सुचना, समाचार र मनोरन्जन

तीन दिने हस्तकला मेलामा ८ करोडको कारोबार

  •  
  •  
  •  
  •  

काठमाडौँ/

नेपाल हस्तकला महासंघद्वारा आयोजित तीनदिने १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सकिएको छ। काठमाडौँको ह्यात होटेलमा आयोजित मेलामा करिब रु ८ करोडको कारोबार भएको महासंघले जनाएको छ।

महासङ्घका उपाध्यक्ष एवम् मेलाका मुख्य संयोजक रवीन्द्र शाक्यले मेलामा करिब रु ८ करोड बराबरको कारोबार हुनुका साथै एक लाखभन्दा बढीले मेला अवलोकन गरेको जानकारी दिए। मेलाको समापनमा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताए। उनले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोसमेत उल्लेख गरे।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवर्द्धनमा सहयोग पुग्ने बताइन। हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि महानगरपालिकाले सहयोग गर्ने उनले बचन दिइन्। महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार र रोजगारी सिर्जनाका साथै देशको कला–संस्कृतिको संरक्षण सम्बर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सो अवसरमा १६औँ कला प्रतियोगिताका विजेताहरूलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो। नेचुरल फाइवरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम, पुनम महर्जन द्वितीय र आशामाया महर्जन तृतीय भएका थिए। त्यस्तै परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय घोषित भए। मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए। सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ कलाकार एवं कालिगढलाई सम्मानसमेत गरिएको थियो।

कमेन्ट्स
Loading...