सुचना, समाचार र मनोरन्जन

न्यायाधीश र बारको बैठक भोलि फेरि बस्ने, न्यायाधीशहरुले धारणा राख्न बाँकी

काठमाडौँ/

सर्वोच्चका न्यायाधीशहरु र नेपाल बार एशोसियसनबीच मंगलबार पनि छलफल हुने भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत बार र न्यायाधीशबीच कसरी अघि बढ्ने भन्ने विषयमा सोमबार सामूहिक छलफल सुरु भएको छ।

सोमबारको छलफलमा बारका पदाधिकारीले मात्रै आफ्नो तर्फबाट धारणा राखेका छन्। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा अनिवार्य भएको र त्यसबाट कोही पनि पछि हट्न नहुने धारणा राखेको देश सञ्चारलाई जानकारी दिए।

श्रेष्ठले भने, ‘हामीले प्रधानन्यायाधीशको राजीनामा नै बटम लाइन हो, त्यसमा यताउता हुँदैन। राजीनामा नआएसम्म हामी आन्दोलन जारी राख्छौँ तपाईंहरु पनि जारी राख्नुहोस्, भन्यौँ।’ मंगलबार दिउँसो १२ः३० पुनः बार र न्यायाधीशहरुबीच छलफल हुने कार्यक्रम रहेको छ। सोमबारको छलफलमा ११ जना न्यायाधीश उपस्थित थिए। सर्वोच्चमा उपस्थित भए पनि न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल बारसँगको छलफलमा सहभागी भएनन्।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणबाट अझै फर्किएका छैनन्। अध्यक्ष श्रेष्ठले आन्दोलनका विषयमा न्यायाधीशहरुबीच पनि एकमत रहेको र सोमबार इजलासमा काम भएकाले पाँच जना उपस्थित नभएको जानकारी आफूले पाएको बताए।

प्रधानन्यायाधीश राणाका कारण न्यायालयको छवि बिग्रिएको, कार्यपालिकासँग भागबण्डा खोजेको, आर्थिक प्रभावमा परेर मुद्दा फैसला गरेको जस्ता आरोप लगाउँदै बार र न्यायाधीशले कात्तिक ८ गतेदेखि राजीनामा माग्दै आन्दोलन गरिरहेका छन्।

न्यायाधीशहरुसँग छलफल गरेर बारले राणाविरुद्धको आन्दोलनलाई थप शसक्त बनाउने रणनीति लिएको छ। उसले राणलाई सर्वोच्च छिर्न नदिन गेटमा धर्ना दिइरहेको छ। आन्दोलनप्रति लक्षित गर्दै राणाले संवादमार्फत समस्याको समाधान गर्न आह्वान गरेका छन्। तर बारले राजीनामा मात्रै विकल्प भएको भन्दै राणाको आह्वानलाई ठाडै अस्वीकार गरेको छ।

कमेन्ट्स
Loading...