सुचना, समाचार र मनोरन्जन

टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा कतारलाई नेपालले दियो १ सय ३० रनको लक्ष्य

काठमाडौँ/

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। दोहामा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन जोड्यो।

नेपालको पालीमा कप्तान रुविना क्षेत्रीले ५० रन बनाइन। यस्तै कविता कुँवरले ३१ र अप्सरी बेगमले अविजित २३ रन बनाए। ज्योति पाण्डे ६, काजल श्रेष्ठ ३ र सरिता मगर चार रन बनाएर आउट भए। डली भट्टले खाता खोल्न सकिनन्। रुविनाले ४८ बलमा एक छक्का र चार चौका प्रहार गरिन। कविताले ३० बलमा दुई छक्का प्रहार गरिन।

यो खेल जिते नेपालले शृंखला जित्ने पक्का गर्नेछ। यसअघि मंगलबार साँझ भएको पहिलो खेल नेपाली टोलीले एक सय १९ रनले जितेको थियो। नेपाली महिला टोलीले पहिलोपटक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलिरहेको हो।

नेपालले नोभेम्बर २२ तारिखबाट यूएईमा टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेल्दै छ।

कमेन्ट्स
Loading...