सिमकोट/
हुम्लास्थित हिमालपारिको गाउँ लिमीमा जनगणना कार्य सम्पन्न गरिएको छ। स्थानीय गणकले विवरण संकलन गरेकाले निर्धारित समयअगावै जनगणना कार्य सकिएको हो। नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँका गणक तन्जिन फुर्बु तामाङले तीनवटै गाउँमा विवरण लिने कार्य पूरा भएको जानकारी दिए। जिल्लाका ४४ वटा वडामध्ये लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ।
गणकहरु सदरमुकाम सिमकोटबाट चारदिन पैदल हिँडेर लिमी पुगेका थिए। उनीहरुले गत मङ्सिर २५ गतेदेखि विवरण संकलन गरेका थिए। गणक तामाङले स्थानीयको सहयोगले समय भन्दाअगावै प्रश्नावली भर्ने कार्य सम्पन्न भएको बताए। यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण संकलन भएको उनले जानकारी दिए। लिमीका अर्का स्थानीय गणक ठिन्ले तामाङले पनि आफ्नो जिम्मेवारीको जनगणनाको प्रश्नावली भर्ने कार्य सकिएको बताए।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले नेपाली भाषाभन्दा स्थानीय भाषाको माध्यमबाट जनगणनाको कामा भएकाले छिटो भएको बताए। उनले विवरण संकलन पूरा भएसँगै गणक सदरमुकाम सिमकोट फिर्ता हुने तयारीमा रहेको जानकारी दिए।\ जिल्ला जनगणना अधिकारी विनोद भट्टले बस्ती टाढा भएको कारण लिमीका लागि जनगणना कार्यलयबाट दुईजना गणक खटाइएकोे बताए। उनका अनुसार नियमले एकजनामात्र गणक खटाउनुपर्ने भए पनि दुर्गम लिमीमा दुईजना गणक खटाइएको थियो। गाउँकै कक्षा १२ उत्तीर्ण दुई युवालाई गणकको रुपमा खटाइएको हो।
वडा अध्यक्ष तामाङले स्थानीयले संकलन गरेको जनगण्मनाको विवरण सत्यतथ्य आउने विश्वास व्यक्त गरे। उनका अनुसार स्थानीय युवा गणकमा परिचालन भएपछि स्थानीय पनि खुसी भएका थिए। सबै कुरा गणकले आफ्नै भाषामा सोधेपछि उनीहरुले खुसीखुसी आफ्नो सही विवरण दिएको वडा अध्यक्ष तामाङ बताउँछन्।