रुपनारायण ढकाल, पोखरा /
विना इन्जिन आकासमा चरा झैं उँडेर खेलिने साहसिक प्याराग्लाइडिङ खेलको सुरुवात भने पोखरामा उति सजिलो गरी भएन । पोखराका लागि झण्डै चौथाई शताब्दी पुरानो यो खेल भित्र्याउन प्रमुख भूमिका भने यहाँका पुराना व्यवसायी बिरु बम्जनले खेलेका थिए । बेलायतका एडम हिलसँग मिलेर यो खेललाई स्थापित गरेपछि सन् २००६ मा बम्जन अमेरिका हानिए । अहिले नेपाल आएको मौकामा उनले प्याराग्लाइडिङ खेललाई स्थापित गर्न आपूmले खाएको हण्डरलाई स्मरण गरेका छन् । मुख्यगरी पोखराको सराङकोट र फेवाताल क्षेत्रमा उडाइने प्याराग्लाइडिङ देशविदेशका पर्यटकका लागि मात्र होइन, सानो देखि वृद्ध उमेरका व्यक्ति र सेलिव्रिटी विच समेत उत्तिकै रोमाञ्चक खेल बन्न पुगेको छ ।
बेलाबेलामा दुर्घटनाका खबर समेत जोडिने प्याराग्लाइडिङ खेलको भविश्य पोखरामा बन्दै गरेको नयाँ विमानस्थल संचालनमा आएपछि के हुन्छ भन्ने समेत चासोको विषय बन्न पुगेको छ । कोभिड– १९ अघि चिनिया पर्यटकले निकै मन पराएको यो खेलले अहिले यहाँ पुनः निरन्तरता पाएको छ । पोखरामा प्याराग्लाइडिङको प्रतियोगिता समेत हुँदै आएको छ । नेपाल हवाई खेलकूद संस्था (ना) ले यस्तो प्रतियोगिता गर्छ । नाको स्थापनामा समेत बिरुको भूमिका ठूलो छ । अठारौं एसियन गेम्समा प्याराग्लाइडिङमा नेपालले रजत पदक समेत जितेको थियो । पोखरा आउने पर्यटकको रोजाईमा परेको प्याराग्लाइडिङ खेल संचालनका लागि ७९ कम्पनी दर्ता छन् । ६० वटा त संचालनमा नै रहेको बताइन्छ । कोभिड अघि दैनिक पाँच सय व्यक्तिले पोखरामा प्याराग्लाइडिङ गर्थे । एक हजारले प्रत्यक्ष रोजगारी पाएको बताइन्छ । झण्डै साडे तीन सय पाइलटसँग यो खेलको लाइसेन्स रहेको छ भने यो खेलमा रु एक अर्ब हाराहारीको लगानी भएको दाबी गरिन्छ ।
नयाँ शताब्दीमा पोखराले पाएको उपहार :
सन् १९९५ तिर नै बिरुले प्याराग्लाइडिङ सम्बन्धि केही शिक्षा पाएका थिए । त्यसअघि वृत्तचित्र बनाउन पोखरा आइपुगेको नर्वेली टिमको खानपानदेखि सम्पूर्ण लजिस्टिक मिलाउने जिम्मा बिरुले पाए । उनले स्थापना गरेको सनराइज ट्रेकिङ प्रालि मार्फत् नर्वेली टिमलाई बिरुले घार्मी र ढिकीडाँडा पु¥याए । यसै मौकामा उनले अर्का एक दक्ष पाइलटसँगै पहिलोपटक प्याराग्लाइडिङ (टेण्डम) गर्ने मौका पाए । प्याराग्लाइडिङ र ह्याङ ग्लाइडिङ सम्बन्धि उपकरण नर्वेलीले नै लिएर आएका थिए । यिनै ताका बिरुले प्याराग्लाइडिङ गर्दाको तस्वीर आफ्नो कम्पनी सनराइजको भित्तामा प्रदर्शन गरे । सनराइज ट्रेकिङको काठमाडौं स्थित कार्यालयमा काम गर्ने नाबियो भन्ने इटालियनले पछि उनलाई उडाउने प्यारा पनि उपहार दिए । यसलाई पनि बिरुले सोही भित्तामा सजाए । यो दृष्य जाग्दै गरेको पोखरेली पर्यटनलाई मात्र नभई पोखरामा विन्दास हुन आइपुग्ने हिप्पीमाझ समेत लोकप्रिय भयो ।
यस्तैमा एक दिन आइपुगे बेलायतका एडम हिल । अग्ला र हँसिला यी एडमलाई सनराइजको भित्ता अलि चाखलाग्दो लाग्यो । तिनताका यतै पोखराको कुनै एनजीओमा काम गर्ने एडमले आफू प्याराग्लाइडिङको प्रशिक्षक भएको बताएपछि बिरुसँग उनको दोस्ती जोडिने ढोका खुल्यो । सन् १९९७ ताकाको त्यो भेटसँगै एडमले उक्त खेललाई सँगै अगाडि बढाउने प्रस्ताव राखे । बेलायतबाट थप प्याराहरु ल्याए । त्यसपछि सन् २००० मा स्थापना भयो– सनराइज प्याराग्लाइडिङ प्रालि । त्यसयता भने प्याराग्लाइडिङ खेलले पोखरामा निरन्तर पाइरहेको छ ।
साझेदारी लामो टिकेन :
बिरु भन्छन्– एक रुपैयाँ पनि खर्च नलिई मैले एडमलाई कम्पनीको पार्टनर बनाएँ । यहाँ काम गर्ने वातावरण सिर्जना गरें । मैले नै संचालन गरेको लेकसाइड स्थित अल्का गेष्टहाउसमा निशुल्क खाने बस्ने व्यवस्था गरें । मैले बरु बैंकसँग कम्पनी संचालन गर्न ऋण लिएँ । कम्पनी स्थापना र संचालनका लागि लिएको ऋण तिर्न नसकेर घरखेत नै बेच्नुप¥यो । यो सबै अवस्थाले परिवार रमाउने कुनै भएन । एडमले बेलायतमा नै ग्राहकको बुकिङ लिंदै उतै बेलायती पाउण्ड जम्मा गर्न थाले । त्यो पैसा यता ल्याएनन् । यता खर्च भइरहने तर उता पैसा जम्मा हुने अवस्थाले बैंकको ऋण तिर्न गाह्रो भएको हो । घरजग्गा मात्र बेचिन, पछि कम्पनीको साझेदारीको आधा हिस्सा एडमले दाबी गरेपछि उल्टो ३५ लाख रुपैयाँ उनलाई बुझाएँ । आर्थिक लगानी सबै मेरो रह्यो, एडमले प्राविधिक सपोर्ट भने गरे । त्यसपछि कम्पनी सँगै अगाडि बढ्न सकेन । सन् २००६ तिरबाट छोरा राजेशलाई उनले व्यवसाय सुम्पिए ।
अनि हानिए अमेरिका :
परिवारको असन्तुष्टि र साझेदारीले दिएको झट्काले रन्थनिएका बिरु भारि मन लिएर सन् २००६ तिर अमेरिका प्रस्थान गरे । पोखरा आएको बेला विगत सम्झिएका उनी अहिले जर्जियाको एटलान्टामा बस्छन् । सानोतिनो व्यवसायमा उनको पनि लगानीको हिस्सा मिस्सिएको छ । म काम पनि गर्छु, उनले भन्दै गए– केही पछि अब पुनः नेपालमा नै फर्कने रहर छ । आठ बर्ष जति अमेरिकामा संघर्ष गरेको तर अमेरिकी आइडी नहुँदा व्यवसाय अगाडि बढाउन कठिन भएको दुःखेसो उनले सुनाए । पोखरामा व्यवसाय गरेको भएर अमेरिकामा पनि नेपाल प्रबद्र्धन हुने खालको केही व्यवसाय अगाडि बढाउने शोच उनको रहेको थियो । अब भने चाहेमा व्यवसाय अगाडि बढाउने बाटो खुलेको उनले बताए ।
अबको बाटो :
भविश्यमा नेपालमा नै केही गर्ने शोच बनाएका बिरुले प्याराग्लाइडिङ क्षेत्रमा नै छोराहरुलाई सघाउने योजना बनाएका छन् । प्याराग्लाइडिङको पहिलो लाइसेन्सधारी पाइलट राजेश बम्जन उनका जेठा छोरा हुन् । विनोद र सचिन राजेशका भाइ । बिरुकी छोरी पुनम पनि प्याराग्लाइडिङ पाइलट हुन् । नुवाकोटमा जन्मिएर व्यापार व्यवसायको सिलसिलामा काठमाडौं हुँदै २०३५ सालतिर पोखरा आइपुगेका बिरुले प्याराग्लाइडिङको विकास र विस्तारका लागि सरकारले बढी नै चासो दिनुपर्ने बताए ।
सहज नीति, यो खेललाई मर्न नदिन स्थानको खोजीदेखि सहजता गरिदिने तथा विद्यालयहरु खोल्न थप सहज बनाउनुपर्ने उनको सुझाव छ । प्याराग्लाइडिङले आर्थिक रुपले थुप्रै रोजगारी सिर्जना गरेको भन्दै उनले यो खेलबाट कर असुलेर नयाँ विमानस्थल निर्माण पछि अब तिमीहरु जहाँ गए जाऊ भन्न नमिल्ने बताए । उनले अघि थपे– “समाजसेवा र यही खेलको विकासमा काम गर्ने मेरो इच्छा हो ।” हिमालयन ट्रेडिङ सप र काठमाडौंमा गामवेंशी दोहोरीघर स्थापना गर्नेदेखि भारतको गोवासम्म ब्यापार गर्न पुगेका बिरुको मन भने अहिले पनि प्याराग्लाइडिङमै अडिएको छ । यिनै हण्डर, यिनै दुःख र यो खेलको स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल संघले बिरुलाई प्याराग्लाइडिङको पायोनियर भन्दै आफ्नो साधारण सभामा मन्त्रीको हातबाट सम्मानसमेत प्रदान गरेको थियो ।

