कुनै पनि व्यवसाय सानो ठूलो नहुने तर्क सुवेदीको छ । पानीपुरी व्यवसायीको नाममा आफुलाई परिचित गराउन पाउँदा उनी गर्व गर्छन्। भारतीय नागरिकले चनाचटपट र पानीपुरी बेचेर लाखौंको आम्दानी गरेका छन् भने नेपालीले पनि सोहि व्यवसायलाई आत्मसाथ गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने अठोटका साथ लगानी गरिएको भनाई सुवेदीको छ।

सानो व्यवसायलाई हेलाको दृष्टिकोणबाट नहेर्न उनको सम्पूर्णलाई आग्रह छ । २० देखि ३० हजारको लागि दुवै, कतार जानुभन्दा नेपालमै सामान्य लगानी गरेर आम्दानी गर्न सकिने अनुभवका आधारमा सुवेदी बताउँछन्।

कमेन्ट्स
Loading...